दिपावलीको समाप्ती लगत्तै मधेशमा छठ पर्वको तयारी
महोत्तरी । मधेशमा सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् ।
मिथिलामा व्रतका लागि उसिनिएको धानको चामल र व्रत अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य वस्तु खान छाडेर सात्विक भोजन गरिने यो विधिलाई ‘अरबा–अर्बाइन’ भनिन्छ । सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यबस्तु खान छाडेर वर्तालुले छठको तयारी गर्ने चलन छ ।
बिहीबारदेखि ‘अरबा–अर्बाइन’ गरेका वर्तालुले भोलि शुक्रबार अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अर्घ्य दिइन्छ । यो अर्घ्यलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया–घाट’ पनि भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ । यसरी आउने सोमबार बिहान यसपालिको छठ सम्पन्न गरिने छ ।
सामान्यतया हिन्दू परम्परामा पाञ्चायन (पञ्च देवता गणेश, विष्णु शिव, सूर्य र काली) पुज्दा उदाउँदा सूर्यको सम्झना गरेर उपासना गरिने परम्परा भए पनि छठमा भने अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिइन्छ ।
उपासकको इच्छित मागपूर्ति गर्ने भगवान् सूर्यको उपासनाले सन्तान सुख र रोगव्याधि नलाग्ने हिन्दू मैथिल जनविश्वास छ । यस पर्वमा भगवान सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी तिथिको महत्ता गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् । षष्ठी देवी भगवान सूर्यकी पत्नी मानिएकी हुँदा यो पर्वमा सूर्यसँगै षष्ठीको आराधना गरिएको मुक्तिको भनाइ छ ।
यस पर्वबारे अघि द्वापरयुगमा भगवान श्रीकृष्णका छोरा साम्बलाई कुष्ठरोग हुँदा पिता श्रीकृष्णको प्रेरणाले सूर्यको उपासनाबाट रोग निको भएपछि यो व्रतको परम्परा सुुरु भएको विश्वास गरिँदै आइएको महोत्तरीकै बर्दिबास–२ का बासिन्दा कर्मकाण्ड र मैथिल परम्पराका ज्ञाता पण्डित महेशकुमार झाले बताए ।
एक फरक प्रसङ्गमा दैत्यराज त्रिपुरासुरले दुःख दिएर आहत् भएका देवताले शिव–पार्वतीसँग उसलाई मार्नसक्ने छोरा दिन प्रार्थना गरेपछि भगवान शिवको विर्यपात भएको र सो विर्य समुद्रमा परेर पानीमै विकास भएको शिशुलाई षष्ठी देवीले कात्तिक शुक्ल षष्ठी तिथिकै दिन स्याहार सम्भार गरेर शिव–पार्वतीलाई जिम्मा लगाएकी जनश्रुतिले सन्तानको कल्याण गर्ने देवीका रुपमासमेत यस पर्वमा छठी माईको महत्व गाइने गरिएको छ ।
पछि यिनै बालक स्वामी कार्तिकेयका नामले चिनिएका र उनैले त्रिपुरासुरको बध गरेका मार्कण्डेय पुराणमा उल्लेख रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाता पूर्वप्रशासक जलेश्वर–४ का बासिन्दा कृष्णचन्द्र झा बताउँछन् ।
केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र भाकलका रुपमा अर्घ्य दिन हिन्दूलाई लगाएर इस्लाम धर्मावलम्बीहरुलेसमेत मनाउन थालेपछि छठ पर्व मिथिलाको साझा पर्व बनेको छ । अब मुलुकको राजधानीसहित धेरैजसो ठाउँमा मनाइने यो पर्व अब राष्ट्रिय पर्व बनेको मैथिल गर्वसाथ बताउँछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया