Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेटमा निजी क्षेत्रलाई विशेष राहत प्याकेज उपलब्ध गराउन माग

बजेटमा निजी क्षेत्रलाई विशेष राहत प्याकेज उपलब्ध गराउन माग


वीराटनगर, जेठ ११
नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं. १ ले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा निजी क्षेत्रलाई विशेष राहत प्याकेज उपलब्ध गराउन माग गर्दै प्रदेश १ का मुख्यमन्त्रीलाई सुझावपत्र प्रस्तुत गरेको छ । महासंघले प्रदेशभरिका जिल्ला तथा नगर उद्योण वाणिज्य संघहरु, वस्तुगत संघ, व्यावसायिक संस्था एवम् व्यवसायीहरुको छाता संस्थाका रुपमा आगामी बजेटमा प्रस्तुत हुनुपर्ने आफ्नो अवधारणा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बुझाएको हो ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले कृषि तथा पशुपालनको व्यवसायीकरण, कृषिमा आधारित उद्योगमार्फत व्यापक रोजगारीको सिर्जना, निर्यात प्रवर्द्धन र आयातमा प्रतिस्थापन, पर्यटन तथा जलस्रोतको विकासलगायतका मुख्य क्षेत्रहरुमा प्रदेश सरकारमार्फत संघीय सरकारको आगामी बजेटमा यसको उचित व्यवस्थापन हुने विश्वास लिएको बताए । यसका लागि सार्वजनिक, निजी तथा सहकारी साझेदारी तथा लगानी प्राविधिकरणसम्बन्धी आवश्यक नीतिगत व्यवस्था भई प्राधिकरण कार्यान्वयनमा समेत आइसकेको सन्दर्भमा उक्त क्षेत्रहरुमा प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको समेत प्रभावकारी सहभागिता र साझेदारीलाई उद्योग वाणिज्य महासंघले इंगित गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष राउतले अहिले पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण यो प्रदेश पनि आर्थिक सामाजिकलगायत सबै क्षेत्रमा प्रभावित बनेको बताए । विशेष गरी कृषि, उद्योग धन्दा, खाद्य सुरक्षा, रोजगारी, यातायात, विकास निर्माण, निर्यात व्यापार, राजस्वलगायतका क्षेत्रहरुमा अत्यधिक प्रभाव परेको उनको भनाइ छ ।

उत्पादित कृषि उपजहरुको बजार साँघुरिएको या नपाउने अवस्था भई किसानको रोजीरोटीमा नै समस्या आएको उनले बताए । ‘उद्योग कलकारखानाहरु सञ्चालन हुन नसक्दा उत्पादन र रोजगारीका क्षेत्रहरु कमजोर भएका छन्, उद्योगी व्यवसायीहरु चरम आर्थिक एवम् वित्तीय संकटबाट गुज्रिरहेका छन्’, उनले भने, ‘दैनिक ज्यालादारी मजदुरी गर्नेहरुदेखि न्यून आय भएका जनतालाई न्यूनतम जीविकोपार्जन गर्न कठिन बन्दै गएको छ ।’

कृषि ण्तथा गैरकृषि क्षेत्र, उद्योग कलकारखाना सहज रुपमा सञ्चालन हुन नसक्दा देशभित्रै बेरोजगारीको समस्या झन् बढ्दै जाने र वैदेशिक रोजगारीमा रहेका लाखौं जनशक्ति पनि विश्वव्यापी आर्थिक मन्दी र जोखिमका कारण रोजगारी गुमाएर स्वदेश फर्किने अवस्थामा रहेकाले आगामी दिनमा बेरोजगारी समस्या झनै विकराल बन्ने सम्भावना रहेको महासंघले जनाएको छ ।

सरकार र निजी क्षेत्रको सहकार्य र साझेदारीबाट नै विपद्जन्य संकटबाट पार लगाउँदै आर्थिक क्रियाकलापहरुलाई निरन्तरता दिई आर्थिक पुनरुत्थान एवम् पुनस्र्थापनाका कार्यहरु गर्न सकिने महासंघले जनाएको छ । कृषिलाई व्यवसायीकरण गर्दै उच्च उत्पादनमार्फत खाद्य सुरक्षा, आम्दानी, आयात प्रतिस्थापन, कृषि उद्योगहरुको क्षमता विकास गरी स्वदेशमै प्रशोधन, मूल्य अभिवृद्धि, निर्यात प्रवर्द्धन र व्यापक रुपमा रोजगारीका अवसरहरु सिर्जना गर्नेतर्फ ध्यान दिनु अहिलेको आवश्यकता र प्राथमिकता रहेको महासंघको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया