Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैज्ञानिक खोज र अनुसन्धानमा महिलाको पहुँच न्यून

वैज्ञानिक खोज र अनुसन्धानमा महिलाको पहुँच न्यून


काठमाडौं । विज्ञान प्रविधिको क्षेत्रमा महिलाहरूको पहुँच निकै कम देखिएको छ । ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’को अवसरमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रका महिला अनुसन्धानकर्ताहरूले नेपालमा हुने वैज्ञानिक खोज र अनुसन्धानमा महिलाहरूको सहभागिता करिब आठ प्रतिशत रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

विश्वभर वैज्ञानिक खोज, अनुसन्धान गर्ने व्यक्तिहरूको सूचीमा महिलाको सहभागिता ३० प्रतिशतभन्दा कम छ । यो आँकडाले खोज, अनुसन्धानमा महिला पछाडि परेको देखाउँछ । महिला सशक्तीकरण र महिला सहभागिताको बारेमा थुप्रै बहस भए पनि वैज्ञानिक खोजको क्षेत्रमा महिला पछाडि नै रहेको पाइन्छ । कार्यक्रममा अनुसन्धानकर्ताहरूले विज्ञानमा महिलाको समान पहुँच र सहभागिता नभएसम्म महिला–पुरुषबीचको असमानताको अन्तर घटाउन नसकिने बताए ।

शिक्षामा स्नातक तहसम्म पुरुष र महिलाको सहभागिता बराबर हुने भए पनि स्नातकोत्तरभन्दा माथि निकै कम हुने गरेको छ । कानुनी र व्यावहारिक कठिनाइका कारण क्षमता भएका महिलाहरू पनि वैज्ञानिक खोज र अनुसन्धानमा अगाडि बढ्न सकेका छैनन् ।

कार्यक्रममा वुमेन एन्ड म्याथमेटिकल सोसाइटीका अध्यक्ष प्राध्यापक धनकुमारी थापाले खोज अनुसन्धानमा महिला सहभागिता बढाउन तल्लो तहदेखि नै काम गर्नुपर्नेमा जोड दिइन् । नेपाल जर्मन एकेमेडिक एसोसिएसनका अध्यक्ष डा रामप्रसाद धितालले नेतृत्व तहमा महिला सहभागिताका लागि दाबी नै कम हुने गरेको बताए ।

सेन्टर फर नेचुरल एण्ड अप्लाइड साइन्सकी निर्देशक डा बबिता पौडेलले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रको अनुसन्धानमा विश्वभर नै महिला सहभागिता न्यून रहेको बताइन् । तर कतिपय देशले महत्वका साथ महिला अनुसन्धानकर्तालाई अगाडि बढाइरहेकामा नेपालमा कानुनी र व्यावहारिक कठिनाई रहेको बताइन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा पौडेलले कतिपय अनुसन्धानमा पुरुषको बाहुल्यता बढी भएका कारण महिलालाई ध्यानमा राखेर अनुसन्धान हुन नसकेको बताइन् ।

महिला अनुसन्धानकर्ताहरूले कानुन निर्माणमा केही महत्व दिए पनि पर्याप्त नभएको बताएका छन् । महिलासँग सम्बन्धित कानुन निर्माण गर्दा महिलाको सहभागिता ५० प्रतिशतभन्दा बढी भए मात्रै महिलालाई अगाडि बढ्न सहज हुने किसिमको कानुन बन्न सक्नेमा वक्ताहरूले जोड दिए ।

कार्यक्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा संगिता सिंहले महिलालाई दिइने भूमिका नै कमजोर हुने गरेको बताइन् । महिला राख्नपर्छ मात्रै भनेर सहभागिता गराइने गरेको बताइन् । इन्जिनियर सुनिरा रेग्मीले एरोस्पेस इन्जिनियरिङ क्षेत्रमा महिला सहभागिता निकै कम भएको र समाजले पनि यो काम महिलाले गर्न नसक्ने भन्ने किसिमले हेर्ने गरेको बताइन् । हर्ब प्रोडक्सन एन्ड प्रोसेसिङ कम्पनीकी सहायक प्रबन्धक निलम पाण्डेले हरेक क्षेत्रमा महिला सहभागिता बढाउनुपर्ने बताइन् । युनेस्कोको नेसनल साइन्स अफिसर सिजल पोखरेलले सहजीकरण गरेको प्यानल छलफलमा सहभागीहरूले सरकारको ध्यान विज्ञान क्षेत्रमा महिला सहभागिता बढाउने कुरामा नभएको बताए ।

कार्यक्रममा सूचना प्रविधि विज्ञ एवम् इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन प्राध्यापक तिमिला यमी थापाले आफूले इन्जिनियरिङ पढ्दा नेपाली महिलाको उच्च शिक्षामा निकै कमजोर स्थिति रहेको स्मरण गर्दै अहिले सुधार भएको बताइन् । यस्तै गणितिज्ञ प्राध्यापक कविता लुइटेलले घरपरिवारको जिम्मेवारी सम्हाल्दै गणित विषयमा विज्ञता हासिल गर्नु चुनौती रहेको बताइन् ।

संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष ११ फेब्रुअरीका दिन ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’ मनाउने गरेको छ । नेपालमा पनि महिला अनुसन्धानकर्ताहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । ‘सेन्टर फर नेचुरल एन्ड अप्लाइड साइन्स’ र ‘वुमन अफ नेपाल इन म्याथमेटिकल साइन्स’द्वारा ‘नेपाल जर्मन एकेडेमिक एसोसिएसन वुमन इन स्टिम क्लब’ र ‘पुल्चोक इन्जिनियरिङ क्याम्पस’सँगको सहकार्यमा ललितपुरको पुल्चोक क्याम्पसमा कार्यक्रम आयोजना गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया