काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको संख्या बढ्दै गएपछि योगदान रकम पनि बढेको छ । कोषका अनुसार कात्तिक मसान्तसम्म कोषको खातामा योगदान रकमबापत ४४ अर्ब ५० करोड ७९ लाख रुपैयाँ संकलन भएको छ । सो अवधिसम्म नौ लाख चार हजार चार सय ४९ जना योगदानकर्ताहरू सूचीकृत भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।
२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलन सुरु गरेको थियो । करिब साढे चार वर्ष अवधिमा कोषमा योगदान गर्ने योगदानकर्ताको संख्या उल्लेख्य बढ्दै गएकोे छ । योगदानकर्ता बढ्दै गएपछि योगदान रकम पनि बढ्दै गएको प्रवक्ता पन्थीले जानकारी दिए । कोषमा पछिल्लो एक महिनामा साढे एक अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । कोषका अनुसार कात्तिक महिनामा कोषमा एक अर्ब ६४ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । गत आसोज मसान्तसम्म कोषमा ४२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ संकलन भएको थियो ।
स्वदेशमा काम गर्ने श्रमिकसँगै वैदेशिक रोजगारीमा रहेकाले पनि कोषमा रकम संकलन गर्न पाउने व्यवस्था भएपछि योगदानकर्ताको संख्या र योगदान रकममा वृद्धि भएको कोषले जनाएको छ । यसैबीच गत आर्थिक वर्षसम्ममा योगदान रकमस्वरूप कोषमा ३५ अर्ब ९५ करोड रुपैयाँ संकलन भएको थियो । पछिल्लो चार महिनामा मात्र आठ अर्ब रुपैयाँभन्दा बढी योगदान रकम संकलन भएको छ ।
सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्ध गरेपछि सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि भएको हो । कोषले २०७९ चैत दोस्रो सातादेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको थियो । यसैबीच वैदेशिक रोजगारीमा रहेका करिब साढे दुई लाखभन्दा बढी श्रमिक कोषमा आबद्ध भएका छन् । औपचारिक र अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको देखिन्छ ।
कोषले गत भदौदेखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्ने व्यवस्था गरेको थियो । जसले गर्दा योगदानकर्ता, योगदान रकम बढ्ने विश्वास गरिएको छ । यसअघि औपचारिक क्षेत्रका श्रमिक र वैदेशिक रोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षामा जोड्दै आएकोमा दायरा फराकिलो बनाउँदै अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति पनि कोषमा आबद्ध हुनसक्ने व्यवस्था गरिएको हो । अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति कोषमा आबद्ध हुने आउने क्रम चलिरहेको बताइएको छ ।
चालू आर्थिक वर्षको चार महिनामा कोषमा सूचीकृत रोजगारदाताको संख्या १८ हजार चार सय २५ जना छ । योगदानकर्ताको तुलनामा रोजगारदाताहरूको कोषमा आकर्षण हुन नसके पनि संख्या भने सूक्ष्मरूपमा बढिरहेको छ । कोषले प्रदान गर्ने सुविधाहरूलाई बुझेर सूचीकृत हुने रोजगारदाताको संख्या भने क्रमशः वृद्धि हुँदै गएको प्रवक्ता पन्थीले बताए ।
कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्नसक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको हुँदा सोहीअनुरूप काम गर्दै समेत आएको छ । सोही क्रममा कोषले समीक्षा अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ७५ करोड १५ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत आठ करोड ७४ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १० करोड छ लाख रुपैयाँ र अवकाश रकम पाँच अर्ब ४३ करोड ६९ लाख रुपैयाँ दाबी गरेका छन् ।
समीक्षा अवधिमा छ अर्ब ३८ करोड १८ लाख रुपैयाँँ कुल दाबी भुक्तानी परेको कोषले जनाएको छ । योजनाअनुरूप दाबी गरिएको रकम कोषले भुक्तानी गर्दै जाने गरेको छ । कोषले भुक्तानीको लागि मापदण्ड पूरा भए÷नभएको अध्यययनपछि रकम निकासा गर्ने गर्छ । दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढंगले भुक्तानी गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।
समीक्षा अवधिमा नौ लाख चार हजार चार सय ४९ जना योगदानकर्ताहरू कोषमा आबद्ध भएका छन् । आर्थिक वर्ष २०७५/७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६/७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७/७८ मा ३६ हजार २० जना र आर्थिक वर्ष २०७८/७९ मा एक लाख २७ हजार एक हजार १६ जना योगदानकर्ता सूचीकृत भएका थिए ।
कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्नेजस्ता कार्यहरू गर्दै आएको छ । कोषले गर्ने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने समेत बताएको छ । बैकिङ प्रणलीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि तीन सय ९८ वटा स्थानीय तहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएको पाइन्छ । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा सूचना प्रणाली सफ्टवयेर तयार गरी कार्यान्वयनमा ल्याइएको छ । प्रविधिमैत्री हुने क्रममा वैशाखदेखि कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रदान गरिएको छ ।
कोषले ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिनसक्ने सुविधा पनि प्रदान गरेको छ । सो निर्देशिकाअनुरूप योगदानकर्तालाई योगदानकर्ता घर र शैक्षिक सापटी’को व्यवस्था गरिएको थियो । ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ । शैक्षिक सापटीअन्तर्गत भने कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । सविधा दिने क्रममा कोषले योगदान रकममा आठ प्रतिशत ब्याज दिन समेत थालेको छ । कोषमा संकलन भएको रकमलाई सुरक्षित लगानी गरी प्रतिफल निकाल्नेमा विश्वस्त रहेको भन्दै ब्याजदर तोकिएको कोषका अधिकारीहरूले बताएका छन् । कोषबाट चालू आर्थिक वर्षको लागि योगदान रकममा आठ प्रतिशत ब्याज दर स्वीकृत गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया