Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआतङ्कवादका द्वन्द्वका कारण शान्ति सैनिकले खतराको सामना गर्नुपरेको छ : प्रधानमन्त्री

आतङ्कवादका द्वन्द्वका कारण शान्ति सैनिकले खतराको सामना गर्नुपरेको छ : प्रधानमन्त्री


काठमाडौँ । ‘चौथो शान्ति प्रयास’ अभ्यासको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नुपरेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले शान्ति स्थापनाकार्य जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गर्दै उनले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताए । उनले बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषयमा हामीहरू सचेत हुनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले शान्ति स्थापनाको महत्वलाई अतिरञ्जित गर्न नहुने बताउँदै त्यसका लागि मानवताको गहिरो भावना र प्रतिबद्धतालाई जोगाउन हस्तक्षेपको तत्परता आवश्यक पर्ने बताए । उनले खतराको ठूलो सामना गरेर शान्ति सैनिकले मानवताको गहिरो भावना र प्रतिबद्धतालाई मूर्तरूप दिइरहेको उल्लेख गरे ।

उनले कठिन चुनौतीको सामना गर्दै वीरता र करुणका साथ सेवा जारी राख्ने शान्ति सैनिकहरूको प्रशंसा गरे । “यस अवसरमा म विश्वभर शान्तिको खोजीमा बलिदान दिने बहादुर शान्ति सैनिकहरूप्रति सम्मान एवं श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु”, प्रधानमन्त्री दाहालले भने ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि निरन्तर र जोडदाररूपमा वकालत गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालको प्रतिबद्धता विश्वमा शान्ति र सद्भावको चाहनामा निहित छ ।”

प्रधानमन्त्री दाहालले विश्वमा शान्ति स्थापना नेपालको विदेशनीतिको महत्त्वपूर्ण अङ्ग रहेको बताउँदै यस कार्यको विश्वले प्रशंसा गरेको पनि स्मरण गरे । उनले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको स्पष्ट पारे ।

नेपालले हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने गरेको र थप १० हजारसम्म तालिमप्राप्त सेना परिचालन गर्ने वाचा गरेको तथ्यलाई जोड दिएकोप्रति गर्व महसुस भएको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया