Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१४ करोड रुपैयाँ ठगीसहित तीन हजार बढी उजुरी

१४ करोड रुपैयाँ ठगीसहित तीन हजार बढी उजुरी


काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक कमाइ हुने प्रलोभनमा पारी एक समूहले ५५ जनालाई ठगी गरेको छ । सर्लाही हरिवन नगरपालिका–३ का सरोज यादव, नागेन्द्र यादव भनिने रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका–२ का सरोज यादव बताउने राम सेवक सिंहको समूहले विदेशमा आकर्षक कमाइ हुने काममा पठाउने भन्दै ठगी गरेका छन् । ललितपुर नख्खु बस्दै आएका ३० वर्षीय सरोज, ३५ वर्षीय यादव र २७ वर्षीय सिंहले ५५ जनासँग प्रतिव्यक्ति ४० हजार रूपैयाँदेखि सात लाख रूपैयाँसम्म लिई तीन करोड रूपैयाँ ठगी गरेका थिए ।

ठगी गरेको भन्दै युवाहरूले उनीहरूविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । उजुरी परेसँगै प्रहरीले उनीहरूलाई खोजी गरी यसै केही दिनअघि पक्राउ गरेको थियो । उनीहरूमाथि ठगी, कीर्ते, जालसाजी, बैंकिङ कसुरलगायतका मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु राखिएको प्रहरीले जनाएको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले वैदेशिक रोजगारीमा प्रलोभन देखिई ठगी गर्ने क्रम नरोकिएको बताएका छन् । विभागसमक्ष व्यक्तिगत र संस्थागत उजुरी दैनिक दर्जनभन्दा बढी आउने गरेको उनले बताए । चालू आर्थिक वर्षको छ महिना (साउनदेखि पुस)सम्म ठगी सम्बन्धमा तीन हजार चार सय ९५ वटा उजुरी परेको विभागले जनाएको छ । जसमा क्षतिपूर्ति रकम १३ करोड ८४ लाख ४५ हजार रुपैयाँ माग गरिएको छ ।

आएका उजुरीमध्ये एक हजार पाँच सय ६० वटाको फछ्र्यौट भइसकेको छ । यो अवधिमा विभागको उद्धार राहत तथा समन्वय शाखामा मात्रै छ सय ९० वटा उजुरी परेको थियो भने एक करोड ३९ लाख ४६ हजार रुपैयाँ क्षतिपूर्ति माग गरिएको थियो । जसमध्ये ४५ वटा उजुरीमा कारबाही भइसकेको छ । एक सय ७२ वटा क्षतिपूर्तिसहितको उजुरीमा ७९ वटा उजुरी आपसी सहमतिमा मिलापत्र गरिएको र ६५ वटा उजुरी फिर्ता गरिएको छ ।

समीक्षा अवधिमा विभागको मुद्दा तथा अनुसन्धान शाखामा एक हजार एक सय ३० वटा उजुरी परेकोमा ११ करोड दुई लाख ८९ हजार छ सय रुपैयाँ क्षतिपूर्तिबापत माग गरिएको छ । जसमा एक सय ९१ वटा उजुरी मिलापत्र गरिएको छ भने ८४ वटा मुद्दा अदालतमा दायर गरिएको छ । त्यस्तै प्रहरी शाखामा एक हजार छ सय ७५ वटा उजुरी दर्ता गरिएको छ । जसमा ६५ वटा मिलापत्र, आठ सय ५८ वटा फछ्र्यौट गरिएको छ । त्यस्तै एक करोड ४२ लाख नौ हजार चार सय रुपैयाँ पीडकबाट असुल गरिएको छ ।

तीन लाखभन्दा बढी युवाहरूले छ महिनाको अवधिमा श्रम स्वीकृति लिएकोमा ठगीमा पर्नेमा २० प्रतिशतभन्दा बढिरहेको विभागका अधिकारीहरू बताउँछन् । सरकारले एजेन्ट खारेज गरे पनि व्यक्तिबाट अर्थात् एजेन्टबाट ठगिने युवाहरूको संख्या बढ्दै गएको छ । विभागले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा ठगीले निरन्तरता पाएको देखिन्छ ।

पछिल्लो सयम मलेसिया र खाडी मुलुक असुरक्षित भएपछि युरोप पठाउने नाममा ठगी बढेको विभागका अधिकारीहरू बताउँछन् । युरोप र विकसित मुलुक जापानलगायतका मुलुक पठाउने भन्दै युवाहरूलाई ठगी गर्ने क्रममा वृद्धि भएको छ । मुलुकमा पर्याप्त रोजगारी नहुनु र युरोप र जापानलगायत विकसित मुलुक जान पाउने आशामा युवाहरू ठगिने क्रम बढेको देखिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

ताजा अपडेट