Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआर्थिक गतिविधि जारी राख्दै लकडाउन जेठ २० गतेसम्म

आर्थिक गतिविधि जारी राख्दै लकडाउन जेठ २० गतेसम्म


काठमाडौं, जेठ ५
सरकारले आर्थिक गतिविधि जारी राख्दै लकडाउनको अवधि फेरि थप गरेको छ । आज सोमबारदेखि लकडाउनको पूर्वघोषित समय सकिनु अघिल्लो दिन आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यही जेठ २० गते मंगलबार राति १२ बजेसम्मका लागि लकडाउनको अवधि थप गरेको हो । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले १५ दिनका लागि बन्दाबन्दी जारी राख्ने निर्णय भएको आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मन्त्री खतिवडाले सरकारले कोरोना रोकथामका लागि बन्दाबन्दी जारी राखे पनि सँगसँगै आर्थिक गतिविधि अघि बढाउनुपर्ने बाध्यता रहेको बताए । आर्थिक गतिविधि जारी नराख्दा भोलिका दिनमा आर्थिक संकट आउने भएकाले सरकारले आर्थिक गतिविधि जारी राख्ने जनाएको हो ।
आइतबारको मन्त्रिपरिषद् बैठकमा बन्दाबन्दीको ‘मोडालिटी’ परिवर्तनको सम्बन्धमा पनि छलफल भएको मन्त्री खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार सरकारले यसअघि गरेको निर्णयका आधारमा कृषि, उद्योग, निर्माणलगायतलाई निरन्तरता दिइने पनि बताए । ‘साना ठूला आयोजनाको निर्माण भइरहेकामा त्यसलाई निरन्तरता दिइनेछ’, पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने । अहिले देशका अधिकांश भागमा विकास निर्माणका काम धमाधम भइरहेको छ । काठमाडौंमा लकडाउनको सुरुदेखि नै सडकको निर्माण तथा रंगरोगनको काम रोकिएको छैन । काठमाडौंमा सडकको काम धमाधम भएपछि देशका अन्य भागमा पनि सुरु भएका हुन् ।

बैठकमा अहिले क्वारेन्टाइनमा बसिरहेकालाई कसरी उत्पादनसँग जोड्ने भन्ने विषयमा छलफल भएको मन्त्री खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरूको सुरक्षा अपनाएर कसरी आफ्नै गाउँमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । बैठकमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि जडीबुटीजन्य र औषधिजन्य वस्तुको उपयोग बढाउनुपर्ने विषयमा पनि छलफल भएको जानकारी दिए । सीमावर्ती क्षेत्रमा बसिरहेका नागरिकका विषयमा पनि छलफल भएको थियो । क्वारेन्टाइनको क्षमता विस्तार गर्ने र एउटा प्रयोजनका लागि पास लिएका सवारीसाधन अर्काे प्रयोजनका लागि प्रयोग हुन नदिने विषयमा पनि छलफल भएको छ । यसको बारेमा थप निर्णय कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गर्नेछ ।

यसअघि दिउँसो बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दी (लकडाउन)को समय थप गर्न सरकारलाई सिफारिस गरेको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उक्त समितिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले वर्तमान अवस्थामा बन्दाबन्दी नै प्रभावकारी माध्यम भएकाले यसलाई बढाउनुपर्ने निष्कर्षसहित सरकारलाई सिफारिस गरेको थियो ।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पतालबाट आरडीटी विधिबाट गरिने स्वास्थ्य परीक्षणका लागि निर्देशिका जारी गरेको छ । यो निर्देशिका जारी भएपछि निजी तथा सामुदायिक अस्पतालले कोभिडको आरडीटी विधिबाट परीक्षणका लागि अनुमति लिन सक्नेछन् । सो अनुमति लिनका लागि सम्बन्धित अस्पताल नियमअनुसार दर्ता भएको हुनुपर्नेछ । अस्पतालले आरडीटी परीक्षणका लागि उपत्यकाभित्र स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालले सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्नेछ ।

आरडीटी परीक्षण गर्न चाहने अस्पतालले जनस्वास्थ्य प्रयोगशालाले तोकिएको सूचीमा उल्लेख गरिएका आरडीटीको मात्रै परीक्षण गर्नसक्नेछन् । आरडीटीको परीक्षण प्रतिवेदन दैनिक रूपमा राष्ट्रिय प्रयोगशालामा अनिवार्य पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । आरडीटी परीक्षणका लागि शुल्क अस्पतालले खरिद गरेको मूल्यको बढीमा २० प्रतिशत मात्रै शुल्क लिन पाउनेछन् । कोभिड–१९ को परीक्षणलाई सहज बनाउन निर्देशिका जारी गरिएको हो ।

२८ जिल्लामा सङ्क्रमण फैलियो : नेपालमा कोभिड–१९ का सङ्क्रमित पछिल्ला दिनमा ह्वात्तै बढेको छ । नेपालमा हालसम्म कोभिडबाट सङ्क्रमित २ सय ९१ जना छन् । तीमध्ये २ सय ३६ महिला र ५५ पुरुष रहेको मन्त्रालयले जनाएको छ । हाल देशका २८ जिल्लामा कोभिडको सङ्क्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । उनका अनुसार प्रदेश नं १ मा ३६, प्रदेश नं २ मा १ सय २१, वाग्मती प्रदेशमा १७ (एकको मृत्युसहित), गण्डकी प्रदेशमा तीन, प्रदेश नं ५ मा १ सय ९ र सुदूरपश्चिम प्रदेशका पाँच जना रहेका छन् ।

कोभिडका सङ्क्रमितमध्ये हालसम्म ३६ जना उपचारपछि घर फर्केको पनि मन्त्रालयले उल्लेख गरेको छ । नेपालमा वि.सं. २०७६ माघ ९ गते पहिलोपटक एक पुरुषमा कोभिडको सङ्क्रमण देखिएको थियो । त्यसपछि चैत १० गते विदेशबाट आएकी एक महिलामा कोभिडको सङ्क्रमण देखिएको थियो ।

यस्तै, मुलुकमा हालसम्म २८ हजार १ सय ६० जना कोभिडका सङ्क्रमितको रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पीसीआर विधिबाट २८ हजार १ सय ६० र आरडीटी विधिबाट ६७ हजार ७ सय ६९ जनामा परीक्षण गरिएको छ । बितेको २४ घण्टामा एक हजार ४ सय ६९ पीसीआर विधिबाट र आरडीटी विधिबाट दुई हजार २० परीक्षण भएको राससले जनाएको छ ।

हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १८ हजार ३ सय ५७ रहेको छ । अहिलेसम्म आइसोलेसनमा ३ सय ४६ रहेका छन् । यीमध्ये उपत्यकाभित्र ३५ र उपत्यकाबाहिर ३ सय ११ छन् । प्राप्त तथ्याङ्कअनुसार रेडजोनमा पर्नेको सङ्ख्या ३ सय ८२ रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । त्यसैगरी स्वमूल्याङ्कन फारम भर्नेको सङ्ख्या ३९ हजार ५ सय ९८ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६ सय ४१ जनाले आफ्नो स्वास्थ्यबारे विवरण भरेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया