Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनलाइन कक्षाका नाममा निजी विद्यालयद्वारा मनपरी शुल्क असुली

अनलाइन कक्षाका नाममा निजी विद्यालयद्वारा मनपरी शुल्क असुली


विराटनगर, जेठ ६
सरकारको निर्देशनविपरीत विराटनगरमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले अनलाइन कक्षा सञ्चालनको नाममा अभिभावकबाट मनपरी शुल्क उठाइरहेको पाइएको छ । देश गत चैत ११ गतेदेखि कोभिड–१९ को महामारीबाट लकडाउनमा गएपछि सरकारले वैशाख २२ गते परिपत्र नै जारी गरी आनलाइन कक्षा सञ्चालनको नाममा विद्यार्थीको अभिभावकसँग रकम नलिन सबै विद्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

साथै लकडाउनको अवधिमा भर्ना शुल्कलगायत कुनै पनि किसिमको रकम अभिभावकसँग माग नगर्न समेत सबै विद्यालयहरूलाई परिपत्र गरिसकेको छ । तर, विराटनगरमा खुलेका मन्टेश्वरी कक्षादेखि केही विद्यालयहरूले खुलेआम अनलाइन कक्षा सञ्चालनका नाममा अभिभावकहरूसँग मनपरी पैसा असुली गर्न थालेको अभिभावकहरूको गुनासो छ । सरकारले दिएको उक्त निर्देशन विराटनगरका ठूला निजी विद्यालयबाटै उल्लंघन भएको छ ।

विराटनगरको लिलिपुट(मन्टेश्वरी) स्कुलले विद्यार्थीको अभिभावकसँग अनलाइन कक्षा सञ्चालनको लागी १२ हजार पाँच सय रूपैयाँ अग्रिम माग गरेको छ । लिलिपुटसँगै युरोकिड्स एवं किड्स भिलेज विद्यालयले पनि विद्यार्थीका अभिभावकहरूसँग पैसा माग गर्न थालेपछि अहिले अनलाइन कक्षाका नाममा विद्यालयहरूले शुल्क उठाइरहेको रहस्य खुलेको हो ।

पछिल्लो समय अरु विद्यालयहरूले पनि विध्द्यार्थी भर्नाको लागि अभिभावकलाई पटक–पटक ताकेता गरिरहेको अभिभावकहरूबाट गुनासो आउन थालेको छ । विद्यायहरूले ह्वाट्सएपमार्फत विभिन्न शीर्षकमा विद्यार्थीको अभिभावकसँग पैशा माग गरिरहेका छन् । लिलिपुट स्कुलका सञ्चालक चिरञ्जीवी तिम्सिना रहेका छन् । सरोकारवाला पक्षसँग छलफल समेत नगरी कक्षा सञ्चालन गर्न लागेपछि विद्यार्थीको अभिभावक समेत विद्यालयसँग अहिले रुष्ट बनेका छन् ।

सरकारले विद्यालयहरूलाई गरेको परिपत्रमा तत्काल विद्यार्थी भर्ना नलिन तथा कुनै पनि नाममा अभिभावकसँग शुल्क नलिन निर्देशन दिइएको छ । नियमन गर्ने अधिकार पाएको विराटनगर महानगरपालिका भने उक्त विषयमा बेखबर र मौन बसेको छ । विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख दुर्गा खतिवडाले हालसम्म त्यस्तो कुनै पनि खालको गुनासो नआएको बताए । अहिले विराटनगरमा नै सञ्चालन भएका युरोकिडसका सञ्चालक राजलक्ष्मी गोल्छा र किटस भिलेजका सञ्चालक पकज जैनले पनि बच्चाको भर्ना गर्नलाई अभिभावकमा दबाब दिइरहेको पाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया