Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न कार्यविधि तयार

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न कार्यविधि तयार


काठमाडौं । पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि तयार भएको छ । अर्थ मन्त्रालयले ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको हो ।

बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न ‘धितोपत्रसम्बन्धी ऐन, २०६३’ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा (५) मा रहेको व्यवस्था बमोजिम कार्यविधि निर्धारण गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कार्यविधिमा १५ दिनको समय तोकेर अध्यक्ष पदका लागि आवेदन माग्न सकिने व्यवस्था गरिएको छ । यस्तै, तीन जनाभन्दा बढीको आवेदन नपरेमा आवेदन म्याद सात दिन थप्ने व्यवस्था पनि गरिएकोे छ । ३० वर्ष पुगेका र ६५ वर्ष ननाघेका योग्य उम्मेदवारले बोर्डको अध्यक्ष पदका लागि आवेदन दिन सक्नेछन् ।

बोर्डको अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको अनुभव भएको व्यक्ति हुनुपर्ने योग्यता तोकेको छ ।

धितोपत्र बोर्ड पुस तेस्रो सातादेखि नेतृत्वविहीन छ । मन्त्रिपरिषद्ले माघ चार गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरि पुष्कर र प्राध्यापक उदय निरौला सदस्य रहेको समिति गठन गरेको थियो । सोही समितिले कार्यविधि निर्माण गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया