Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगर भन्सारको आईसीपीमा ट्रान्स नेपालको कब्जा

विराटनगर भन्सारको आईसीपीमा ट्रान्स नेपालको कब्जा


विराटनगर, जेठ १३
भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण सम्पन्न भएको करिब एक सय ६० करोड लगानीको (एकीकृत भन्सार जाँच चौकी) आईसीपीमा ट्रान्स नेपालले कब्जा गरी धमाधम आफना निकटका केही एजेन्टलाई मात्र कार्यालय सञ्चालनका नाममा डिस्पेन्सरी समेत भाडा लगाएको पाइएको छ । गत आर्थिक वर्षको मंसिरदेखि मात्र सञ्चालनमा आएको विराटनगर भन्सारको आईसीपीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको इन्टरमोडलले अहिलेसम्म कसैलाई पनि विधिवत भाडा दिएको छैन ।

तर, पुरानो भन्सारको गोदामदेखि भन्सार याडसमेत भाडा पाएको ट्रान्स नेपाल नामको कम्पनीबाट भर्खरै सञ्चालनमा आएको आईसीपीबाट अनधिकृतरूपमा भाडा असुली गरेकोमा भन्सार एजेन्टदेखि भन्सार प्रतिनिधि समेतको व्यापक विरोध सुरु हुँदाहुँदै पछिल्लो समय कब्जा जमाएर बसेको ट्रान्स नेपाल कम्पनीले आईसीपीमा निर्माणाधीन रहेको डिस्पेन्सरी समेत भाडामा दिने प्रक्रिया सुरु गरेपछि ब्यापक विरोध सुरु भएको छ ।

सरकारले भन्सार विभागमार्फत आईसीपीको ठेक्का आह्वान नगररिकन कुनै निजी कम्पनीले आईसीपीको गोदाममा सामान राखेबापत भाडा असुली गर्न थालेकोमा त्यो ट्रान्स नेपालको आईसीपी कब्जाको रणनीति भएको रहस्य पनि भन्सार एजेन्टबाट खुल्न पुगेको छ । तर लामो समयदेखि एकलौटीरूपमा भाडा उठाउँदै आएको ट्रान्स नेपालले आफनो ठेक्का आगामी असार मसान्तसम्म भएको हुँदा आईसीपीबाट भन्सार जाँचपासका लागि आएका कन्टेनर तथा लहरीबाट आफूले रकम उठाउन पाउनु पर्दछ भन्दै पुरानो ठेक्कालाई आधार बनाएर जथाभाविरूपमा उद्योग प्रतिष्ठानबाट भाडा असुली गरेको आरोप उद्योगी तथा व्यवसायीको छ ।

विराटनगरका उद्योगी मुकेश राठीको ट्रान्स नेपाल नामक निजि कम्पनीले आईसीपी कब्जा गरेको हो । ट्रान्स नेपालले आईसीपीको गोदाममा सामान राखेबापत उद्योगी, व्यापारी तथा भन्सार एजेन्टहरूसँग दैनिक ५ देखि ७ लाखसम्म असुली गर्ने गरेको कुरा थाहा भएको छ । यसरी असुल गरिएको रकम मासिकरूपमा तीन अर्बको हाराहारीमा हुने गरेको कुरा बताइन्छ । उक्त रकम विराटनगर भन्सारमा रहेको ट्रान्स नेपालको अपरेसन म्यानेजरका रूपमा कार्यरत आईसीपी प्रमुख गणेश घिमिरेदेखि ट्रान्स नेपालकै अधिकृत र प्रशासनसम्मलाई मोटो रकम कमिसनबापत सञ्चालक मुकेश राठीले दिने गरेको रहस्य पनि समाचारस्रोतले खोलेको छ । जसले गर्दा सञ्चालक राठी र उनका म्यानेजर घिमिरे विवादित बन्न पुगेका छन् ।

केही दिनअघि मात्र ट्रान्स नेपालले भन्सार आईसीपीमा मिती नै उल्लेख नगरिकन डिस्पेन्सरीदेखि अफिस सञ्चालनका लागि भाडामा दिने भन्दै दुई दिनको अवधि दिएर सार्वजनिक सुचना भन्सार परिसरमा टाँस गरेपछि अहिले विराटनगर भन्सारको आईसीपीमा उद्योगी राठीको अनधीकृत आईसीपी कब्जाको विषयमा प्रश्न समेत उठेको छ । यती मोटो रकम ट्रान्स नेपालका नाममा सञ्चालक राठीबाट चलखेल हुँदा समेत भन्सार विभागदेखि अर्थ मन्त्रालय र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म सरकारी राजस्व असुली गर्नेतर्फ किन उदासीन छ भन्ने प्रश्न पछिल्लो समय उठ्न थालेको छ ।

ट्रान्स नेपालबाट आईसीपीमा डिस्पेन्सरीसमेत भाडामा दिने सूचना प्रकाशित गरेर आईसीपी कब्जाको रणनीति हो भन्ने प्रश्नमा भन्सार एजेन्ट माहासंघका केन्द्रीय उपाध्यक्ष किशोर साहीलाई प्रश्न गर्दा यसभन्दा अगाडि भन्सार एजेन्ट र ट्रान्स नेपालका बीचमा वार्ता हुँदा अब उप्रान्त आईसीपीमा अफिस सञ्चालनका लागि भाडा लगाउँदा वा दिँदा दुवै पक्षको सहमतिमा गर्ने भन्ने समझदारी भएको थियो भन्दै साहीले अहिले पछिल्लो समय ट्रान्स नेपालले मिति नै उल्लेख नगरी दुई दिनको समयावधि दिएर त्यो पनि डिस्पेन्सरीसमेत भाडामा लगाइसकेपछि सूचना जारी गरेर भन्सार एजेन्टलाई समेत झुक्याएको जानकारी दिए ।

भन्सारस्रोतले दिएको जानकारीअनुसार उद्योगी मुकेश राठीको ट्रान्स नेपाल नामक कम्पनीले विराटनगर भन्सार कार्यालयको पुरानो भन्सार गोदामको मात्र ठेक्का पाएको हो । अहिले उसको ठेक्काको अवधि असार मसान्त भएकाले उक्त ठेक्का ट्रान्स नेपालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत पुरानो गोदामको लागि मात्र पाएको बताइएको छ । भर्खरै सञ्चालनमा आएको आईसीपीमा भन्सार क्लियरिङ गर्ने भन्सार एजेन्टसमेतलाई दैनिक काम गर्ने व्यवस्था समेत सरकारले मिलाउन नसकेको अवस्थामा पुरानो भन्सारबाटै भन्सार क्लियरिङको काम भइरहेको जानकारी भन्सारस्रोतले दिएको छ ।

तर, उद्योगी राठीले पुरानो सम्झौता भन्दै नयाँ आईसीपीबाट दैनिक लाखौँ रूपैयाँ असुल गर्नु मनासीव देखिँदैन भन्ने कुरा भन्सारको कर्मचारीस्रोतले बताएको छ । भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण भएको आईसीपीको ठेक्का नै नलिइकन सरकारी सम्पत्तिलाई जबरजस्ती कब्जा गरेर भाडा असुली गर्न नपाइने तर्क स्थानीय उद्योगी तथा व्यवसायीको छ । ट्रान्स नेपालले आईसीपीमा भन्सार क्लियरिङ गर्न जाने भन्सार एजेन्टहरूसँग प्रत्येक कोठाबापत ६ देखि ८ हजारका दरले मासिक भाडा समेत असुली गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया