Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतको लक्षद्वीपलाई माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न यसकारण कठिन छ

भारतको लक्षद्वीपलाई माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न यसकारण कठिन छ


काठमाडौं,सन् २०२४ को ज्यानुअरी सुरुमै प्रधानमन्त्री नरेन्द्र मोदीले लक्षद्वीपको भ्रमण गरेदेखि नै यस ठाउँ चर्चामा छ।

भारतको माल्दिभ्ससँगको सम्बन्धमा आएको परिवर्तन होस् वा लक्षद्वीप जाने विषयमा त्यहाँका जनता र सेलिब्रिटीहरूले गरेका कुराकानी समेत उत्तिकै चर्चामा छन्।

माल्दिभ्सका लागि बुकिङ रद्द गर्नेबारे केही ट्राभल कम्पनीहरूका तर्फबाट समेत कुराकानी भएका छन्।

तर यी कुराहरूले लक्षद्वीप जाने मानिसहरूको सङ्ख्यालाई असर गरिरहेको छैन। द टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार लक्षद्वीप भ्रमण गर्ने मानिसको सङ्ख्या माल्दिभ्सको तुलनामा कम छ र त्यसका कैयौँ कारण छन्।

माल्दिभ्सविरुद्ध लक्षद्वीप
टाइम्स अफ इन्डियाको रिपोर्टमा माल्दिभ्सको तुलनामा लक्षद्वीप पुग्न कठिन भएको लेखिएको छ ।

त्यसका लागि सबैभन्दा पहिले भारतीय राज्य केरलाको कोची जानुपर्छ।

कोचीबाट अगाट्टीका लागि लिनुपर्ने उडान दैनिक एउटा मात्र छ। उक्त उडानको टिकट सन् २०२४ को मार्चसम्म बुक भइसकेका छन्।

कोचीदेखि पानीजहाजबाट पनि लक्षद्वीप पुग्न सकिने भए तापनि उक्त यात्रा लामो छ।

लक्षद्वीप घुम्न जाने विदेशी पर्यटकको सङ्ख्या १० प्रतिशतभन्दा बढी भएको छैन। कोरोना महामारीको समयमा उक्त सङ्ख्या अझै घटेको थियो।

पछिल्लो समय भने भारत सरकारले लक्षद्वीपको यात्रामा सुधार ल्याउने सङ्केत गरेको छ।

अगाट्टी विमानस्थललाई विस्तार गर्न सकिने एवं एकसाथ सेना र नागरिक आवश्यकताको लागि हुने गरी मिनिकोएमा विमानस्थल विकास गर्न सकिने बताइएको छ।

त्यसो गरिएमा धेरै यात्रुहरू लक्षद्वीप पुग्न सक्ने छन। तर वातावरणसँग सम्बन्धित केही चिन्ताहरू छन्।

लक्षद्वीपलाई तुलना गरिएको माल्दिभ्समा १८ विमानस्थल छन्। जसमध्ये पाँच वटाबाट अन्तर्राष्ट्रिय उडान हुन्छन्।
माल्दिभ्सबाट २० वटा विमान सेवाले बाह्रमासै उडान गर्छन्।

सन् २०२३ मा माल्दिभ्स पुग्ने पर्यटकको सङ्ख्या १८ लाख थियो जसमध्ये सबैभन्दा उच्च दुई लाखभन्दा धेरै भारतीय थिए।

लक्षद्वीपका चुनौती के छन्?
द टाइम्स अफ इण्डियाको एक रिपोर्टमा भनिए अनुसार आउजाउ गर्ने सम्पर्क सञ्जालबाहेक अर्को चुनौती भनेको लक्षद्वीपमा पर्यटकहरू बस्नका लागि पर्याप्त कोठाहरू नहुनु हो।

होटलसँग धेरै सुविधाहरू छैनन्। क्षेत्रफलका हिसाबले लक्षद्वीप अण्डमान र निकोबार टापु वा माल्दिभ्स भन्दा धेरै सानो छ। यसको क्षेत्रफल ३२ वर्ग किलोमिटर मात्र छ।

लक्षद्वीप प्रशासनका अनुसार पर्यटकका लागि १७६ शय्याको व्यवस्था गरिएको छ। यसमा ५२ शय्याको टेन्ट रिसोर्ट पनि समावेश छ।

भारतको नीति आयोगको प्रतिवेदनमा लक्षद्वीपका पाँच वटा टापुहरूमा पर्यटनसँग सम्बन्धित सुविधा बढाउन सकिने जनाइएको छ। यसका लागि ८०८ करोड भारतीय रुपैयाँ आवश्यक हुनेछ।

टाटा कम्पनीले सन् २०२६ सम्ममा लक्षद्वीपका दुई टापुहरूमा इको टुरिजम रिसोर्टहरू समेत खोल्नेछ।
लक्षद्वीप प्रशासनले यात्रुवाहक पानीजहाजको प्याकेज समेत प्रदान गर्छ जसमा दिनमा टापुको वरिपरि घुम्न र रातमा जहाजमा बस्न सकिनेछ।

यसले लक्षद्वीप टापुमा दबाव कम गर्नेछ।

लक्षद्वीपसामु पिउने पानीको चुनौती समेत छ। धेरै अध्ययनहरूले लक्षद्वीपमा भूमिगत जल सतह घटेको जनाएका छन्। यद्यपि हालसालै इजरेलले खाने पानी शुद्धीकरण परियोजना सुरु गरेको छ।

करावती टापुमा निर्माण गरिएको एक वाटर प्लान्टको दैनिक क्षमता एक लाख लिटर रहेको छ जुन तीन दिनमा एक पटक वितरण हुन्छ।

त्यसबाहेक बंगाराम वाटर प्लान्टमा आरओ प्लान्ट समेत छ जसले दैनिक ५० हजार लिटर पानी उपलब्ध गराउँछ।

लक्षद्वीपलाई माल्दिभ्सजस्तो बनाउन किन गाह्रो छ?
लक्षद्वीपका सांसद मोहम्मद फैजलले टाइम्स अफ इन्डियालाई बताए अनुसार लक्षद्वीपमा माल्दिभ्समा जस्तै वाटर भिला निर्माण गर्दा वातावरणीय चिन्ता बढ्नेछ।

“लक्षद्वीपको भौगोलिक अवस्था यस्तो छ कि दक्षिण-पश्चिमी मनसुनमा हावा सिधै टापुमा पुग्छ। तीव्र गतिमा हावा आउने उक्त बाटोमा कुनै अवरोध छैन। त्यसैले यदि त्यो भिलामा सिधै ठोक्कियो भने ती पानीमा हुनेछन्,” उनी भन्छन्।

“आधार मजबुत हुनु जरुरी छ। तर यो सबै यथार्थमा सम्भव होला त भन्नेमा शङ्का छ।”

मोहम्मद फैजलका अनुसार एउटा चुनौती भनेको यहाँको सम्पत्ति मानिसको नाममा दर्ता हुनु रहेको छ। कतिपय टापुहरूमा ब्रिटिश कालदेखि नै मानिसको नाममा सम्पत्ति छ।

यस्तो अवस्थामा जब ती मानिसहरूलाई मुआब्दा दिएर सम्पत्ति दिन भनिन्छ त उनीहरू अदालत पुग्छन्।

लक्षद्वीप कस्तो ठाउँ हो?
माल्दिभ्स लक्षद्वीपबाट करिब ७०० किलोमिटर टाढा छ। लक्षद्वीप केरलाको कोचीबाट ४४० किलोमिटर पर छ।

लक्षद्वीप ३६ साना टापुहरूको समूह हो। सन् २०११ को जनगणना अनुसार यहाँको ९६ प्रतिशत जनसङ्ख्या मुस्लिम छ। लक्षद्वीपको कुल जनसङ्ख्या लगभग ६४ हजार छ।

लक्षद्वीपको क्षेत्रफल लगभग ३२ वर्ग किलोमिटर छ। अर्थात् यो माल्दिभ्सको क्षेत्रफलभन्दा करिब १० गुणा कम छ।

लक्षद्वीपमा मानिसहरूको बसोबास भएका १० वटा टापु छन्। एउटा टापु बित्रामा २ सय ७१ र सुनसान बंगाराम टापुमा ६१ जना मात्रै मानिसहरू बस्छन् ।

यहाँ मलयालम भाषा बोलिन्छ। मिनिकोएमा मात्र मानिसहरू माहे भाषा बोल्छन् जसको लिपि धिवेही हो।

यो एउटै भाषा हो जुन माल्दिभ्समा समेत बोलिन्छ। केही सञ्चारमाध्यमका अनुसार गत वर्ष लक्षद्वीप घुम्न आउने पर्यटकको सङ्ख्या २५ हजारको हाराहारीमा थियो। जुन माल्दिभ्स जाने भारतीयहरूको सङ्ख्या भन्दा झण्डै आठ गुणा कम हो।

भारत-माल्दिभ्स सम्बन्ध र पछिल्लो तनाव
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरलाई लिएर हालै भारत र माल्दिभ्सबीचको सम्बन्धमा अचानक तनाव उत्पन्न भएको थियो।

माल्दिभ्सकी मन्त्री मरियम शिउनीले मोदी र भारतबारे ‘आपत्तिजनक’ टिप्पणी गरेकी थिइन्।

यसपछि, उनी र अन्य दुई मन्त्रीहरूलाई मुइज्जू सरकारले तुरुन्तै निलम्बन गरेको थियो।

भारतमा भने सामाजिक सञ्जालमा माल्दिभ्स बहिष्कारको ट्रेन्ड चलेको थियो।

यद्यपि माल्दिभ्सलाई आफ्नो स्वतन्त्रता पछि स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने पहिलो देशहरूमध्ये भारत पनि एक हो।

माल्दिभ्समा आफ्नो दूतावास खोल्ने देश पनि भारत पहिलो हो। माल्दिभ्सका सरकारहरू कहिले भारततर्फ र कहिले चीनतर्फ झुकाव भएका बनेका छन्।

उदाहरणका लागि राष्ट्रपति मोहम्मद मुइजूभन्दा अगाडि उक्त पदमा रहेका इब्राहिम सोलिह भारतसँग निकट मानिन्थे। यद्यपि उनले चीन र भारतबीच सन्तुलन कायम राख्ने प्रयास गरे।

उनीअघि मुइज्जूको पार्टीका अब्दुल्लाह यामीन राष्ट्रपति थिए, उनी चीनको नजिक मानिन्थे।

मुइज्जूले फेरि चीनतर्फ बढी झुकाव देखाएका छन्।माल्दिभ्सबाट फिर्ता जान भारतीय सेनालाई उनले दुई महिनाको समयसीमा दिएका छन्। (बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया