Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबेलायतका सेनाध्यक्ष र उपप्रधानमन्त्री खड्काबीच शिष्टाचार भेट

बेलायतका सेनाध्यक्ष र उपप्रधानमन्त्री खड्काबीच शिष्टाचार भेट


काठमाडौँ । बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गरेका छन् ।

उपप्रधानमन्त्री खड्काले रक्षामन्त्रालयमा मंगलबार भएको भेटमा सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सलाई स्वागत गर्दै यस भ्रमणले दुई देशको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

भेटमा नेपाल र बेलायतबीच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको उपप्रधानमन्त्री खड्काले बताए । उनले गत वर्ष नेपाल र बेलायतको मैत्रीसन्धीको एक सय वर्ष पूरा भएको र अर्को एक सय वर्षका लागि जग बसाल्ने काम भएको बताए ।

उनले ब्रिटिस सेनामा सेवारत ब्रिटिश गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र कठिन समयमा समेत बेलायतले सहयोग र समर्थन गर्दैै आएकोमा प्रसन्नता व्यक्त गरे । सन् १९९७ अघि सेवानिवृत्त भएका ब्रिटिश गोर्खालीहरूको आफ्ना बेलायती समकक्षहरूसँग समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको माग सम्बन्धमा बेतालयको तर्फबाट सकारात्मक पहलको निमित्त अनुरोध गरे ।

उनले नेपाल र बेलायतबीचको विगत लामो समयदेखिको सैन्य सहयोग आदान–प्रदान हुँदै आएको र नेपाली सेना र बेलायती सशस्त्र बलहरूले द्विपक्षीय तालिम तथा सहयोग आदान प्रदानमा मिलेर काम गरिरहेको बताए ।

सो अवसरमा बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा शान्ति सैनिक खटाउने दोस्रो ठूलो राष्ट्रको हैसियतमा नेपालको भूमिका महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्दै बेलायतले आगामी दिनमा नेपालसँग थप सहकार्य गर्न इच्छुक रहेको बताए ।

यसैबीच, सैनिक मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाका सेनाध्यक्ष प्रमुख स्यान्डर्सबीच भेटवार्ता भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले उनीहरुबीच भएको भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको पारस्परिकसम्बन्ध तथा दुई देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध लगायतका विषयमा छलफल भएको जनाएको छ ।

यसअघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उहाँ नेपालको छ दिवसीय भ्रमणका लागि यहाँ आउनुभएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया