Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभ्रष्टाचारमा संलग्न जोसुकै व्यक्तिलाई कारबाही गर्नैपर्छ: महामन्त्री थापा

भ्रष्टाचारमा संलग्न जोसुकै व्यक्तिलाई कारबाही गर्नैपर्छ: महामन्त्री थापा


काठमाडौँ । मुलुकमा सुशासन कायम गर्न सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै व्यक्ति भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सुशासनको प्रत्याभूति नागरिकले बोलेर मात्रै महसुस नगर्ने भन्दै यसका लागि सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले संविधान कार्यान्वयनसँग जोडिएका कानुन बनाउन, अर्थतन्त्र चलायमान बनाउन, सङ्घीयता कार्यान्वयन गर्नेलगायत विषयमा सरकारले पनि प्रयत्न अघि बढाएको बताए । अब आरोप प्रत्यारोपभन्दा सकारात्मक रुपमा काम गर्न सबैलाई आग्रह गर्दै थापाले आफ्नो पार्टीले पनि यस पटक थप जिम्मेवारीपूर्वक प्रस्तुत हुने सङ्कल्प गरेको अवगत गराए ।

उनले मुलुकमा दक्ष जनशक्ति उत्पादनका लागि शिक्षामा आमूल परिवर्तनको खाँचो औँल्याउँदै मुलुकको शिक्षा क्षेत्रमा आमूल सुधार गरी व्यवहारिक बनाउन सकेमा केही हदसम्म अध्ययनका लागि विदेश जाने विद्यार्थी रोकिन सक्ने धारणा व्यक्त गरे । थापाले स्वास्थ्य सेवालाई पनि गुणस्तरीय र सुलभ बनाएर आमजनतामा सेवा पुर्याउन सरकारको ध्यानाकर्षण गराए ।

सरकार वा सम्बन्धित निकायले निर्देशन दिएर मात्र जनताका समस्या समाधान नहुने तर्क गर्दै महामन्त्री थापाले यसका लागि अतिरिक्त कार्य गर्नुपर्नेमा जोड दिए । काम गर्ने तरिका नबदली परिणाम फरक नआउने उनको भनाइ थियो ।

अर्थतन्त्रमा सुधारका लागि संरचनागत सुधार आवश्यक रहेकामा जोड दिँदै उनले त्यसका लागि सर्वप्रथम जनतामा आत्मविश्वास जगाउने गरी सरकारले काम गर्नुपर्ने धारणा राखे । उनले मुलुकमा विप्रेषण भित्र्याउने युवाका कारण नै आज अर्थतन्त्र जोगिएको उल्लेख गर्दै आन्तरिक अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन पुँजीगत खर्च बढाउन सुझाव दिए ।

उनले रुसी सेनामा काम गर्न गएका युवाको उद्धारका लागि सरकारले थप पहल गर्नुपर्ने धारणा राखे । विभिन्न प्रलोभन दिएर रुसमा युवा लैजाने गिरोहलाई पनि कारबारी गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया