Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघोटालाको छानबिन थालिएपछि ओलीको रहस्यमय बालुवाटार दौडाहा !

घोटालाको छानबिन थालिएपछि ओलीको रहस्यमय बालुवाटार दौडाहा !


काठमाडौं । अदालतले तत्कालीन नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद् पुनस्र्थापना गरेर नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेपछि नेकपा विभाजनसँगै बनेको गठबन्धनले सत्ताबाट किनारा लगाउँदै आएको नेकपा एमालेका अध्यक्ष ओली विभिन्न तस्करी र घोटालाका काण्डहरूमा सरकारले हात हाल्नेबित्तिकै अस्वाभाविकरूपमा बालुवाटार दौडाहा गर्नेगरेका छन् ।

पछिल्लो पटक सरकारले बाँसबारी जग्गा घोटालामा चौधरी ग्रुपका अरुण चौधरीलाई नियन्त्रणमा लिनेबित्तिकै एमाले अध्यक्ष ओली एउटा बहाना बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पुगेका थिए ।

ओलीले विघटन गरेको संसद् पुनस्र्थापना गरेर अदालतले देउवालाई प्रधानमन्त्री बनाएपछिको गठबन्धनसँग सामान्यतया एमाले अध्यक्ष ओलीको पानी बाराबारको अवस्था रहेको छ । तर, जब सरकारले यस्ता घोटालाहरूमाथि छानबिन अघि बढाउँछ अनि अध्यक्ष ओलीको रहस्यमय प्रचण्ड–मोह र बालुवाटार दौडाहा हुनेगरेको छ । नेकपाको सत्ता गिराएर पार्टी फुटाएपछि प्रचण्डप्रति ओलीले घृणाका शब्दवाण वर्षाउँदै आएका छन् र कांग्रेसको नेतृत्वमा सरकार हुँदा यस्ता घोटालाहरूको खासै उजागर नभएको बरु त्यस्ता घोटालाको भ्रुण विकास गरेकाले ओली आक्रामकरूपमा आफ्नो छवी बनाउँदै आएको थिए । आम निर्वाचनपछि देउवाले प्रचण्डलाई सरकार सुम्पन्न आलटाल गरेपछि लाल बिचौलियाको सहयोगमा फेरि प्रचण्ड र ओलीबीच संवाद सुरु मात्र भएको थिएन कि २०७९ पुस १० गते एमाले अध्यक्ष ओलीकै समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका थिए । पुस २२ गते छिमेकी प्रतिनिधि तरुण कपुरसँगको भेटवार्तापछि प्रचण्डले पुस २७ गते प्रचण्ड सरकारलाई विश्वासको मत दिएर ओलीसँगको सहकार्य टुटाएको थियो र त्यसपछि प्रचण्डले एमालेका मन्त्रीहरूलाई सरकारबाट हटाएर कांग्रेसलाई मन्त्रिपरिषद्मा सामेल गरेका थिए । त्यसपछि त ओली झन् फत्र्याक–फत्र्याक परेका थिए र त्यो अवस्था यद्यपि विद्यमान छ । तर पनि बेला–बेला ओलीले अस्वाभाविकरूपमा प्रचण्ड–मोह देखाएर रहस्यमय ढंगले बालुवाटार दौडाहा गर्नेगरेका छन् तर त्यसको भित्री कुरोचाहिँ अहिलेसम्म बाहिर आउन सकेको छैन ।

ओलीको प्रचण्ड–मोह र बालुवाटार दौडाहाका ठोस कारण अहिलेसम्म सार्वजनिक भएका छैनन् । त्यो दौडाहा विकास, निर्माण, जनजीविका र विद्यमान बेथिति सच्याउने सवालमा भएका पनि होइनन् । यी त फगत ओठेभक्तिमै सीमित रहँदै आएका छन् । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन सुरु गरेपछि अध्यक्ष ओलीले संसद्मा विशेष सम्बोधन गरेर सबै कुरा खोलिदिने घोषणा गरेका थिए तर उनको त्यो बहुप्रतिक्षित संसद्को विरोध घोषणा जनताका लागि कहिल्यै सुन्न नसकिने सपना बनेको छ । उनले घोषणा गरेको जेठ ५ गतेको मिति रुघा लागेकाले सरेको थियो ।

एआईजी श्याम ज्ञवालीको वैशाखीमा उनले उक्त घोषणा गरेका थिए । तर त्यो वैशाखी नै धमिराले खाएको मकैको ढोडको परेकाले उभिन नपाउँदै भाँचिएकाले बहुप्रतिक्षित सम्बोधन सपनामा मात्र सीमित बन्न पुगेको थियो । सम्बोधन तुहिएपछि उनले बालुवाटार धाउन थालेका थिए, त्यसताका ओलीले लाजमर्दो ढंगले बालुवाटार दौडाहा गरेका थिए । छानबिन बिस्तारै मत्थर हुँदै गएपछि उनको बालुवाटार दौडाहा पनि मत्थर हुँदै गएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरण मत्थर पारेर सरकारले ललिता निवास जग्गा घोटालामाथि छानबिन सुरु गरेपछि फेरि ओलीको बालुवाटार दौडाह सुरु भयो । भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङ नछुटुनजेलसम्म उनको दौडाहा जारी रहेको थियो । मिनबहादुरलाई चलाउँदा ओलीलाई दुख्छ भन्ने प्रचण्डलाई राम्ररी थाहा थियो । जब कि मिनबहादुरसँग ओलीको भन्दा प्रचण्डको आफ्नै कारोबार बढी रहेको चर्चा चल्दै आएको छ । तर पनि ललिता निवास प्रकरणमा मिनबहादुर नै प्रमुख जग्गा खरिदकर्ता भएको र उनीसँग एमालेका विष्णु पौडेललगायत थुपै्र नेता–कार्यकता र शुभचिन्तक जोडिएकाले प्रचण्डले सबैभन्दा पछि अरुलाई पक्राउ गर्न निर्देशन गरिसकेपछि अन्तिममा मिनबहादुर गुरुङलाई पनि पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए । एउटै तिरले दुई निशाना दागेका थिए । त्यसो गर्दा ओली पनि बालुवाटार धाउन बाध्य भएका थिए, मिनवहादुरसँग पनि हिसाबकिताब सुरु भएको थियो । विनानिष्कर्ष लेनदेनमै यो काण्ड पनि फासफुस भएको थियो ।

ललिता निवासपछि ‘ब्रेक सु’ सुनकाण्ड आयो । त्यसमा पनि ओलीको पहिलेजस्तै बालुवाटार दौडाहा सुरु भयो । ‘ब्रेक सु’ सुनकाण्डसँगै इलेक्ट्रिक चुरोट भेप सुनकाण्ड, ज्याकेट सुनकाण्डलगायतका सुनकाण्ड सिलसिलेवररूपमा सार्वजनिक भए र त्यतिबेला पनि ओलीको अस्वाभाविक बालुवाटार दौडाहा र प्रचण्ड–मोह निकै बढेको थियो । ती सबै सुनकाण्ड अहिले बिस्तारै सामसुम हुँदै गएका छन् र पछिल्लो पटक बाँसबारी जग्गा घोटालामा सरकारले हात हालेको छ । सरकारले त्यसमा हात हालेर चौधरी गु्रपका अरुण धौधरीलाई पक्राउ गर्नेबित्तिकै अध्यक्ष ओलीले प्रचण्ड–मोह देखाएर बालुवाटार दौडाहा सुरु गरेका छन् । राजनीतिकरूपमा पानी बाराबारको अवस्था रहेको र आफैँले घृणित पात्रका रूपमा चित्रित गर्दै आएको व्यक्तिप्रति यसरी अस्वाभाविकरूपमा प्रेमभाव जाग्नु र उनलाई भेट्न बालुवाटार दौडाहा सुरु गर्नुले प्रचण्डले कारबाहीको हात हालेका काण्डमा कतै ओलीको साँठगाँठ र संलग्नता त छैन ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया