Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघटेन वैदेशिक रोजगारीमा नेपालीको मृत्यु

घटेन वैदेशिक रोजगारीमा नेपालीको मृत्यु


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीलाई सम्पूर्ण तवरले व्यवस्थित बनाउने बताए पनि त्यसको कार्यान्वयनमा चुकेको छ । वैदेशिक रोजागारीमा ठगी, मानव बेचविखन र मृत्युलगायतका समस्या यथावत् छन् । चालू आर्थिक वर्षको छ महिनामा (साउनदेखि पुससम्म) वैदेशिक रोजगारीको क्रममा छ सय ५६ जनाको ज्यान गएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार दैनिक औसत चार जना युवाले ज्यान गुमाउने गरेका छन् । वैदेशिक रोजगारीमा मृत्यु हुनुको मुख्य कारण कार्यस्थल दुर्घटना र सडक दुर्घटना मानिन्छ । यसबाहेक विभिन्न रोग, स्वास्थ्य समस्यालगायत कारण पनि युवाहरूले ज्यान गुमाउने गरेका छन् । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा गएका युवाहरूमध्ये तीन सय सात जना अंगभंग तथा बिरामी भएका छन् । यो संख्या गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा बढेको छ । गत आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म एक सय १५ जना युवा बिरामी तथा अंगभंग भएका थिए ।

मन्त्रालयले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न भन्दै अनिवार्य अभिमुखीकरण प्रदान गर्ने, स्वायत्त तालिम प्रतिष्ठान निर्माण गर्ने, दक्ष तथा सीपयुक्त नागरिकलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने लक्ष्य लिएको छ । तर, वैदेशिक रोजगारीका लागि डरलाग्दो ग्राफ बन्दै आएको मृत्यु रोक्ने विषयमा मन्त्रालयले कुनै प्रक्रिया अघि बढाएको छैन । एम्नेस्टी इन्टरनेसनल, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), मानव अधिकार आयोगलगायतका संस्थाहरूले नेपालीको लागि वैदेशिक रोजगारी असुरक्षित भएको भन्दै प्रतिवेदन सार्वजनिक गरेको अवस्थामा समेत सरकारी निकाय तथा श्रम मन्त्रालयबाट त्यसलाई रोक्न तथा क्षति कम गर्नका लागि ठोस कदम अघि बढाएको पाइँदैन । जसले गर्दा हरेक महिना वैदेशिक रोजगारीको क्रममा नेपाली युवाहरूले ज्यान गुमाउनु परेको छ ।

अर्कोतर्फ खाडी मुलुकबाट शव झिकाउन समेत समस्या हुनेगरेको पाइन्छ । कानुनी जटिलताले गर्दा साउदी अरेबियाबाट शव ल्याउन समय लाग्ने गरेको छ । वैदेशिक रोजगारीको क्रममा हुने मृत्युलाई रोक्न सरकार असफल भएको जानकारहरूले बताउँदै आएका छन् । नेपालको हकमा वैदेशिक रोजगारी मृत्यु एउटा जटिल समस्या हो यसलाई सरकारले छिटोभन्दा छिटो रोक्नु आवश्यक छ ।

सरकारी तथ्यांकअनुसार पछिल्लो १० वर्षमा सात हजार पाँच सय छ जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् । उक्त संख्यामा ज्यान गुमाउनेहरूमध्ये सबैभन्दा बढी मलेसिया र त्यसपछि खाडीका छवटा राष्ट्रहरू छन् । बोर्डका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीको क्रममा एक हजार दुई सय आठ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा एक हजार चार सय ७९ जना, आर्थिक वर्ष २०७७/७८ मा एक हजार ७३ जना, आर्थिक वर्ष २०७६/७७ मा छ सय ७१ र २०७५/७६ मा सात सय ६३ जनाले वैदेशिक रोजगारीको क्रममा विदेश तथा स्वदेशमा ज्यान गुमाएका सरकारी तथ्यांक छ  ।

वैदेशिक रोजगारीको क्रममा युवाहरू मृत्युको सिकार हुँदा त्यसले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिकलगायतका क्षेत्रमा असर पर्ने जानकारहरू बताउँछन् । जसले गर्दा यसलाई नियन्त्रण गर्नु अहिलेको आवश्यकता रहेको छ । मुलुकमा पर्याप्त रोजगारी नहुँदा युवाहरू विदेश जान बाध्य छन् । तर, सरकारले स्वरोजगार हुने र मुलुकभित्र युवा जनशक्तिलाई राख्ने उद्देश्यले दिशानिर्देशित कार्यक्रमहरू सञ्चालन गरेको पाइँदैन ।

अहिले पनि गन्तव्य मुलुकको रूपमा पहिचान भएका मलेसिया र खाडीका छवटा राष्ट्रहरू नेपाली युवाहरूको लागि असुरक्षित बन्दै आएको छ । त्यस्तै खाडी राष्ट्र कतारले त नेपाली युवाहरूको जीवन बचाउन सक्नेमा त्यसलाई नरोकेको समेत एम्नेस्टी इन्टरनेसनलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । ‘सन् २००९–२०१७ को अवधिमा भएको पाँच सय ७१ जना नेपाली आप्रवासी श्रमिकहरूकोे मुटुको समस्याको कारणले भएका मृत्युहरूमध्ये दुई सय जना जतिको मृत्युलाई रोक्न सकिन्थ्यो’, एम्नेस्टीको प्रतिवेदनमा भनिएको छ । त्यसतर्फ मन्त्रालयले ध्यान दिन सकेको छैन ।

बोर्डले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाए उक्त परिवारका सदस्यलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ । सोही क्रममा समीक्षा अवधिमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारका सदस्यलाई ३७ करोड पाँच लाख रुपैयाँ आर्थिक सहयाता वितरण गरेको बोर्डले जानकारी दिएको छ । विदेशमा मृत्यु भएको हकमा भने थप ५० हजार रुपैयाँ सान्त्वनासहित प्रदान गरिएको छ । चालू आर्थिक वर्ष पुस मसान्तसम्म कल्याणकारी शीर्षकमा ५० करोड पाँच लाख ९८ हजार रुपैयाँ बोर्डले खर्च गरेको छ । बोर्डले कल्याणकारी कार्य अर्थात् आफ्नो अनिवार्य दायित्वअनुरूप आर्थिक सहयोगलाई निरन्तरता दिने क्रममा बोर्डले मृत्युपछिको आर्थिक सहयाता वितरणका साथै वैदेशिक रोजगारीको क्रममा अंगभंग वा गम्भीर बिरामीलाई आर्थिक सहयाता वितरण, परिवारका सदस्यलाई स्वास्थ्य उपचार खर्च छात्रवृत्ति सहायता, शव ढुवानी तथा व्यवस्थापन उद्धार तथा खोजतलास, शव झिकाउन र अभिमुखीकरण तालिम सञ्चालन गर्नेगरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया