Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजी क्षेत्रलाई समेत स्वदेशी वस्तुहरू खरिद गर्न आग्रह

निजी क्षेत्रलाई समेत स्वदेशी वस्तुहरू खरिद गर्न आग्रह


काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले निजी क्षेत्रलाई समेत स्वदेशी वस्तुहरू खरिद गर्न आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघद्वारा राजधानीमा आयोजित स्वदेशी मिट एन्ड ग्रिटमा मुख्यसचिव डा अर्यालले निजी क्षेत्रले समेत स्वदेशी खरिदमा जोड दिनुपर्ने बताएका हुन् ।

छलफलमा उनले सरकारी एवम् सार्वजनिक संस्थानहरूलाई स्वदेशी वस्तु खरिदका लागि आवश्यक वातावरण सरकारले बनाउने बताए । परिसंघको मेक इन नेपाल स्वदेशी अभियानलाई सरकारले सुरुवातदेखि नै स्वामित्व लिएको उनको भनाइ थियो । उनले स्वदेशी उद्योगहरूको प्रवद्र्धन गर्न जग्गाको हदबन्दी, कानुन संशोधनलगायतका विषयलाई प्राथमिकतामा राखेको समेत जानकारी दिए । यस्तै, उनले विदेशी लगानी आकर्षित गर्न द्विपक्षीय लगानी सम्झौता (बीआईए)सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरे । मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्य उद्योगहरूले प्रयोग गर्दै आएका गैंडा अंकित लोगो एवम् यसको विशेषताका विषयमा आम उपभोक्तालाई जानकारी गराउने गरी अभियान सञ्चालन गर्न पनि उनले सुझाव दिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव मुकुन्दप्रसाद निरौलाले २० प्रतिशत महँगो भए पनि स्वदेशी सामान खरिद गर्नुपर्ने निर्देशिका अन्तिम चरणमा रहेको जानकारी दिए । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकार लागिरहेको उल्लेख गर्दै उनले परिसंघले दिएका नीतिगत सुझावहरू मनन्योग्य रहेको बताए । परिसंघका सुझावहरू एकैदिन एकै पटक लागू गर्न नसकिने भए पनि चरणबद्धरूपमा कार्यान्वयन हुँदै जाने उनको भनाइ थियो ।

कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निर्यात प्रवर्द्धनका लागि आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्थाले सकारात्मक परिणाम ल्याइरहेकाले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उत्पादनहरूलाई थप एक प्रतिशत निर्यातमा अनुदान दिई प्रोत्साहन गर्न आग्रह गरे । परिसंघले स्वदेशीको सामूहिक टे«डमार्कका लागि सबै प्रक्रिया पूरा गरी उद्योग विभागमा निवेदन दिएको पनि जानकारी दिए । उनका अनुसार परिसंघले स्वदेशी अभियानमा आबद्ध उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नेलगायतका गतिविधिहरू सञ्चालन गर्ने गरेको छ ।

परिसंघ पछिल्लो पटक संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष (यूएनसीडीएफ) को ‘अगोरा’ प्लेटफर्ममा आबद्ध भएको छ । सो प्लेटफर्म स्वदेशी वस्तुहरू अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जालमा पुग्न प्रभावकारी माध्यम बन्ने परिसंघको विश्वास छ । कार्यक्रममा उद्योगहरूको प्रवद्र्धनका लागि लिइनुपर्ने नीतिगत विषयहरूमा छलफल गरिएको थियो । कार्यक्रममा मेक इन नेपाल स्वदेशी अभियानले हालसम्म गरेका विभिन्न कार्यहरूका विषयमा जानकारी समेत गराइएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया