Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबढ्दो व्यापार घाटाको ग्राफ

बढ्दो व्यापार घाटाको ग्राफ


काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिना अवधिका सबै महिनामा नेपालको वैदेशिक व्यापार घाटा बढ्दै गएको सरकारी तथ्याङ्कले नै देखाएको छ । यसले नेपाल उत्पादन तथा निर्यात व्यापारमा विगतदेखिकै कमजोरीलाई निरन्तरता दिँदै सुधारका काम गर्न असफल भएको देखिएको छ ।

सबै अर्थात् छ महिनाका कुनै पनि महिनामा निर्यात नबढ्दा मुलुकको व्यापार घाटा करिब पाँच गुणाले वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउन महिनामा कुल वस्तु व्यापार घाटा एक खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ थियो भने भदौमा व्यापार घाटा एक खर्ब १७ अर्ब ५९ करोड रुपैयाँले थप भएर दुई खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यस्तै, असोजमा एक खर्ब ३३ अर्ब ५८ करोड रुपैयाँ थपिएर तीन खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ, कात्तिकमा ९५ अर्ब छ करोड रुपैयाँ थपिएर चार खर्ब ६१ अर्ब ९४ करोड रुपैयाँ, मंसिरमा एक खर्ब १७ अर्ब छ करोड रुपैयाँले बढेर पाँच खर्ब ७९ अर्ब रुपैयाँ र पुसमा एक खर्ब १४ अर्ब १९ करोड रुपैयाँले बढेर छ खर्ब ९३ अर्ब १९ करोड रुपैयाँ व्यापार घाटा कायम भएकोे छ ।

नेपालले आफ्नो आन्तरिक उपभोगका वस्तुसमेत उत्पादन गर्न नसक्दा आयात बढाउन परेको हो । आयात बढाउँदा निर्यात भने विगतको जस्तै कमजोर बन्दै गएको छ । कृषिप्रधान भनेर प्रचारित देशमा चामल, दाल, गेडागुडी, तरकारीसमेत आयात गर्नुपर्ने अवस्था छ । विदेशबाट आयात नगर्ने हो भने नेपालीको भान्सा नै नचल्ने अवस्था सिर्जना हुँदा आयातको चाप बढेको छ । दैनिक उपभोग्य वस्तु नै आयात गर्नुपर्दा अन्य वस्तु उत्पादन गरेर विदेश निर्यात गर्ने अवस्था नै बनेको छैन ।

कमजोर नेतृत्वको कारण मुलुकको व्यापार नीति कार्यान्वयन हुन नसक्दा नेपाली व्यापार सधैं समस्यामा परेको जानकारहरू बताउँछन् । नेपालले अन्तर्राष्ट्रिय अर्थात् विश्व व्यापार संगठनको सदस्य एवम् त्यसले निर्देशित गरेका नीतिहरूलाई अवलम्बन गरी अघि बढेको छ । जसले व्यापारका लागि आवश्यक नीतिगत व्यवस्था पर्याप्त देखिन्छ । तर नीति कार्यान्वयनमा नेतृत्व तह चुक्दा भने नेपालको व्यापार समस्याबाट सधैँ ग्रुजिरहेको देखिन्छ । विशेषगरी सीमा जोडिएका मुलकहरू क्रमशः भारत र चीनले नेपालसँगको व्यापारमा आफ्नो स्वार्थअनुकुल व्यापार गर्दा नेपालको व्यापार समस्यामा पर्ने गरेको डा चन्द्रमणि अधिकारी बताउँछन् । उनले नेपालले कृषिजन्यलगायतका सामग्रीको उत्पादनमा ध्यान नदिनु तथा व्यापार नीतिहरू अनुरूप आफूलाई सञ्चालन गर्न नसक्दा मुलुकको व्यापार घाटामा रहेको बताए ।

यस्तै, नेपालको भारत–चीनसँगको व्यापार हेर्ने हो भने नेपालले यी दुवै मुलुकसँगको व्यापारमा अर्बौं घाटा व्यहोर्दै आएको छ । समीक्षा अवधिमा भारतबाट चार खर्ब ७४ अर्ब ८९ करोड रुपैयाँको वस्तु आयात भएको छ भने नेपालबाट ५० अर्ब ४४ करोड रुपैयाँको निर्यात भएको छ । भारतपछि सबैभन्दा धेरै व्यापारघाटा चीनसँग भएको छ । कुल व्यापारघाटामा चीनसँगको हिस्सा १५ प्रतिशत छ । छ महिनामा चीनसँग एक खर्ब ४५ अर्ब ७९ करोडको व्यापारघाटा भएको छ । चीनबाट नेपालमा एक खर्ब ४७ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने नेपालबाट एक अर्ब ६० करोड रुपैयाँको निर्यात भएको छ । विभागका अनुसार भारत र चीनपछि व्यापारघाटा धेरै हुने मुलुकमा यूएई, युक्रेन मलेसिया, अस्ट्रेलिया, अमेरिकासँगको व्यापारघाटा धेरै छ ।

न्यून निर्यात र उच्च आयात रहेको मुलुकको व्यापारमा यो छ महिनामा निर्यात तथा आयातको योगदान क्रमशः आठ दशमलव नौ प्रतिशत र ९१ दशमलव एक प्रतिशत रहेको छ । नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूमा फलाम तथा फलामा उत्पादनहरू, यार्न, उनी गलैंचा, तयारी पोशाक, जुस, अलैची, प्लाइउड, जुट तथा जुटका सामानहरू, उनी फेल्टका उत्पादन, पामतेल, चिया, पश्मिना सल, कुकुर विरालका आहार, पिना, जडिबुटी, कपडा, चाउचाउ, सिमेन्टको क्लिङ्कर र तामा ताथ तामाका उत्पादन प्रमुखरूपमा रहेका छन् । समीक्षा अवधिमा निर्यात व्यापार क्रमशः साउनमा १३ अर्ब ५२ करोड रुपैयाँ, भदौमा २६ अर्ब ४४ करोड रुपैयाँ, असोजमा ४० अर्ब ८७ करोड रुपैयाँ, कात्तिकमा ५० अर्ब ५६ करोड रुपैयाँ, मंसिरमा ६४ अर्ब २२ करोड रुपैयाँ र पुसमा ७४ अर्ब ९६ करोड रुपैयाँ बराबर छ । नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरूमा अमेरिका, जर्मनी, बेलायत, संयुक्त अरब इमिरेट्स, फ्रान्स, अस्ट्रेलिया, जापान, इटाली, डेनमार्क, नेदरल्यान्ड्स र टर्की प्रमुख छन् ।

छ महिनाको अवधिमा आयात व्यापार क्रमशः साउनमा एक खर्ब २९ अर्ब २३ करोड रुपैयाँ, भदौमा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ, असोजमा चार खर्ब सात अर्ब ७५ करोड रुपैयाँ, कात्तिकमा पाँच खर्ब १२ अर्ब ५० करोड रुपैयाँ, मंसिरमा छ खर्ब ४२ अर्ब २१ करोड रुपैयाँ र पुसमा सात खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ बराबर भएको छ । आयाततर्फ पेट्रोलियम पदार्थ, फलाम तथा स्टिलका उत्पादन, मेसिन तथा मेसिनरी पार्ट्स, विद्युतीय सामग्री, सवारी साधन र पाट्र्स, कच्चा पाम, अन्न, तयारी पोसाक, दूरसञ्चार सामग्री र सुनलगायतका सामग्री छन् । नेपालको आयात व्यापारमा प्रमुख मुलुकहरूमा भारत, चीन, संयुक्त अरब इमिरेट्स, युक्रेन, मलेसिया, अस्ट्रेलिया, अमेरिका, इन्डोनेसिया, अर्जेन्टिना, फ्रान्स, बेलायत, थाइल्याण्ड, जर्मनी र जापान छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया