Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसीएसआरको रकम खर्च गर्न बैंकहरूको कन्जुस्याइँ

सीएसआरको रकम खर्च गर्न बैंकहरूको कन्जुस्याइँ


काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम खर्च गर्न कन्जुस्याइँ गर्दै आएको पाइएको छ । बैंकहरूले हरेक वर्षको नाफाबाट कम्तीमा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने व्यवस्था छ । यस्तो रकम खर्च गर्न सामाजिक उत्तरदायित्व कोष खडा गर्नुपर्छ । सो कोषमा जम्मा भएको रकम शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृति प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक क्षेत्रमा पिछडिएका वर्गका जनताको आयआर्जन क्षमतामा वृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रमलगायतमा खर्च गर्न पाइन्छ । तर, बैंकलरुले कर्णाली प्रदेशको जाजरकोटमा कात्तिक १७ गतेका दिन गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूको उद्धार तथा उपचारका लागि कोषमा रहेको रकम खर्च गर्न कन्जुस्याइँ गरेका छन् ।

बैेंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वाणिज्य बैंकहरूले मात्रै पहिलो त्रैमासमा १३ अर्ब ४७ करोड ७२ लाख रूपैयाँ खुद मुनाफा कमाएका छन् । यो मुनाफालाई मात्र आधार मान्दा पनि चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक प्रतिशत अर्थात् १३ करोड ४७ लाख रूपैयाँ खर्च गर्नुपर्ने हुन्छ । तर, जाजरकोट जिल्लामा गएको शक्तिशाली भूकम्पबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाको लागि बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम खर्च गर्न कन्जुस्याइँ गरेको देखिएको छ ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा पहिलो नम्बरको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भूकम्प पीडितको राहत र उद्धारको लागि ५० लाख रूपैयाँ दिएको छ । उक्त बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ५२ करोड २२ लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । बढी नाफा कमाउने बैंकको सूचीमा दोस्रो स्थानमा परेको नबिल बैंकले भूकम्प प्रभावितको लागि एक करोड रूपैयाँ सहयोग गरेको छ । यो बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ४६ करोड रूपैयाँ खुद मुनाफा कमाएको थियो ।

पहिलो त्रैमासमा एक अर्ब २२ करोड रूपैयाँ खुद मुनाफा कमाएको ग्लोबल आईएमई बैंकले पनि आईएमई ग्रुपअन्तर्गत आफ्नो सामाजिक उत्तदायित्वको लागि गठित संस्था आईएमई फाउन्डेशनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ५० लाख रूपैयाँ उपलब्ध गराएको छ । पहिलो त्रैमासमा एक अर्ब १० करोड रूपैयाँ खुद मुनाफा कमाएको एनआईसी एसिया बैंकले पनि भूकम्पपीडितहरूको उद्धार तथा राहतका लागि दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रूपैयाँ उपलब्ध गराएको छ ।

पहिलो त्रैमासमा एक अर्ब १५ करोड रूपैयाँ नाफा कमाएको प्राइम कमर्सियल बैंकले पनि भूकम्पपीडितहरूको सहयोगको लागि २५ लाख ५१ हजार रूपैयाँ उपलब्ध गराएको छ । यसैगरी, सानिमा बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पनि भूकम्पपीडितको लागि क्रमशः २५/२५ लाख रूपैयाँ उपलब्ध गराएका छन् । असोजसम्म ८५ करोड ९८ लाख चार हजार रूपैयाँ खुद मुनाफा कमाएको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि भूकम्पपीडितको लागि एक करोड रूपैयाँ सहयोग उपलब्ध गराएको छ ।

पहिलो त्रैमासमा ७८ करोड सात लाख रूपैयाँ खुद मुनाफा कमाएको एभरेष्ट बैंकले भूकम्पपीडितको लागि २५ लाख रूपैयाँ सहयोग उपलब्ध गराएको छ । बैंक तथा वित्तीय संस्थाहरूको छाता संगठन (बैंक तथा वित्तीय संस्था परिसंघ) बीबीफिनले भने भूकम्पपीडितहरूको सहयोगको लागि १० लाख रूपैयाँ उपलब्ध गराएको छ । महालक्ष्मी विकास बैंकले पनि भूकम्पपीडितको लागि १० लाख रूपैयाँ सहयोग गरेको छ । आईएमई लाइफ इन्स्योरेन्सले भने आईएमई ग्रुपको आईएमई फाउन्डेसनअन्तर्गत नै रहने गरी १० लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । यसैगरी ज्योति विकास बैंकले पनि भूकम्पपीडितहरूको राहतको लागि पाँच लाख रूपैयाँ उपलब्ध गराएको छ ।

सहयोग गर्नेभन्दा फोटो खिचाउने बढी
कात्तिक १७ गते जाजरकोटमा पाँच दशमलव आठ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा सो क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कात्तिक १७ गतेको भूकम्प र त्यसपछिका पराकम्पनबाट अहिलेसम्म १८ हजार सात सय ९२ वटा घरहरू पूर्णरूपमा क्षति भएको छ भने १७ हजार पाँच सय २९ वटा घरहरूमा आंशिक क्षति भएको छ । भूकम्पमा परी एक सय ५३ जनाको मृत्य भएको छ भने मृत्यु हुनेहरूको संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ । भूकम्पमा परी सबैभन्दा धेरै बालबालिकाको मृत्यु भएको छ । हालसम्म ८३ जना बालबालिकाको मृत्यु भएको छ ।

भूकम्पका कारण उत्पन्न भएको असहज परिस्थितिका बाबजुत अझै पनि सो क्षेत्रमा हजारौँ जनता राहतको पर्खाइमा बसेका छन् । गाँस, बास र कपासकोको लागि पर्याप्त व्यवस्था नहुँदा सो क्षेत्रका जनताको दैनिक जीवन निकै कष्टकर बन्दै गएको छ । यो अवस्थामा देश/विदेशबाट भूकम्पपीडितहरूको नाममा सहयोग आउने क्रम बढ्दै गएको छ । तर, त्यो राहत अझैसम्म पनि सम्बन्धित भूकम्पपीडितको घर–आँगनसम्म पुग्न सकेको छैन ।

अहिले वास्तविक भूकम्पपीडिलाई सहयोग गर्नेभन्दा पनि सहयोगसँगै प्रधानमन्त्रीसँग सहयोगको बहानामा ‘पशुपतिको जात्रा सिध्राको व्यापार’ भनेझैँ गरी फोटो खिचाउने र फेसबुकलगायतका सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा समाचार बनाउने प्रवृत्ति मौलाउँदै गएको देखिन्छ । कुनै पनि सहयोग निस्वार्थरूपमा हुनुपर्छ । सहयोगमा चर्चा परिचर्चा खोजिनु भनेको पीडितलाई थप पीडा दिनु हो ।

सहयोग दिँदा रेकर्ड अथवा सम्झनाको लागि एक÷दुई व्यक्ति गएर सहयोग दिएको फोटो खिचाउनुलाई सामान्य मान्न सकिन्छ र मान्नु पनि पर्छ । तर, सहयोगको दिने बहानामा जुलुस गएजस्तै गरी हुलहुज्जत गरी प्रधानमन्त्रीसँग फोटो खिचाउनु र त्यसलाई विभिन्न माध्यमद्वारा सार्वजनिक गर्नु भनेको भने मानवीय पीडा दिएर संकटमा पनि चर्चा बटुल्न खोज्नु हो । जुन सभ्य समाज र नागरिकको लागि शोभनीय छैन र हुँदैन पनि ।

मंगलबार सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भूकम्पपीडितको सहयोगको लागि भनेर आफैँसँग रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा एक करोड रूपैयाँ उपलब्ध गरायो । रकम जम्मा गरेपछि ठूलो होडिङ बोर्ड जत्रो चेक लगेर बैंकका एक दर्जन कर्माचारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’सँग फोटो खिचाए । त्यो फोटो सामाजिक सञ्जालसँगैे विभिन्न सञ्चार माध्यहरूमा सार्वजनिक पनि गरे ।

सोमबार एनआईसी एशिया बैंकले पनि भूकम्पपीडितको लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रूपैयाँ उपलब्ध गराएको थियो । उक्त अवसरमा पनि प्रधानमन्त्री दाहालसँग एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृतसहित आधा दर्जन कर्मचारीले रकम हस्तान्तरण भन्दै फोटो खिचाए । त्यो फोटो विभिन्न माध्यमद्वारा सार्वजनिक गरियो । मंगलबार आईएमई ग्रुपले पनि आफ्नो ग्रुपअन्तर्गतका सबै कम्पनीहरू ग्लोबल आईएमई बैंक, आईएमई लाइफ इन्स्योरेन्सलगायतका तर्फबाट ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा एक करोड ५० लाख रूपैयाँबराबरको चेक उपलब्ध गराए । सोही क्रममा करिब एक दर्जन कर्मचारीले प्रधानमन्त्री दाहालसँग फोटो खिचाए ।

राहत उपलब्ध गराउने नाममा प्रधानमन्त्रीसँग फोटो खिचाउने र प्रचारप्रसार गर्नेहरूमा यिनीहरू प्रतिनिधि उदाहरण मात्रै हो । अन्य धेरै संस्था छन् जसले राहत घोषणा गर्ने, हस्तान्तरण गर्ने र प्रधानमन्त्रीसँग फोटो खिचाएर प्रचारप्रसार गरिरहेका छन् । उनीहरूले राहत दिएको भनेर चर्चा खोजिरहेका छन् । यस्ता अझै धेरै उदाहरणहरू छन् । तर, अब यस्तो नहोस्, सहयोगको नाममा चर्चा खोज्ने काम बन्द गरियोस् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया