Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचिनियाँ प्रतिनिधिमण्डलको प्रधानमन्त्रीसँग शिष्टाचार भेट

चिनियाँ प्रतिनिधिमण्डलको प्रधानमन्त्रीसँग शिष्टाचार भेट


काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री दाहालको सचिवालयले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आपसीहित र चासोका विविध विषयमा विचारविमर्श भएको जनाएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले हिमालयपार सम्पर्क सञ्जाल दुई देशका लागि महत्वपूर्ण भएको बताउँदै त्यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले चिनियाँ सरकारको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान प्रान्तबाट सिधा उडानको अपेक्षा गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले बताए ।

प्रधानमन्त्री दाहालले नेपाल र तिब्बतको सीमामा रहेका नाका सहजरुपमा सञ्चालन गर्न चीन सरकारले पहल लिएकामा धन्यवाद दिँदै मित्रराष्ट्र चीनबाट आगामी दिनमा थप सहजीकरणसहित सहयोग प्राप्त हुने अपेक्षा गरे ।

प्रधानमन्त्री दाहालले ल्हासा–काठमाडौँ सिधा उडानको तयारीप्रति चीन सरकारलाई धन्यवाद व्यक्त गर्दै नेपालमा गएको भूकम्पका समयमा चीन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । प्रधानमन्त्री दाहालले भूकम्पको पूर्व सूचना संयन्त्र विकासमा पनि नेपालले अपेक्षा गरेको उल्लेख गरे ।

भेटवार्तामा प्रधानमन्त्री दाहालले चीनको पूर्वप्रधानमन्त्रीको निधनप्रति दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चिनफिङको नेतृत्वमा चीनले गरेको आर्थिक प्रगतिको सराहना गर्दै ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ उनको दूरगामी प्रयास भएको बताए ।

चिनियाँ पक्षले ल्हासा विमानस्थलको एउटा टर्मिनलको काम सक्न बाँकी रहेको र त्यो सकिनेवित्तिकै ल्हासा–काठमाडौँ प्रत्यक्ष उडान हुने प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए ।

सो अवसरमा सचिव जुनझेङले हालै जाजरकोट भूकम्पमा परी मृत्यु भएकाप्रति चीन सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै अरु थप सहयोग गर्ने विषयमा चीन तयार रहेको बताए । यसअघि चीनसँग भएका सम्झौता कार्यान्वयन गरिने विषयमा पनि छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया