Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘आर्थिक समृद्धिको नीति कागजमै सीमित’

‘आर्थिक समृद्धिको नीति कागजमै सीमित’


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि सर्वप्रथम कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन् । कृषिमा परनिर्भरता नहटेसम्म आर्थिक समृद्धि हासिल गर्ने सरकारी नीति र लक्ष्य कागजमै सीमित हुने अध्यक्ष मल्लले बताए ।

कृषिजन्य वस्तुहरूको उत्पादन र बजारीकरणका लागि तीन तहको सरकार र निजीक्षेत्रका संगठनबीच प्रभावकारी समन्वय हुनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । दोलखा चेम्बर अफ कमर्सको पाँचौँ साधारणसभामा अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवम् खानीजन्य वस्तुहरूको पहिचान एवम् प्रवर्द्धनसँगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘कृषि उत्पादनको दृष्टिकोणले सबै जिल्लाको आ–आफ्नै विशिष्टकृत महत्व छ, स्थानीय उत्पादनको प्रवर्द्धन एवम् बजारीकरणका लागि ठोस नीतिगत व्यवस्थाको खाँचो छ ।’

कृषिप्रधान मुलुकमा खाद्यान्न समेत आयात गर्नुपर्ने अवस्था आउनु मुलुकका लागि दुर्भाग्य भएको भन्दै उनले स्थानीय कृषि उपजहरूको उत्पादन वृद्धि एवम् सहज बजारीकरणका लागि जिल्लामा छुट्टै कक्ष निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘आन्तरिक उत्पादन नहुँदा कृषिजन्य वस्तुहरूमा समेत परनिर्भरता बढ्दो क्रममा छ, सम्भावना भएका क्षेत्रहरूमा समेत निर्यात सहजीकरण हुन सकेको छैन ।’ निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने हो भने कृषि, खानी, जलविद्युत्, पर्यटन र सूचना प्रविधियुक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति योजना बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया