Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश : सुरक्षाविद् थापा

नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश : सुरक्षाविद् थापा


काठमाडौँ । सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताएका छन् । उनले विश्वका ठूला आणविक हतियार सम्पन्नसहित अधिकांश मुलुकका लागि नै नेपाल एक ठूलो सुरक्षा प्रदायक देशका रुपमा भूमिका निर्वाह गरिरहेको बताएको हो ।

हालै भारतको राजधानी नयाँ दिल्लीमा आयोजित सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम ‘चाणक्य डायलग’ मा मुख्यवक्ता (कि नोट स्पिकर) का रुपमा सहभागी थापाले विश्वका प्रमुख पाँच आणविक हतियारसम्पन्न मुलुकमा सुरक्षाका क्षेत्रमा विशेष योगदान दिइरहेको दाबी गरे ।

थापाले नेपाल संयुक्त राष्ट्रसङ्घमार्फत शान्ति सेनाका रुपमा विश्वका विभिन्न देशमा काम गरिरहेकामध्ये दोस्रो ठूलो मुलुक भएको उल्लेख गरे । उनले भारतले हालै चन्द्रमामा सफलतापूर्वक ‘चन्द्रयान’ अवतरण गराएको खुसी नेपालीले पनि मनाएको उल्लेख गर्दै भारत सदियौँदेखि विश्वको केन्द्र रहेको बताए । भारतले हालै जी–२० सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिँदै थापाले सो सम्मेलनमा छिमेकी मुलुक बङ्गलादेशलाई निमन्त्रणा गर्दा नेपाललाई नगरेकामा पनि प्रश्न गरेका थिए ।

उनले शक्तिको परिभाषा दिँदै कुनै पनि व्यक्ति, समाज या देश शक्तिशाली ठहरिने आधारहरु समय समयमा परिवर्तनशील भइरहने उदाहरण पनि प्रस्तुत गरे । उनले नेपाल विश्वको सबैभन्दा पुरानो मानवसभ्यता भएको मुलुक हो भन्दै अनुसन्धान गरे यसका प्रशस्त दृष्टान्त भेटिने दाबी गरे ।

प्रसिद्ध ग्रन्थ महाभारत तनहुँमा लेखिएको तथ्य पेस गर्दै रामायण लेख्ने वाल्मीकि र अठार पुराणका व्याख्याता व्यासदेखि लिएर कैयन् ऋषिका आश्रम नै नेपालमा रहनु, राजा जनक र सीताको पौराणिकता एवं नेपालको कालीगण्डकी क्षेत्रमा मात्र पाइने शालीग्रामको पुरातात्विक र धार्मिक महत्व यसका केही प्रमाणहरु हुन् भने ।

सो कार्यक्रममा भारतीय सेनामा गोर्खा रेजिमेन्टअन्तर्गत ४० हजार र अन्य सुरक्षा सेवामा ५० हजार नेपाली कार्यरत रहेको उल्लेख गर्दै थापाले प्रशासनिक सेवामा पनि ३० हजार नेपाली कार्यरत रहेको बताए । उनले नेपालमा हजाम, सिकर्मी, डकर्मी, इँटाभट्टा, तरकारी र फलफूल बिक्रीलगायत क्षेत्रमा ठूलो सङ्ख्यामा भारतीय श्रमिक काम गरिरहेको उल्लेख गरे । उनले भारतको अर्थतन्त्रमा नेपालको विशेष योगदान रहेको बताए ।

थापाले दुई देशबीचको आपसी सम्बन्ध सदियौँदेखि रही आएको भन्दै सम्बन्ध बलियो बनाउँदै जानुपर्नेमा जोड दिए । भारतीय उपराष्ट्रपति जगदीप धनखरले उद्घाटन गरेको सो कार्यक्रममा विश्वका विभिन्न देशका सैनिकका उच्च अधिकारीको सहभागिता थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया