Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन क्षेत्रका उद्योगमा विदेशी लगानी ल्याउँदा राष्ट्र बैंकको स्वीकृति नचाहिने

तीन क्षेत्रका उद्योगमा विदेशी लगानी ल्याउँदा राष्ट्र बैंकको स्वीकृति नचाहिने


विराटनगर । विभिन्न तीन क्षेत्रका उद्योगमा सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने भएको छ । नेपाली उद्योगमा कायम रहेका नेपाली सेयरधनीहरूको सेयरधारण अनुपात नघट्ने गरी ल्याइएको विदेशी लगानी, धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूमा हुने विदेशी लगानी र औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योगका लागि ल्याइने विदेशी लगानीका लागि केन्द्रीय बैंकसँग स्वीकृति लिन आवश्यक नपर्ने भएको हो ।

राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा संशोधन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले तोकिएको प्रक्रिया पुर्याई सम्बन्धित कम्पनी वा उद्योगको खातामा विदेशी लगानीबापतको रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ ।

यस्तै, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली, २०७९ बमोजिम तोकिएको अवधिभित्र विदेशी लगानी भित्र्याउन नसकेमा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट अवधि थप गरिएको स्वीकृति समेत पेस गर्नुपर्नेछ ।

यदि विनिमय दरको कारण स्वीकृत विदेशी लगानी रकमभन्दा बढी भित्रिएको छ भने रकम फिर्ता पठाउन अनिवार्य नहुने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ । यस्तो बढी भित्रिएको रकम समेतलाई खाम्नेगरी विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त भएपछि लेखांकनसम्बन्धी अन्य व्यवस्थाहरूको पालना हुनेगरी विदेशी लगानीको रूपमा लेखांकन गर्न सकिनेछ ।

स्वीकृत विदेशी लगानीको रकमभन्दा बढी रकम समेत विदेशी लगानीको रूपमा भित्रिन सक्नेछ । यस्तो बढी भित्रिएको रकमलाई खाम्नेगरी विदेशी लगानी स्वीकृत गर्ने निकायबाट विदेशी लगानीको समर्थन–स्वीकृति प्रदान भएमा वा यस्तो बढी भित्रिएको मितिपछि रकम र मिति समेत उल्लेख भएको विदेशी लगानीको स्वीकृति प्रदान भएमा लेखांकनसम्बन्धी अन्य व्यवस्थाहरू पालना हुनेगरी विदेशी लगानीको रूपमा लेखांकन गर्न सकिनेछ ।

विदेशी लगानी भित्र्याउने उद्योग र विदेशी ऋण लिने ऋणीले राष्ट्र बैंकले माग गरेबमोजिम विवरण पेस भने गर्नुपर्नेछ ।

यसैगरी वाणिज्य बैंकहरूले स्वदेशमा कर्जा प्रवाह गर्ने वा प्रवाह भइसकेको कर्जा सुरक्षण गर्ने प्रयोजनको लागि विदेशी बैंक तथा वित्तीय संस्थाका साथै विदेशी नियामक निकायबाट स्वीकृतिप्राप्त विदेशी पेन्सन फण्ड, सरकारी/अन्तरसरकारी स्वामित्वको डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसनलगायतका कर्जा प्रवाह गर्ने संस्थाबाट जारी भएको वित्तीय जमानत आफैँले स्वीकार गर्नसक्ने व्यवस्था पनि गरेको छ । तर, यसरी जमानत स्वीकार गर्दा नेपालबाट कुनै पनि कमिसन, शुल्क वा लागत तिर्नुपर्ने भएमा सोको स्वीकृति नेपाल राष्ट्र बैंकबाट लिनुपर्नेछ र त्यस्तो कमिसन शुल्क वा लागत तोकिएको सीमाभित्र हुनुपर्नेछ । यस्तो कमिसन, शुल्क वा लागत प्रतिवर्ष एक दशमलव पाँच प्रतिशतभित्र रहनुपर्ने व्यवस्था गरेको छ । विदेशी लगानी भएका वाणिज्य बैंकले भने आफ्नो विदेशी लगानीकर्ता बैंक तथा वित्तीय संस्थाबाट जारी भएकोे बैंक/वित्तीय जमानत यस्तो प्रयोजनको लागि स्वीकार गर्न सक्ने छैनन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

ताजा अपडेट