Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनाइट्रस अक्साइड: लाफिङ ग्यास बोक्नु अब गैरकानुनी

नाइट्रस अक्साइड: लाफिङ ग्यास बोक्नु अब गैरकानुनी


काठमाडौं,ब्रिटिश सरकारले इङ्गल्यान्ड र वेल्स राज्यमा नाइट्रस अक्साइड अर्थात् लाफिङ ग्यास राख्नुलाई किन आपराधिक कार्य बनाउँदै छ।

यसको प्रयोग ब्रिटेनमा महामारीका बेला अचाक्ली बढेको थियो र यो १६ देखि २४ वर्षका युवाले असाध्यै धेरै प्रयोग गर्ने पदार्थ बनिरहेको छ।

सरकारले यो प्रतिबन्ध असामाजिक व्यवहार कार्ययोजनाको एक अङ्ग भएको घोषणा गरेको छ।

नाइट्रस अक्साइड भनेको के हो ?
नाइट्रस अक्साइड रङ्गहीन ग्यास हो। यसलाई दाँत र अन्य रोगको उपचारका बेला पेनकिलर अर्थात् पीडा कम गर्ने पदार्थका रूपमा प्रयोग गरिन्छ।

अक्सिजनसँग मिसाएपछि यसलाई ‘ग्यास एन्ड एअर’ भनिन्छ जसलाई बच्चा जन्माउने बेला प्रयोग गर्दा त्यस बेला हुने पीडा कम गर्न सहयोग गर्छ।

यो उद्योगहरूमा पनि प्रयोग हुन्छ जस्तो कि फिटिएको क्रिम बनाउनका लागि। कैयौँले यसलाई मनोरञ्जन गर्ने ध्येयले साना धातुका भाँडामा किन्छन्, बलुनमा भर्छन् र त्यसलाई सुँघेर रमाउँछन्।

नाइट्रस अक्साइडले हाम्रो शरीरमा के गर्छ?
यो ग्यासले मानिसहरूलाई आराम महसुस गराउँछ, हल्का महसुस गराउँछ या रिँगटा लगाउँछ।

यसले टाउको पनि दुखाउन सक्छ र प्रयोगकर्तालाई चिन्ताग्रस्त वा व्याकुल बनाइदिन सक्छ। यसको अति प्रयोगले मानिसहरू बेहोस पनि हुन सक्छन्।

यसको अत्यधिक प्रयोगले भिटामिन बी १२ कम बनाइदिन सक्छ जसले मेरुदण्डका नशाहरूमा क्षति पुर्‍याउन सक्छ। नशामा पुगेको क्षतिका सुरुवातका लक्षणहरू चाहिँ हात र खुट्टाहरूमा झम्म पार्नु वा केही पनि महसुस नहुनु हो।

रिपोर्टका सूचीकृत अन्य लक्षणमा “छालामा अनौठो महसुस हुनु र पछि लडखडाउनु, असंयमित किसिमको हिँडाइ, खुट्टाको तल्लो मांसपेशी कमजोर बन्ने, मांसपेशी कस्सिने वा कडा हुने, शारीरिक प्रतिक्रियाहरू अत्यधिक देखिने जस्तो कि अङ्गहरू फरफराउने, मूत्रथैलीमा समस्या र यौन शक्ति कमजोर गराउन सक्छ।

ज्यानुअरी २०२३ मा लाफिङ ग्यास गैर कानुनी घोषणा गर्ने नेदरल्यान्ड्स पहिलो देश बनेको थियो।

नाइट्रस अक्साइड कति खतरनाक हो?
सन् २०२३ को समीक्षामा द एडभाइजरी काउन्सिल अन मिसयुज अफ ड्रग्स ले यसले पुर्‍याउने खति यसको प्रयोग नियन्त्रण गर्नका लागि अपुग रहेको निष्कर्ष निकालेको थियो।

सन् २००१ देखि २०२० सम्म इङ्गल्यान्ड र वेल्समा ५६ वटा मृत्यु नाइट्रस अक्साइडलाई मृत्यु सर्टिफिकेटमा कारक भनिएको थियो। सरकारका अनुसार सन् २०१० यतामात्र त्यो सङ्ख्या ४५ थियो।

तर त्यो सङ्ख्या उपचारका बेला भएका मृत्यु पनि संलग्न भएकाले दुरुपयोगका कारण कति हो भन्नेबारे भने निश्चित छैन।

मृत्यु खास गरी यो ग्यासकै कारण नभै अन्य कुनै कारणले हुने गर्छ। जब ग्यासलाई कारजस्तो बन्द स्थानमा प्रयोग गरिन्छ वा टाउकोमा प्लास्टिकले छोपेर गरिन्छ त्यस्तो अवस्थामा अक्सिजनको कमी भएर मानिसको मृत्यु हुन सक्छ।
इम्पेरिअल कलेज लन्डनका प्रोफेसर डेभिड नटले भने, “करिब दश लाख नाइट्रस अक्साइड प्रयोगकर्तामा एक वर्षमा एक जनाको मृत्यु हुने गरो वैज्ञानिक प्रमाणले देखाएका छन्।”

उनी थप्छन्, “तुलना गर्ने हो भने ४ करोड मदीरापान गर्नेहरूमा २८ हजारको मृत्यु त्यसका कारण हुने गर्छ।”

प्रतिबन्धपछि मनोरञ्जन प्रयोगकर्ताले कस्तो सजाय पाउनेछन्?
नाइट्रस अक्साइडलाई यस अघि साइकोएक्टिभ सब्सट्यान्सेस एक्ट २०१६ अन्तर्गत नियमन गरिन्थ्यो। त्यसले यो ग्यासको उत्पादन विक्री या ओसारपसार मनोरञ्जन उपादेयताका लागि गर्ने नियत भए त्यसलाई गैर कानुनी मानिएको थियो।

तर व्यक्तिगत रूपमा लाफिङ ग्यास राख्नेलाई नियमन गर्ने कुनै नियम थिएन।

आठ नोभेम्बरपछि नाइट्रस अक्साइड सन् १९७१ को लागु औषध दुरुपयोग सम्बन्धी कानुन अन्तर्गत ‘ग’ वर्गको औषधीमा सूचीकृत हुन्छ।

पार्टीहरूमा प्रयोगका लागि पनि यो औषधीको प्रसोधन र विक्री आपराधिक कार्य ठहरिनेछ।

यसलाई अब एनाबोलिक स्टेरोइड र केही लट्ठ्याउने औषधीहरूकै वर्गमा राखिएको छ।
नाइट्रस अक्साइड सहित पक्राउ परेकाहरूले चेतावनी सहित सामाजिक कामको सजाय वा असीमित जरिवानाको सजाय पनि पाउन सक्छन्।

तर पटक पटक यस्तो कसुर भएको पाइए दुई वर्षसम्मको जेल सजाय हुनसक्छ।

गैर कानुनी कामका लागि यसको उत्पादन र आपूर्ति सम्बन्धी कसुरमा अधिकतम सजाय १४ वर्षसम्मको जेल सजाय हुनसक्छ।

यसलाई आपराधिकरण गर्दा यसका प्रयोगकर्ता यसको असरका लागि उपचार गराउन नजाने जोखिम हुने कतिपय स्वास्थ्यविद्हरूले चेतावनी दिएका छन्।

प्रतिबन्धको अर्थ नाइट्रस अक्साइड अब पाइँदैन भन्ने हो?
नाइट्रस अक्साइड औद्योगिक प्रयोगका लागि अझै पनि उपलब्ध हुनेछ।

व्यक्तिगत प्रयोगकर्ताहरूले त्यसलाई कानुनी रूपमा भण्डारण गरेको भन्ने देखाउनुपर्नेछ। त्यसलाई रमाइलो गर्ने उद्देश्यका लागि प्रयोग गर्ने नियत नभएको भन्नुपर्नेछ।

सरकारले लापरबाही पूर्वक यसको उत्पादन गर्ने र आपूर्ति गर्नेहरूले यसको बिक्रीबाट कुनै कानुन उल्लङ्घन हुने वा नहुनेबारे राम्रोसँग जाँच गरेका नहुने सरकारको भनाई छ।

उसले “बिक्रीपछि यसको प्रयोगबारे आँखा चिम्लिँदा कानुन उल्लङ्घन हुने” बताएको छ।
यसअघि पनि रमाइलो गर्नेहरूका लागि लापरबाही पूर्वक नाइट्रस अक्साइडको बिक्री गर्ने पसलेलाई छ महिनासम्म जेल सजाय हुने कानुन थियो।

यस्तो अभियोगमा सन् २०१७ मा १५२ जना, २०१८ मा १०७ जना र २०१९ मा ५२ जना दोषी ठहर भएका थिए।

नयाँ कानुनबारे सरकारले आह्वान गरेको सुझावमा १०५ वटा प्रतिक्रिया प्राप्त भएका थिए। अधिकांश सुझावले यसको बिक्रीका लागि इजाजत दिनुपर्ने नियमको विरोध गरेका थिए।

स्कटल्यान्ड र नर्दन आयरल्यान्डमा कानुनी अवस्था के छ?
औषधी सम्बन्धि नीती ब्रिटेनमा “आरक्षित विषय” भएकाले यसमा लाग्ने प्रतिबन्ध स्कटल्यान्ड र नर्दन आयरल्यान्डमा पनि लागु हुनेछ।

वेस्टमिन्सटरमा गत सेप्टेम्बरमा भएको मतदानमा स्कटिस न्यासनल पार्टीका सांसदले प्रतिबन्धको विरुद्धमा मतदान गरेका थिए।

उनीहरूले यो औषधीको प्रयोगलाई आपराधिक मामला भन्दा पनि “सार्वजनिक स्वास्थ्यको मुद्दा” भएको दाबी गरेका थिए।

गृह मन्त्रालयले यो प्रतिबन्धलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरा स्कटिस प्रहरीको निर्णयमा भर पर्ने जनाएको छ।

(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया