Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछ महिनाको अवधिमा मानव बेचबिखन मुद्दामा ८९ व्यक्ति पक्राउ

छ महिनाको अवधिमा मानव बेचबिखन मुद्दामा ८९ व्यक्ति पक्राउ


काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधिमा नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।

सम्बन्धित अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममुखी बनाउन ब्युरोले सक्रिय एवं प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराध नियन्त्रण गर्न नेपाल प्रहरीमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले विशिष्टिकृत एकाइका रुपमा काम गर्दै आएको छ ।

सो अवधिमा देशभरबाट दुई सय ३६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एक सय ५० महिला, २६ पुरुष र ६० बालिका रहेका छन् । सो अवधिमा एक सय ४९ व्यक्तिलाई अभियोग लागेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले वैदेशिक रोजगारका लागि नेपालबाट ठूलो सङ्ख्यामा भारत, मलेसिया, कतार, साउदी अरब, लिबिया, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स, अमेरिका तथा विभिन्न युरोपेली र अफ्रिकन देशलगायत अन्य विभिन्न मुलुकमा नेपाली काम गर्ने वा अवैधानिक बसोबासको प्रलोभनमा परी बेचबिखनमा पर्ने गरेको जानकारी दिए

प्रवक्ता ढकालले अनुसन्धानलाई अझै प्रभावकारी बनाउन विद्यमान मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा समयसापेक्ष परिमार्जनको आवश्यकता महसुस गर्दै परिमार्जनका लागि पहल भइरहेको पनि बताए ।

प्रहरी प्रधान कार्यालयले २०७५ सालमा मानव बेचबिखन अनुसन्धान ब्युरोको स्थापना भएको र ब्युरो स्थापनापछि हालसम्म जम्मा एक हजार एक सय १८ जना पक्राउ परेका जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सात सय ८३ जना पुरुष र तीन सय ३५ महिला छन् । सो अवधिमा एक हजार नौ सय १९ जनालाई अभियोग लागेको छ भने जम्मा आठ सय ९२ मुद्दा दर्ता भएका छन् ।

समस्या सहजीकरण, समन्वय तथा सहकार्य, जनचेतना एवं सशक्तीकरणका कार्यक्रम सञ्चालन, दक्ष जनशक्ति तथा प्रविधिको विकासलगायत काम गर्ने गरेको ब्युरोका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

देशभित्र आन्तरिकरुपमा हुने मानव बेचबिखन तथा ओसारपसार र अन्तरदेशीयरुपमा हुने त्यस्ता घटनाको प्रभावकारी अनुसन्धान गर्दै संलग्न व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याइएको प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए । प्रचलित नेपालको कानुनको अधिनमा रही ब्युरोले सक्रियरुपमा काम गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया