Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनुगमनका लागि राज्य व्यवस्था समितिका सदस्यहरु भूकम्प प्रभावित क्षेत्रमा

अनुगमनका लागि राज्य व्यवस्था समितिका सदस्यहरु भूकम्प प्रभावित क्षेत्रमा


काठमाडौँ । गत शुक्रबारको भूकम्पपछि उद्धार तथा राहत वितरणको अवस्था बुझ्न, आवश्यक अनुगमन र निर्देशनका लागि बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सदस्यहरु जाजरकोट–भूकम्प प्रभावित क्षेत्रतर्फ गएका छन् ।

समितिले भूकम्प प्रभावितका लागि उद्धार र राहत वितरण गर्न मुख्य मुकाम तोकिएको सुर्खेतमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहित उपलब्ध सरकारी अधिकारीसँग हालसम्मको खोज, उद्धार, स्वास्थ्य उपचार र राहतबारे जानकारी लिएको सभापति खतिवडाले बताए ।

राहत वितरण एवं आवश्यक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी हालतमा राखिएको, सबै घाइतेको उपचार भइरहेको, हाल एकजना घाइतेमात्र आइसियुमा रहेका र अहिले अस्पतालमा ९९ जना घाइते उपचाररत रहेका सभापति खतिवडाले सुर्खेतमा ‘ब्रिफिङ’का क्रममा दिइएको जानकारी दिए ।

सभापति खतिवडाले सो भूकम्पबाट ११ हजारभन्दा बढी घरमा आंशिक र १६ हजारभन्दा बढीमा पूर्ण रुपमा क्षति पुगेको भन्दै आफूहरुले ती आंशिक क्षति पुगेका घर पनि सबैजसो ढुंगामाटोको रहेकाले काम नलाग्ने अर्थात् पूर्ण क्षतिको सूचीमा राखेर राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको पनि जानकारी दिए ।

सभापति खतिवडाले अहिलेसम्म करिब ८० प्रतिशत पीडितलाई राहत उपलब्ध गराइएको, उद्धारको काम सकिएकाले अब राहत वितरणका काममा केन्द्रित भएको, आवश्यकताअनुसार कम्तीमा २० जना अट्ने त्रिपाल ठाउँठाउँमा राखेर पीडितलाई सहयोग उपलब्ध गराइएको, चीनले पठाएका राहत सामग्रीहरु पोखराबाट जाजरकोटतर्फ आउँदै गरेका जानकारी गराइएको पनि जानकारी दिए ।

आवश्यक राहत पुर्याउने प्रयोजनका लागि सुर्खेतमा नेपाली सेनाका तीनओटा हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी गराइएको पनि सभापति खतिवडाले बताए । जाजरकोट र रुकुम पश्चिमका राहत नपाएका बाँकी सबै प्रभावित पालिकामा आजै राहत सामग्री पुग्ने जानकारी आफूहरुले पाएको उनले बताए ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, समितिका सभापति खतिवडा, सदस्यहरु एवं कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू, नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङलगायत सांसद्हरु काठमाडौँबाट सुर्खेत हुँदै बुधबार जाजरकोट पुग्दै छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया