Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजार अनुगमन नहुँदा कमसल खाद्यान्नको बिक्री

बजार अनुगमन नहुँदा कमसल खाद्यान्नको बिक्री


विराटनगर, वैशाख ३१
कोरोना भाइरस (कोभिड–१९) को महामारी खेपिरहेका बेला विराटनगर महानगरपालिकासहित मोरङका ग्रामीण बजारका व्यवसायीबाट कालोबजारी गरेको जनगुनासो बढे पनि सरकारको अनुगमन अत्यन्तै कमजोर भएको पाइएको छ । अहिले महानगरपालिका क्षेत्रभित्र नै म्याद गुज्रेका खाद्यान्न तथा अनुमतिविना बिक्री वितरणका लागि राखिएका गुट्का खैनीलगायतका सामग्री खुलेआम भारतबाट नेपाल भित्रिरहेको पाइएको हो ।

कोभिड १९ का कारण नेपाल भारत आवागमन नै बन्द भएको अवस्थामा समेत खुला सिमानाको फाइदा उठाउँदै व्यवसायीहरूले भारतबाट घरेलु राइसमिलमा उत्पादन गरिएको खाने तेलदेखि म्याद नाघेका खाद्य सामग्री र सुर्तिजन्य पदार्थ खैनी, गुट्कालगायतका सामग्री निर्बाधरूपमा नेपाल भित्र्याएर बजारमा खुलेआम बिक्री वितरण भइरहेको जनगुनासो बढ्न थालेको छ । तर, बजार अनुगमन गर्ने सरकारको निकाय महानगरपालिकाले उपमेयर इन्द्रिरा (इन्दु) कार्कीको संयोजकत्वमा बजार अगुमन गर्ने गरेको भए पनि कारबाही गर्न नसक्दा व्यापारीको मनोवल बढ्न पुगेको स्थानीय बासिन्दाको आरोप छ ।

केही दिनअगाडि उपमेयर कार्कीले अनुगमन गर्दा म्याद गुज्रेका पेय पदार्थहरू जफतगरी नष्ट गरेको भए पनि सो पर्याप्त नहुँदा व्यवसायीले कमाउने चलखेल बढाएको आरोप स्थानीयको छ । ५० दिनको लकडाउन अवधिमा महानगपालिकाले एक पटक मात्रै बजार अनुगमन गरेको छ । एक पटक अनुगमन गरेपछि अहिलेसम्म फेरि बजार अनुगमन नगर्दा कालाबजारी व्यवसायी उत्साहित भएको धारणा स्थानीयको छ । व्यवसायीहरूले मानव स्वास्थ्यलाई समेत ख्यालै नगरी म्याद नाघेका खाद्य सामग्री, पेय पदार्थदेखि भारतबाट आयात भएका कम गुणस्तरका खाने तेल र खैनी गुट्का बिक्री गर्नेलाई कडा कारबाहीको दायरामा ल्याउन आवश्यक भइसकेको छ ।

खाद्यान्न व्यवसायीले अहिले मूल्यसूचीसमेतको अनुसरण समेत नगरी जथाभावि मूल्य कायम गरेको देखिन्छ । व्यवसायीले लकडाउनका बेला खाद्यान्न खरिद तथा बिक्री गर्नका लागि प्रशासनबाट तोकिएको समयमा उपभोक्तालाई सामाजिक दूरीको पालना समेत गरेको देखिँदैन । जसले गर्दा प्रशासनबाट पाएको छोटो समयमा उपभोक्ताले खरिद गर्ने सामानमा कुन म्याद गुज्रेका र कुन म्याद भएका सामान निक्र्योल गर्न नसकेको अवस्थामा व्यवसायीले झुक्याएर सामान खरिद तथा बिक्री गर्ने गरेको गुनासो उपभोक्ताको छ ।

महानगरपालिकाको कमजोर बजार अनुगमनका कारण अहिले महनगर पालिकासहित मोरङका ग्रामीण सहरमा गहुँको आटा, चामल, तेल, दाल, पेय पदार्थ, खैनी, गुट्कादेखि अन्य खाद्य सामग्री गुणस्तरीय नभएको दाबीसमेत समाचारस्रोतले गरेको छ । जसले गर्दा लकडाउनका कारण नेपालको व्यापारमा कडाइ भएको देखिए पनि भारतीय बजार जोगबनीको कारोबार निकै गुलजार भएको कुरा स्रोतले बताएको छ । खुला सिमानाकाका कारण रातिको समयमा सीमा सुरक्षामा खटिएका प्रहरीको सेटिङमा नै खुलेयाम भारतीय खाद्य सामग्रीदेखि खैनी गुट्का निर्बाधरूपमा नेपाल आएको दाबी समाचारस्रोतले गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया