Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसूचना प्रविधिको दुरुपयोगलाई नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्छ : भुसाल

सूचना प्रविधिको दुरुपयोगलाई नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्छ : भुसाल


ललितपुर । दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण कार्यक्रममा नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताएकी छिन् । पछिल्लो समय प्रविधिमार्फत प्रवाह गरिने भ्रामक र मिथ्या हुने सन्देशले समाज दूषित बनाइरहेको उनको भनाइ छ ।

उपाध्यक्ष भुसालले भनिन्, “जनताको सुसूचित हुने अधिकारमा आँच नआउने गरी प्रविधिको दुरुपयोग रोक्नुपर्छ, भ्रामक र मिथ्या सन्देश प्रवाह हुन दिनु हुँदैन ।” सामाजिक सञ्जालमार्फत भइरहेका अनर्गल प्रचारले समाज विकास र राजनीतिक व्यवस्था सुदृढ नहुने बताउँदै उनले भर्चुअल माध्यमबाट हुने गरेको अराजक अवस्थालाई नियन्त्रण गर्न सबै राजनीतिक दल एकमत भएको जानकारी दिइन् ।

उपाध्यक्ष भुसालले भनिन्, “पटक–पटकको सङ्घर्ष र दशौँ हजारले जीवन समर्पण गरेर ल्याएको व्यवस्थालाई समृद्ध तुल्याउने हो, अझ सुदृढ बनाउने हो, दुत्कार्ने होइन ।” उनले महत्वपूर्ण पुस्तक बजारमा आउँदा सही इतिहास जनतासमक्ष पुग्ने विश्वास व्यक्त गरिन् । उनले लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई अवमूल्यन गरिएकोप्रति असन्तुष्टि व्यक्त गरिन् ।

पछिल्लो समय जनतासँग जोडिएका पार्टी गलत र जनताभन्दा टाढा रहेका पार्टी राम्रो भन्ने भ्रम फैलिँदा अप्ठ्यारो अवस्था सिर्जना भएको गोदावरी नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनले बताए । उनले अफवाहरूलाई नियन्त्रण गर्नका लागि परिवर्तनका लागि योगदान गर्ने राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक समाजसेवी दीपेन्द्र श्रेष्ठको योगदानमा आधारित रहेको उल्लेख गर्दै कार्यक्रमका वक्ताहरूले राजनीतिक एवं सामाजिक रुपान्तरणमा उनले पु-याएको योगदानको चर्चा गरेका थिए । पुस्तकमा दीपेन्द्रले राजनीतिक परिवर्तनमा पु-याएको योगदानको चर्चा गरिनाका साथै उनले भोगेका र उनीप्रति विभिन्न राजनीतिक दल एवं सामाजिक व्यक्तिको दृष्टिकोण समेटिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया