Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमित र तिनका परिवारमाथि भेदभाव

कोरोना संक्रमित र तिनका परिवारमाथि भेदभाव


सन्तोष पौडेल
वीरगञ्ज, जेठ १३
कोरोना संक्रमित तथा तिनका परिवारलाई गरिने भेदभावका कुरा सार्वजनिक भइरहेका बेला अहिले संक्रमित क्षेत्रका बासिन्दाहरूमाथि नै भेदभाव भइरहेको पाइएको छ ।कोरोना संक्रमित रहेको क्षेत्रका बासिन्दाहरूमाथि उद्योग, बैंक, अस्पताल, प्रहरीसमेतले भेदभाव गरिरहेका स्थानीयले गुनासो गरेका छन् । वीरगञ्ज–३ निवारी सूर्य नेपालमा कार्यरत कर्मचारीहरूलाई अहिले उद्योगमा प्रवेश गर्न दिइएको छैन । सूर्य नेपालमा वडा नं ३ मात्र नभई अहिले वीरगञ्ज क्षेत्रकै मानिसलाई प्रवेशमा निषेध गरिएको छ । कतिपय कर्मचारीले पीसीआर परीक्षण रिपोर्ट लिएर जाँदा पनि उनीहरूलाई प्रवेश गर्न नदिएको एक कर्मचारीले बताए ।

यसैगरी, नेपाल बैंक लि., कृषि विकास बैंक, नबिल बैंकलगायतका बैंकमा कार्यरत वीरगंज–३ निवासी कर्मचारीहरूलाई पनि बैंकमा प्रवेश गर्न नदिइएको गुनासो बढेको छ । वैशाख १४ गते वीरगञ्ज–३ का एक जना सरसफाइ कर्मचारीमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । त्यसपछि अहिलेसम्म वडा नं ३ मा मात्रै ४० जना संक्रमित भेटिएका छन् । पहिलो संक्रमित सरसफाइ कर्मचारी जेठ १० गते अस्पतालबाट डिस्चार्ज भएका थिए । तर यो क्षेत्रमा रहेका बासिन्दाहरूलाई आआफ्नो कार्यक्षेत्रमा काम गर्न अहिले पनि रोक लगाइएको छ । बैंक प्रबन्धकहरूले घरमै बसेर काम गर्न, कार्यालयमा नआउन निर्देशन दिएको एक कर्मचारीले बताए ।

यसैगरी, नेशनल मेडिकल कलेजमा कार्यरत सो वडाका मानिसहरूलाई पनि त्यहाँ काम गर्न रोक लगाइएको छ । आधा महिनाको विदा दिएर उनीहरूलाई घरमैं बस्न भनिएको छ । यस प्रकार वडावासी थुप्रै कर्मचारीहरूले आआफ्नो कार्यक्षेत्रमा काम गर्न जान नपाएको बताएका छन् । कतिपयले स्वाब नमूना परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि काम गर्ने वातावरण सृजना भएको बताए ।

वडाध्यक्षमार्फत पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट अस्पतालबाट प्राप्त गरेर काममा जाँदा रोक नलगाइएको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले धेरैजसो उद्योग बारा जिल्लामा रहेका हुँदा आफूलाई सोबारे गुनासो नआएको बताए । उनले लकडाउनमा प्रायः उद्योगहरू बन्द भएका र त्यसमा पनि खुलेका उद्योगहरू पर्सा जिल्लामा नपरेकाले यस प्रकारको गुनासो नसुनिएको बताएका छन् ।

नेशनल मेडिकल कलेजलाई सिल गर्न माग : पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले नेशनल मेडिकल कलेजलाई तत्काल सिल गरी सूचना लुकाउने र विश्व स्वास्थ्य संगठनको प्रोटोकल पालना नगर्ने अस्पताल प्रशासनलाई कारबाही गर्न माग गरेका छन् । उनले तत्काल सबैको कन्ट्याक्ट ट्रेसिङको माग समेत गरेका छन् । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको ७७ वर्षीय वृद्धमा कोरोना संक्रमण पोजेटिभ आएपछि अस्पताललाई सिल गरिने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । जेठ ४ गते नेसनल मेडिकल कलेजमा मृत्यु भएका बारा जिल्लास्थति करैयामाई गाउँपालिको वडा नं. ७ का ७० वर्षीय पुरुषको पिसिआर प्रविधि मार्फत स्वाब परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

जेठ २ गते दिउँसो १ बजे अस्पताल भर्ना भएका चौधरी थरका ती वृद्धको जेठ ४ गते निधन भएसँगै अस्पतालले परिवारलाई शव बुझाएको थियो । परिवारले पनि शव पाएसँगै आफ्नो परम्पराअनुसार अन्त्येष्टि गरेको छ । जेठ २ गते १ वजे उपचारमा ल्याउने वित्तीकै भेन्टिलेटरमा राखेर ती वृद्धको उपचार सुरु गरिएको थियो । डाक्टर समेत रहेकी अस्पतालका सञ्चालक मोहम्मद बसरुद्धिन अन्सारीको छोरीले ती वृद्धलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेकी थिइन् । क्षयरोग र दम समेत रहेका उनलाई पछिल्लो पटक निमोनिया पनि थियो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनले भने, ‘मृतक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । त्यसैले नेशनल मेडिकल कलेजको पोजेटिभ पाएएका मृतक बिरामीलाई उपचार गरेको वार्डलाई सिल गर्न गृह मन्त्रालय तथा स्वास्थ्य मन्त्रलायलाई पत्राचार गरेका छौँ ।’

आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार सुरु गर्नुअघि उनको स्वाब समेत संकलन गरेर टेस्टका लागि नारायणी अस्पतालमा पठाइएको थियो । तर स्वाबको रिपोर्ट नआउँदै जेठ ४ गते ती वृद्धको मृत्य भयो । स्वाब संकलन गरिसकेको व्यक्तिको निधन भए पनि त्यसको रिपोर्ट नआएसम्म अन्तिम संस्कारका लागि मृतकका आफन्तलाई दिन पाइँदैन । विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकलले पनि त्यही बताउँछ । यता नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले पनि नेशनल नेशनल मेडिकल कलेजले प्रोटोकल फलो गरेको कतै पनि नदेखिएको बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया