Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना भाइरसको अवस्था : सुस्त सतर्कता, तीव्र विस्तार

कोरोना भाइरसको अवस्था : सुस्त सतर्कता, तीव्र विस्तार


केदार सुवेदी
कोरोनाको संक्रमणलाई रोक्न गरिएको बन्दाबन्दीमा यातायात र मानिसको पैदलयात्रा रोकिएन । यो काम सत्तापक्षको सहयोगमा चलिरह्यो । एउटा अध्ययन विवरणअनुसार यो समयमा ६१ हजार सवारीसाधनमार्फत र पैदल नै काठमाडौं भित्रिने र बाहिरिनेहरु साढे दुई लाखभन्दा बढी रहे । त्यही अध्ययन भन्छ : यता यही अवधिमा कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने पीसीआर र आरडीटी जाँच ७० हजारको हाराहारीभन्दा माथि गएन । आरडीटी परीक्षणलाई खासै मानिँदैन । हेर्नुपर्ने हो पीसीआर । यो लकडाउनको ४५ दिन कट्दा पीसीआरको परीक्षण सख्या १५ हजारभन्दा तलै छ । मान्छेको मोबिलिटी साढे दुई लाख पुगेको छ तर यता परीक्षण भने १५ हजारमा सीमित छ भने परीक्षणमा प्रश्न त उठ्ने भयो नै र हामी कुन अवस्थामा छौं भन्ने बोध पनि गराउँछ ।

पाँचौँ पटक म्याद थपिएको लकडाउनको प्रारम्भ भएको दिन २६ वैशाखसम्मको विवरण हेरियो भने अवस्था झनै गम्भीर देखिन्छ । यो दिन देशका १६ जिल्लामा १ सय १ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यीमध्ये २२ जना उपचारपछि फर्किए पनि तीन जनामा पुनः संक्रमण देखियो । यसको अघिल्लो दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले २४ वैशाखसम्म १४ हजार ५ सय ९ जनाको पीसीआर जाँच र ५४ हजार ९३ जनाको -यापिड टेस्ट (आरडीटी) भएको जानकारी दिएका थिए ।

क्वारेन्टाइनमा बसेकाहरु संक्रमण सम्भाव्यताका नजिक रहेका मानिन्छन् । यो मितिमा देशभरका विभिन्न क्वारेन्टाइनमा बसेका त्यस्तो संख्या करिब २२ हजारको हाराहारीमा रहेका बताइएको छ । घरमै अलग्गै क्वारेन्टाइनमा बसेकाहरुको संख्या पनि १८ हजार रहेको छ । घरमा क्वारेन्टाइन बसेका तर राज्यका जानकारीमा आएका पनि एक प्रकारले संक्रमणका सम्भावित नै हुन् । माथिका यी विवरणहरुले नेपाल संक्रमणमा कहाँ छ, परीक्षण कस्तो र पछि के होला भन्ने भय उत्पादन गर्छ । यही विवरणले भन्छन् : लकडाउनका ४५ दिन पूरा भएको अवस्थामा बन्दाबन्दी गर्नुबाहेक सरकारले अरु केही गरेको देखिएन भन्दा पनि हुने भयो ।

संक्रमणको विस्तारको अवस्था कस्तो छ भने यसले क्षेत्र धेरै नै ओगटिसकेको छ । कोभिड–१९ संक्रमित पुष्टि हुनेमा, सरकारी रेकर्डअनुसार (२२ वैशाख सम्म) काठमाडौंमा ३, ललितपुर २, उदयपुर २८, पर्सा २४, चितवन २, बाग्लुङ २, कञ्चनपुर १, कैलाली ४, भोजपुर १, रौतहट ३, झापा २, सर्लाही १, बारा २, बाँके २३, रुपन्देही १, कपिलवस्तुमा २ जना छन् । यस्तै उपचारपछि काठमाडौंमा ३, बाग्लुङ २, कैलाली ३, कञ्चनपुर १, ललितपुर २, चितवन १, पर्सा ३ र रौतहटमा १ जना घर फर्किएका छन् । सख्या तलमाथि होला तर विस्तार देखाउँछ नै ।

जानकारहरुका अनुसार कुनै पनि परीक्षणमा बिरामीको नाम हुँदैन । नम्बरबाट यसको पहिचान हुन्छ । माथि उल्लेख भएको यो संख्यामा तीन सयवटा त ती व्यक्तिको भएको अवस्था हुनुपर्छ जो चीनको प्रभावित प्रान्तबाट ल्याइएका १ सय ७५ रहेको हुनुपर्ने विज्ञहरुले अनुमान गरेका छन् । तिनको दुई पटक परीक्षण गरिएको थियो । नम्बरको हिसाबले रेकर्ड हुँदाको हिसाब हो यो । त्यसो हो भने यति बेलासम्मको पीसीआर परीक्षणको संख्यामा यो संख्या घट्छ ।

माघ १० मा पहिलो संक्रमण देखिएको थियो नेपालमा । चैत ७ मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा यो कुरा उल्लेख भएको थियो । त्यसअघि र त्यसपछि सरकारी तहबाट यसलाई धेरै पटक नै दोहो-याइयो । चैत १० गते मध्याह्नसम्म जुन बेला अर्को संक्रमित भेटिएका थिएनन् । संक्रमणबाट ती व्यक्ति जोगिए । निश्चय नै नेपालका लागि यो धेरै नै खुसीको कुरा हो । खासगरी यो भाइरसले तीव्र गतिमा विस्तारित हुनथालेको सन्दर्भमा नेपाल मन्द गतिमा परेका कारण भनी त्यसैबेला बताइरहिएको थियो ।

तर यहीँनेर अर्को एउटा पक्ष प्रकट हुन्छ – नेपालले यसको घनीभूत रुपमा परीक्षण सुरु गरेको आजको मितिसम्म महिना बितिसकेको छ, माघ महिनालाई नै परीक्षण सुरु गरेको मान्ने हो भने पनि । तर शंका भने पुसबाटै भएको थियो । त्यसपछि यति दिनमा परीक्षणको संख्या अधिकतम यो अवस्थामा रहनु वास्तवमा नै प्रश्न उठ्छ संक्रमणको परीक्षणको काम कुन तहमा चलिरहेछ ?

कोरोना भाइरसको संक्रमणले पु¥याएको तीव्र क्षतिको संसारभरकै उदाहरणका लागि पहिले प्रस्तुत हुँदै आएको देश हो इटाली । पछि अमेरिका र अरु पनि भए तर नमूना इटालीकै मानौं । यो देशमा यसो हुनुको प्रमुख कारण भनी अध्ययनहरुले त्यति बेला देखाएअनुसार संक्रमणको डेढ महिनाजति पहिचान नै भएन । अध्ययन भन्छ : सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्र लोम्बार्दीमा जनवरीको सुरुमै कोरोना भाइरसको संक्रमण भएको थियो तर फेब्रुअरी २० मा आएर मात्रै संक्रमितको पहिलो पटक पहिचान भयो । जनवरी र फेब्रुअरीको सुरुका तीन गरी करिब सात हप्ता कोरोना भाइरसको पहिचान हुन नसकेका कारण धेरैमा संक्रमण फैलिएको पछिल्लो अध्ययनमा उल्लेख छ । यो अध्ययनमा परीक्षणबाट संक्रमण पुष्टि भएका झण्डै ६ हजार घटना उल्लेख थिए । इटालीको तुरिनमा रहेको इन्स्टिच्युड अफ इन्टरचेन्ज (आईएसआई) फाउन्डेसनका सरुवा रोगविरुद्धको रणनीतिकर्ता मिकेले तिज्जोनीका अनुसार ‘जनवरीमै फैलिएको संक्रमण पहिचान नहुनु अति जोखिमपूर्ण हो । त्यो बेलामा सायद हामीले वुहानका बारेमा मात्रै कुरा गरिरहेका थियौँ ।’

विश्व स्वास्थ्य संगठनले कोरोनासँग लड्ने र यसलाई जित्ने एउटै मात्र अस्त्र भनी ‘परीक्षण, परीक्षण र परीक्षण’को सूत्र प्रतिपादन गरेको थियो । यसको प्रयोग दक्षिण कोरियामा सफल भएको मानियो । त्यो देशले परीक्षण गर्न चाहने हरेक व्यक्तिलाई त्यस्तो अवसर दियो । स्वाभाविक छ त्यो परीक्षणले संक्रमणको अवस्थाको चित्र देखायो । स्वाभाविक छ त्यो चित्र प्रकट भएपछि के गर्ने भन्ने आफैँ मार्ग निर्देश हुन्छ । यो देशमा संक्रमण पहिले इटलीभन्दा भयावह हुने अनुमान गरिएकोमा सम्भवतः त्यही परीक्षणले वास्तवमा नै त्यत्रो ठूलो क्षति हुनबाट जोगियो र यतिबेला यो पक्षमा कोरिया अरूका लागि उदाहरण भएको छ । कोरियाले गरेका एउटै कुरा हो अधिकाधिक परीक्षण । मान्छेको आवागमनलाई कतै पनि बाधा नपारी गाडीमा हिँडिरहेका मान्छेलाई रोकेर उसले संक्रमण भए नभएको स्याम्पल लियो । तीन÷चार घण्टामै त्यसको परीक्षण हुने प्रविधि विकास ग-यो । संक्रमित मान्छे आफैँ तत्कालै नियन्त्रणमा आए र त्यहीअनुसार उपचार पनि ग-यो ।

यो पद्धतिले विशेषज्ञहरुलाई पनि प्रभावित पा-यो र उनीहरु भन्नथाले– यो भाइरसको परीक्षणलाई भाइरस रोक्ने सबैभन्दा महत्वपूर्ण उपाय हो । अमेरिकाको टेम्पल यूनिभर्सिटीका क्रायस जोन्सनल विश्वभर जहाँ यो भाइरसको परीक्षणमा बढी जोड दिइएको थियो, त्यहाँ नयाँ संक्रमणमा पनि कमी देखिएको जानकारी दिएका छन् । क्रायसका अनुसार दक्षिण कोरियाले प्रतिदिन अमेरिकाले एक महिनामा गर्नेभन्दा धेरै कोरोना संक्रमणको परीक्षण गर्छ । जसको कारण कोरियामा भाइरसको नयाँ संक्रमण रोकिएको छ । त्यसको ठीक विपरीत अमेरिकामा बढ्दो क्रममा छ ।

परीक्षणलाई प्राथमिकता नदिँदाको अर्को उदाहरण छ अमेरिका । सुरुमा यो भाइरस आफैँ मेटिन्छ भन्दै राष्ट्रपतिले नै बताउँदै आए । फलस्वरुप यो देश यतिबेला संक्रमण विस्तारको तेस्रोमा परेको छ । यसको तथ्यांक सुरुमै उल्लेख भएका छन् । करिब ३ करोड जनसंख्या भएको देश हो नेपाल । केन्द्रीय प्रयोगशालाकै निर्देशकका अनुसार पनि यी दिनमा दिनमा पाँच÷सात जनाको नमूना परीक्षण भइरह्यो । तीन महिनामा छ सयको संख्या भनेको वास्तवमा नै यस्तो बेला न्यूनतम नै मान्नुपर्छ । एक दिनको संख्या यति थियो भने केही अवस्था जनाउँथ्यो । त्यसकारण कतिपयले शंका पनि गरेका होलान् ।

सहरभन्दा गाउँ प्रभावित भएको अवस्था प्रकट हुँदै छ नेपालमा । पछिल्लो समय सरकारले निकै नै बोल्ड निर्णय गरेको मान्यो आफैँलाई । त्यो होला पनि । यसभित्र राष्ट्रिय तालाबन्दीदेखिका कुराहरु पर्छन् होला तर यसअघि केही त्यस्ता काम भए जसले संक्रमणलाई सहरी क्षेत्रबाट गाउँसम्म पुग्ने खतराको बनाइएको माने धेरैले । विदेशी आगमनको र बसोबासको केन्द्र रहेको राजधानी वा उपत्यकाबाट मानिसहरु मनमा शंका लिएर नै गाउँ फर्किए । प्रहरीले नै बताएअनुसार त्यो बेला तीन चार दिनको बीचमा १०÷१२ लाख मान्छे उपत्यकाबाट बाहिरिए । यिनैसँग सम्बन्धित शंकाको घेरामा परेका सम्भावित संक्रमित पनि रहेछन् जो वायुसेवा हुन् कि स्थलमार्गका यातायातमा तिनीहरु अत्यन्त भीडभाडमा रहे । लामो दूरी कति भने १५ घण्टाको यात्रा समेत तय भयो ।

यही यात्रामा रहेछन् पछिल्लो समय संक्रमित पुष्टि भएकी एक विद्यार्थीसँगै आएका १ सय ५२ जना अरु पनि । सरकारले खोज्दाखोज्दा १ सय २५ जना फेला परे । तिनको आवस्था के छ भन्ने हेर्न बाँकी छ । तर यिनीहरु सबैतिर फैलिएका रहेछन् । उनीहरु चैत ४ को अन्तर्राष्ट्रिय उडानबाट नेपाल आएका थिए । त्यतिबेला नै धेरैतिरबाट यस्ता उडानबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न माग भइरहेको थियो । तिनीहरु राजधानीमा खुला रहे मात्र होइन गाउँ नै जान पाए । अर्को, आशंकामा परेका त हप्तासम्म राजधानीका होटलमा नै बसेर गाउँ गएका रहेछन् । हवाइजहाज वा बस चढेर । यस्ताहरु सँगै सय/आधा सयको लामो समयसम्म यात्रा जारी रह्यो झन् झन् पछिल्ला दिनहरुमा । परिणाम कस्तो आउँदै छ भने सहरभन्दा गाउँघरतिरबाट संक्रमणको शंका लागेकाहरुको संख्या बढिरहेको छ । अस्पताल भर्ना हुने तथा आइसोलेसनमा राखिने वा क्वारेन्टाइनमा जानुपर्नेहरु पनि बढ्नथालेका छन् त्यस भेगमा । यो भनेको अवस्था सामान्य छैन है भन्ने नै हुनुपर्छ । तर परीक्षणको सुस्तताले अबका दिनको भयावहलाई प्रकट गर्छ । प्रधानमन्त्रीले नै भनिसकेपछिको अवस्था त उल्लेख गरिरहनु पनि नपर्ला ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया