Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमन्त्रीको गलत सूचनाले उपचाररत कोरोना बिरामीको मृत्यु भएको हल्ला फैलियो

मन्त्रीको गलत सूचनाले उपचाररत कोरोना बिरामीको मृत्यु भएको हल्ला फैलियो


पोसकान्त पोखरेल
बुटवल, जेठ ८
प्रदेशमन्त्रीको गलत सूचनाका कारण कोरोना भाइरस संक्रमणबाट क्रिमसन अस्पताल रूपन्देहीमा उपचाररत एक पुरुषको मृत्यु भएको झूटो खबर फैलिएको छ । प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बुधबार सञ्चारमाध्यमलाई कोराना बिरामीको मृत्यु भएको गलत सूचना दिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले मृत्यु नभएको बताएसँगै मृत्युको हल्ला निराधार भएको हो ।

बुधबार बिहानैदेखि विभिन्न सञ्चार माध्यमहरू र सामाजिक सञ्जालमा मदाने गाउँपालिका–६ पुर्कोटदह, गुल्मीका ४१ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणको कारणले मृत्यु भएको हल्ला फैलिएको थियो । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ५ गते सोमबार नियमित पत्रकार सम्मेलनमा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । ज्वरो आउने रुघाखोकी लाग्ने भएपछि संक्रमित पुरुष जेठ १ गते निमोनियाको आशंकामा तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही स्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममै रूपन्देहीको भैरहवामा अवस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण भएको थियो । उक्त परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको थियो । उनको मृत्युको विषयलाई लिएर बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक धारणा नआउँदासम्म आमनागरिकहरूलाई द्विविधामा पारेको थियो ।

प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री बरालले सञ्चारमाध्यमलाई कोरोना बिरामीको मृत्यु भएको खबर दिएपछि अस्पताल प्रशासनले एक विज्ञप्ति नै जारी गरी बिरामीको अवस्था गम्भीर भए पनि मृत्यु नभएको जनाएको थियो । अस्पालको उच्च व्यावस्थापकीय पक्षबाट नै सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग बिरामीको मृत्युको कुरा पुगेको बताइएको छ । मन्त्री बरालले पनि वास्तविकता नबुझी सूचना दिएपछि अस्पताल, सञ्चारमाध्यम र जनप्रतिनिधिहरूको छविमा समेत आँच आउने काम भएको छ । यस विषयमा अस्पतालका सञ्चालक दुर्गाप्रसाद पाण्डेसँग प्रतिक्रिया लिन खोज्दा पाण्डेको फोन व्यस्त रहयो भने प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले फोन उठाएनन् ।

कोरोना सक्रमित बिरामीको मृत्युको हल्लाप्रति तिलोत्तमा नगरपालिकाले एक विज्ञप्ति निकालेको छ । विज्ञप्तिमार्फत नगरप्रमुख बासुदेव घिमिरेले बिरामीको स्वास्थ्य अवस्थाको बारेमा नगरकार्यपालिकाका सदस्य एवं क्रिमसन अस्पतालका सञ्चालक दुर्गाप्रसाद पाण्डेले दिएको जानकारीअनुसार सञ्चार माध्यमहरूको मागमा सूचना दिएको बताएका छन् । आफूले सूचना दिनुअघि नै अन्य सञ्चार माध्यमहरूले समाचार प्रकाशित गरेको जानकारी गराउँदै घिमिरेले जिम्मेवार ब्यक्तिबाट कसरी गलत सूचना प्रवाह भयो भन्ने कुरामा खोजबिन गर्ने विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी नेपाली कांग्रेस रूपन्देहीले एक विज्ञप्ति निकालेर गलत सूचना दिने प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले माफी माग्नु पर्ने जनाएकोे छ ।

सचिव रामकृष्ण खाणद्वारा हस्ताक्षरित विज्ञप्तिमा अस्पतालको आईसीयू कक्ष भेण्टिलेटर उपचाररत गुल्मी कोभिड १९ संक्रमित बिरामीको मृत्यु भएको गलत, अतिरञ्जित र भ्रामक नेपाली कांग्रेस जिल्ला कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । सम्बन्धित निकायबाट बिरामी मृत्यु भएको आधिकारिक पुष्टि नभएको अवस्थामा बिरामीलाई मृत्यु घोषणा गर्न हतार गर्ने मानवीय मूल्यहीन र संवेदनाहीन मन्त्री बराल र मेयर घिमिरेले बिरामीको परिवारसँग सार्वजनिकरूपमा माफी माग्न र आगामी दिनमा मानवीय मूल्य र मान्यताप्रति संवेदनशील र जवाफदेही बन्न कांग्रेसले सुझाव दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया