Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१६औँ योजना कार्यान्वयनका लागि युरोपियन युनियनले सहयोग गर्ने

१६औँ योजना कार्यान्वयनका लागि युरोपियन युनियनले सहयोग गर्ने


काठमाडौं । राष्ट्रिय योजना आयोगले तयार गरिरहेको १६औँ योजना कार्यान्वयनका लागि सहयोग गर्न युरोपियन युनियन(ईयू)ले प्रतिबद्धता जनाएको छ ।

आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले भेटी सो प्रतिबद्धता जनाएकी हुन् । सिंहदरबारस्थित आयोग कार्यालयमा सोमबार भएको भेटमा आयोगले तयार गरिरहेको १६औँ योजना, अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिपछि नेपाल र ईयूको व्यापारमा हुने असर, बहुपक्षीय पोषण कार्यक्रम (मल्टी सेक्टरल न्यूट्रिसन)लगायतका विषयमा छलफल भएको थियो ।

आयोगका उपाध्यक्ष श्रेष्ठले ईयूले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । १६औँ योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको बताउँदै लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने उपाध्यक्ष श्रेष्ठले बताए । उपाध्यक्ष र ईयू राजदूत लोरेन्जोबीच युरोपियन युनियनसँगको व्यापारमा पर्ने असर र त्यसका लागि परिपूरण गर्ने उपायका विषयमा समेत छलफल भएको छ । ईयूले नेपालमा हरित अर्थतन्त्र, पूर्वाधार ग्याप हटाउन मद्धत गर्ने राजदूत लोरेन्जोको भनाइ थियो । मानवपुँजी (गुणस्तरीय शिक्षा)मा सहयोग गर्ने तथा नेपालको सुशासन र संघीयता कार्यान्वयनको एजेन्डालाई ईयूले सहयोग र समर्थन गर्ने प्राथमिकतामा राखेको राजदूत लोरेन्जेले बताएकी छन् ।

ईयू राजदूत लोरेन्जोले १६ औँ योजनाका लागि साथै बहुपक्षीय पोषण कार्यक्रममा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गरेकी छन् । नेपाल अतिकम विकसित मुलुकबाट सन् २०२६ मा विकासशीलतर्फ स्तरोन्नति हुँदै गरेको सन्दर्भमा उनले अन्तर्राष्ट्रिय समुदायबाट नेपालले पाउँदै आएको सुविधा निरन्तरताका लागि गृहकार्य गर्नुपर्ने सुझाव पनि दिइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया