Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्न सकेन

नेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्न सकेन


काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय व्यापारको लागि भारतमा भर पर्नुपर्ने अवस्थाबाट मुक्त पारेको चिनियाँ बन्दरगाहको सदुपयोग गर्न नेपाली पक्ष चुकेको छ । नेपाल र चीनबीच भएको पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल) अनुरूप नेपालले चीनको सातवटा बन्दरगाह प्रयोग गर्न पाउनेछ ।

नेपालको व्यापारका लागि अधिकांश चिनियाँ बन्दरगाह टाढा र बढी भाडादर लाग्ने छन् । जसको कारण चिनियाँ बन्दरगाहबाट लाभ लिन नसिकएको सरोकारावाला बताउँछन् । चीनसँग सम्झौता भएका सात बन्दरगाहमध्ये चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह हुन् ।

प्रोटोकलअनुसार नेपाली व्यवसायीले चीनको सान्जेन, लियान्युगाङ, तियान्जिन, झयाङीझयाङ सामुद्रिक बन्दरगाह तथा ल्हासा, सिगात्से र लान्जाओ सुक्खा बन्दरगाह प्रयोग गर्न पाउँछन्  । तर, नेपाल–चीन सीमाबाट बन्दरगाहसम्मको दूरी लामो भएकाले बढी भाडा लाग्ने, जलमार्गको अभावलगायतका कारणले गर्दा चिनियाँ बन्दरगाहबाट लाभ लिन नसकिएको तातोपानी भन्सारप्रमुख दयानन्द केसीले आर्थिक दैनिकलाई बताए ।

‘निर्यात व्यापारको लागि सडकमार्गको प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्था, लागत र समय पनि बढी लाग्ने हुँदा तुलनात्मकरूपमा भारततर्फभन्दा आर्थिक हिसाबले बढी मूल्य लाग्ने भएकाले चीनतर्फको आयात–निर्यात व्यापारमा कमी देखिन्छ’, भन्सारप्रमुख केसीले भने, ‘अर्कोतर्फ चिनियाँ बन्दरगाहसम्म पुग्ने पूर्वाधारहरू सडक, भवनलागयतका विकास नहुँदा समेत समस्या छ ।’

चालू आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा चीनसँगको व्यापार हिस्सा २१ प्रतिशत छ । यस अवधिमा नेपाल–चीनबीचको आयात व्यापार एक खर्ब ४७ अर्ब ३९ करोड रुपैयाँ र निर्यात व्यापार एक अर्ब ६० करोड ६३ लाख रुपैयाँ छ । गत आर्थिक वर्ष २०७९/८० मा चीनसँग आयात व्यापार दुई खर्ब २२ अर्ब ७१ करोड रुपैयाँ र निर्यात व्यापार एक अर्ब ७६ अर्ब ५७ करोड रुपैयाँ थियो । चीन हुँदै हुने वैदेहिक व्यापार न्यून छ । नेपालबाट हस्तकला, गलैँचा, जुस र तयारी सामग्रीलगायतका वस्तु निर्यात हुनेगरेको छ भने चीनबाट विद्युतीय सामग्री, फलफूल, जुत्ताचप्पल, तयारी पोशाकलगायतका सामग्री आयात हुनेगरेको छ ।

तेस्रो मुलुकबाट चीन हुँदै आयात भएको वस्तु निकै कम छ । विभागका अनुसार भियतनाम, ताइवान, सिंगापुरबाट चीन हँुदै वस्तु आयात हुनेगरेको छ । ती मुलुकबाट विद्युतीय सामग्री तथा तयारी पोशाक आयात गरिएको छ ।

यस्तै, व्यवसायीले चीन हुँदै निर्यात गरेका छन् । पछिल्लो समय चिनियाँ बन्दरगाह हुँदै हस्तकला तथा चाउचाउजस्ता सामग्रीहरू तेस्रो मुलुक निर्यात गरिएको छ । चीनको बन्दरगाह प्रयोग गरिएको खण्डमा व्यवसायीहरूलाई मंगोलिया, जापान, दक्षिण कोरिया, भियतनामलगायतका मुलुकमा व्यापाार गर्न सहज हुनेछ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघ (एनटीएचबीसीए)ले पनि चिनियाँ बन्दरगाह हुँदै तेस्रो मुलुकमा गरिने निर्यात व्यापारमा नेपालपछि परेको बताएको छ । बन्दरगाहसम्म पुग्न उत्तरतर्फ सडक यातायातको सुविधा अभाव, अनुदान अभावलगायतका कारणले गर्दा चीन हुदै तेस्रो मुलकमा गरिने व्यापार प्रभावित बन्न पुगेको संघले जनाएको छ । सन् २०१६ मार्चमा चीनसँग नेपालले पहिलो पटक पारवहन र यातायातको सम्झौता गरेको थियो । सातवटा बन्दरगाहसम्म पुग्नका लागि उत्तरतर्फ पर्याप्त नाकाहरू खोलिएको छ । नेपाल र चीनबीचको संशोधन प्रावधानसहित चीन र नेपाल व्यापार र भुक्तानी सम्झौताअनुसार पहिलेका कोदारी–न्यालम, रसुवा–केरुङ, यारी हुम्ला–पुरङ र ओलाङचुङगोला–रिउ गरी चारवटा र पछि थप दुई किमाथांका–रिउ र नेचुङ–लिजी गरी छवटा नाका दुई देशबीचको व्यापार प्रवद्र्धनका लागि खुला गरिएको छ ।

२०७२ मा गोरखा, दोलखा र मुगुबाट तिब्बत जोड्ने तीन नाका खोल्न नेपाल र चिनियाँ सरकारीबीच सम्झौता भएको थियो । त्यसैगरी पारवहन ढुवानी सम्झौता, २०१६ र यसको प्रोटोकल, २०१९ को कार्यान्वयन गर्ने, व्यापार सहजीकरण, रसुवाको टिमुरेस्थित सीमा जाँच स्टेसन र सुक्खा बन्दरगाह निर्माण गरिने, एक सय ८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्यपदार्थको चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचीमा सूचीकृत गर्ने विषयमाथि सहमत भएको थियो । नेपालमा उत्पादन भएका आठ हजार ३० वस्तुहरूलाई चीनले भन्साररहित सुविधा दिने सम्झौता पनि भएको थियो । तर, मुस्किलले पाँच सय नेपाली वस्तुहरूले मात्र यस्तो सुविधा पाउँदै आएका छन् । यसबाट समेत नेपालले लाभ लिन सकेको छैन ।

भारततर्फको व्यापार सहजीकरणको कारण चीन भई तेस्रो मुलुकमा हुने व्यापार फस्टाउन नसकेको हो । करिब ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय व्यापार भारतको जलमार्ग तथा सडकमार्ग हुँदै हुनेगरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया