Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : नीतिगत दरहरू यथावत्

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : नीतिगत दरहरू यथावत्


नेपाल राष्ट्र बैंकले पुँजी कोषको दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाप्रति केही नरम बन्दै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । केन्द्रीय बैंकले ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’को दायरा बढाएको छ । कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको दुई करोड रुपैयाँसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’मा गणना गर्न पाउने व्यवस्था गर्ने भएको छ । यसअघि यी क्षेत्रमा एक करोड रुपैयाँसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल फोर्टफोलियो’मा गणना गर्न पाउने व्यवस्था थियो । ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’मा पर्ने कर्जाको जोखिमभार ७५ प्रतिशत मात्रै हुने व्यवस्था छ । त्यसैले यस्तो कर्जाको दायरा बढाउँदा पुँजीकोष दबाबमा रहेका बैंक तथा वित्तीय संस्थालाई राहत हुन्छ । अर्थात् पुँजी कोष अभावले ऋण दिन गाह्रो परेका बैंकहरूलाई सहज हुनेछ । बैंकहरू कृषि, साना, घरेलु तथा मझौला उद्यम क्षेत्रमा कर्जा विस्तार गर्न आकर्षित हुनेछन् ।यस्तै राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाइदिएको छ ।

यसअघि संस्थागत मुद्दतीको ब्याजदर व्यक्तिगत मुद्दतीमा भन्दा दुई प्रतिशत विन्दु कम तोक्नुपर्ने व्यवस्था थियो । सोमबारको मौद्रिक समीक्षापछि अब बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिएको ब्याजदरभन्दा एक प्रतिशत कम विन्दुमा रहेर ब्याजदर निर्धारण गर्न पाउनेछन् । मौद्रिक समीक्षामा नीतिगत दरहरूमा भने कुनै हेरफेर गरिएको छैन । मौद्रिक नीति समीक्षामा भनिएको छ, ‘आन्तरिक एवं बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरूलाई दृष्टिगत गरी ब्याजदर करिडोरअन्तर्गतका दरहरूलाई यथावत् राखिएको छ ।’ केन्द्रीय बैंकले अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई पनि यथावत् राखेको छ । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने भएको छ । यो भनेको राष्ट्र बैंकले बैंकहरूसँग बढी भएको निक्षेप किन्नेछ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा नै स्थायी तरलता सुविधा कार्यान्वयनमा ल्याउने जनाए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन ।

केन्द्रीय बैंकले उल्लेख्य शोधनान्तर बचत भए पनि कर्जा प्रवाह शिथिल रहँदा मौद्रिक तरलता बढेको स्वीकार गरेको छ । बैंकिङ प्रणालीमा तरलता स्थिति सहज भएको र अल्पकालीन एवं दीर्घकालीन ब्याजदरहरू घटेको उल्लेख गरेको छ । २०७९ पुसमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १० दशमलव ८९ प्रतिशत रहेकोमा २०८० पुसमा तीन दशमलव ३७ प्रतिशतमा झरेको छ । त्यसैगरी, २०८० पुसमा वाणिज्य बैंकहरूको औसत आधार दर नौ दशमलव ३५ प्रतिशत छ, जुन अघिल्लो वर्षको पुसमा १० दशमलव ९१ प्रतिशत थियो । मौद्रिक नीतिको लचिलो कार्यदिशा, सहज तरलता स्थिति र न्यून ब्याजदरको विद्यमान अवस्थालाई अवसरको रूपमा सदुपयोग गर्न आन्तरिक उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा बढी योगदान गर्ने क्षेत्रहरूतर्फ कर्जा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने देखिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया