Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारबीमा कम्पनीहरूको ब्यापार करिब १० प्रतिशत बढ्यो

बीमा कम्पनीहरूको ब्यापार करिब १० प्रतिशत बढ्यो


काठमाडौं । बीमा कम्पनीहरूको व्यवसाय बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बीमा कम्पनीहरूले आफ्नो व्यापार करिब १० प्रतिशतले बढाएका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा समूहको व्यवसाय केही खस्किएको भएपनि जीवन बीमा समूहको बढेको छ ।

प्राधिकरणका अनुसार बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको तीन महिनामा ५१ अर्ब २५ करोड ९४ लाख रूपैयाँ बराबर बीमाशुल्क संकलन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ९५ प्रतिशितले बढी हो । गत आर्थिक वर्षको असोज मसान्तमा बीमा कम्पनीहरूले संकलन गरेको बिमाशुल्क ४६ अर्ब ६१ करोड ९३ लाख रूपैयाँ थियो ।

बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको बीमाशुल्क गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा तीन दशमलव ५८ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले १० अर्ब ४५ करोड ४७ लाख रूपैयाँ संकलन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन कम्पनीहरूले १० अर्ब ८४ करोड २४ लाख रूपैयाँ संकलन गरेका थिए ।

जीवन बीमा कम्पनीहरूले संककलन गरेको बीमाशुल्क भने १४ दशमलव शून्य पाँच प्रतिशतले बढेको छ । गत असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरूले कुल ४० अर्ब ८० करोड ४६ लाख रूपैयाँ संकलन गरेका थिए । गत आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले ३५ अर्ब ७७ करोड ६८ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

जीवन बीमा कम्पनीहरूको नयाँ बीमाशुल्क आर्जन छ अर्ब ७२ करोड २६ लाख रूपैयाँ छ । यो शुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव २५ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीले संकलन गरेको प्रथम जीवन बीमाशुल्क सात अर्ब नौ करोड ५५ लाख रूपैयाँ थियो । बीमालेख नवीकरणबाट प्राप्त जीवनबीमा शुल्क भने १८ दशमलव ८३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षकोे पहिलो त्रैमासमा २८ अर्ब ६८ करोड १३ लाख रूपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन भएकामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ अर्ब आठ करोड २० लाख रूपैयाँ संकलन गरेका छन् ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वैदेशिक रोजगार बीमालेख संख्या २८ दशमलव ४८ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार गत असोज मसान्तमा वैदेशिक रोजगार बीमालेख संख्या १५ लाख नौ सय ८३ छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ११ लाख ६८ हजार दुई सय ७३ थियो । यस्तै, म्यादि र लघु म्यादि जीवन बीमाले संख्या आठ दशमलव १४ प्रतिशतले घटेको छ । म्यादि, लघु म्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेकको जीवन बीमालेख संख्या भने चार दशमलव ५३ प्रतिशतले बढेको छ । समग्रमा कुल जीवन बीमालेख संख्या र कुल निर्जीवन बीमालेख संख्या घटेको छ ।

बीमाको दायरामा आएको जनसंख्या घट्यो
बीमाको दायरामा आएको जनसंख्या भने घटेको छ । प्राधिकरणका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुल ४३ दशमलव ६२ प्रतिशत जनसंख्या बीमाको दायरामा रहेकोमा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर ४३ दशमलव ४२ प्रतिशतमा झरेको छ ।

मर्जर तथा प्राप्तिका कारण बीमाि कम्पनीहरूको कार्यालय संख्यामा आएको कमीले बीमाको दायरामा आएका जनसंख्यामा पनि कमी आएको देखिएको छ । प्राधिकरणका अनुसार समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको कार्यालय २१ दशमलव ४१ प्रतिशतले घटेको छ । गत वर्षको असोज मासान्तमा जीवन बीमा कम्पनीहरूको कार्यालय संख्या दुई हजार दुई सय ९८ रहेकोमा यस वर्षको असोज मसान्तमा एक हजार आठ सय छ मा झरेको छ । निर्जीवन बीमा कम्पनीहरूको कार्यालय संख्या पनि चार दशमलव शून्य पाँच प्रतिशतले घटेको छ । गत वर्ष असोजमा एक हजार ६२ कार्यालय संख्या रहेकोमा यसवर्ष असोजमा एक हजार १९ मा झरको छ ।

बीमा कम्पनीहरूको कर्मचारी संख्या पनि दुई दशमलव नौ प्रतिशतले घटेको छ । गतवर्ष असोज मसान्तमा ११ हजार आठ सय ५२ कर्मचारी रहेकामा यसवर्ष असोजमा ११ हजार पाँच सय आठ कर्मचारी कार्यरत छन् ।


क्याटेगोरी : बीमा बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया