Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनसेलको भ्रष्टाचार मिलाउन सरकारको योजना कार्यान्वयन सुरु

एनसेलको भ्रष्टाचार मिलाउन सरकारको योजना कार्यान्वयन सुरु


सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माको प्रस्तावमा सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा एनसेलका पूर्वकर्मचारी भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । भण्डारी मन्त्री शर्माकै गृहजिल्ला दाङका हुन् । उनले सञ्चार मन्त्री शर्मासँग शपथ लिएर जमलस्थित प्राधिकरणमा पुगेर कार्यभार सम्हालिसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जोडिएको एनसेल खरिदबिक्री प्रकरण मिलाउन सञ्चार मन्त्री शर्मामार्फत भण्डारीलाई प्राधिकरणमा नियुक्ति गरिएको बताइएको छ । तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारले २०५० सालमा घटाएको भन्दा चार सय ८० गुणा ठूलो एनसेल काण्डको भ्रष्टाचार प्रकरण मिलाउने प्रपञ्चका लागि प्रधानमन्त्री प्रचण्डले सञ्चार मन्त्री शर्मालाई प्रयोग गरेका हुन् । त्यसैको कार्यान्वयन स्वरूप भण्डारीलाई प्राधिकरणमा नियुक्त गरिएको हो । दूरसञ्चार प्राधिकरणको अध्यक्ष हुनुअघि भण्डारी सञ्चार मन्त्री शर्माकै सूचना प्रविधि सल्लाहकार भएर काम गरिरहेका थिए । पछिल्लो समय एनसेललाई सूचना दिने व्यक्तिका रूपमा काम गर्दै आएका भण्डारी २०६४ सालमा तत्कालीन मेरो मोबाइलका नायब प्रमुख वित्त अधिकृत थिए । पछिल्लो समय उपेन्द्र महतो र मलेसियास्थित एक्जिटाको सम्बन्ध रहेको बुरुण्डीमा स्मार्ट बुरुण्डी नामक टेलिकम कम्पनीमा सात वर्ष सीईओका रूपमा समेत काम गरेका भण्डारी पछिल्लो समय विगत पाँच वर्षभन्दा लामो समयदेखि एनसेलमा भित्रीरूपमा काम गर्दै आएका थिए ।

पछिल्लो समय भण्डारी एनसेलको लाइसेन्सको अवधि थप गर्न स्मार्टको २६ अर्ब राजस्व बक्यौता हिसाब मिलाउन सञ्चार मन्त्री शर्माको सल्लाहकारको रूपमा कार्यरत थिए । विवादित भण्डारी प्राधिकरणको अध्यक्षमा नियुक्त भएपछि अब एनसेलको करछलीको छानबिन र एक्जियटाले सेयर बिक्री गरेको काण्डको कर छली ढिसमिस हुने सम्भावना बढेको छ । स्मार्ट सेलको सम्पत्ति व्यवस्थापन र तिर्नुपर्ने अर्बौँ रुपैयाँ कर ढिसमिस बनाउन सतिशलाल आचार्यसँगको ‘सेटिङ’ भण्डारीलाई दूरसञ्चार प्राधिकरणको जिम्मा दिइएको देखिएको छ ।सरकारले प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेका भण्डारी विवादित र नेपाल सरकारलाई अर्बौँ रुपैयाँ सेयर खरिदबिक्रीबापतको करछलीमा संलग्न एनसेलको पूर्वकर्मचारी भएको तथ्य खुलेसँगै उक्त नियुक्ति एनसेलको प्रकरणलाई मिलाउन गरिएकोमा कुनै शंका छैन । उनी २०६४ सालमा तत्कालीन मेरो मोबाइलको नाममा सञ्चालित हुँदा स्पाइस नेपाल प्रालिको वित्तप्रमुखको जिम्मेवारी लिएर तलब खाएको तथ्य खुलेको छ । उतिबेला अजेय सुमार्गी, उपेन्द्र महतो समेतको लगानीमा सञ्चालित स्पाइस नेपाल प्रालिका नायब लेखाप्रमुख रहेका भण्डारीलाई अहिले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरिएको हो । स्पाइस नेपाल प्रालिबाट एनसेल हुने बेला भएको सेयर खरिदबिक्रीबापतको पुँजीगत लाभकरबापत अजेयराज पराजुली सुमार्गी, सतिशलाल आचार्य र उपेन्द्र महतोले अर्बौँ रुपैयाँ राज्यलाई बुझाउन बाँकी छ । विगतमा भण्डारी आफैँले काम गर्दाको कर बक्यौता रहेकोले उनकोे नियुक्ति नेपालको प्रचलित कानुनबमोजिम स्वार्थ बाझिने र गैरकानुनी हुने बताइएको छ । एक अधिवक्ताले भने, ‘एनसेलकै एजेन्टलाई दूरसञ्चार प्राधिकरणको जिम्मा दिएर चोरलाई नै तालाचाबी सुम्पने काम भयो ।’


क्याटेगोरी : समाचार
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया