Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगाजा युद्धः समर्थनको विषयमा इजरेली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिको कुरा बाझियो

गाजा युद्धः समर्थनको विषयमा इजरेली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिको कुरा बाझियो


काठमाडौं,इजरेलले अमेरिकामा प्राप्त गरेको जनसमर्थनले हमासमाथि “पूर्ण विजय हासिल नभएसम्म” लडाइँ जारी राख्न सघाउने इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले बताएका छन्।

मङ्गलवार एउटा विज्ञप्ति प्रकाशित गर्दै नेतन्याहुले एक सर्वेक्षणका आधारमा ८० प्रतिशतभन्दा बढी अमेरिकीहरू गाजा युद्धको विषयमा इजरेलको पक्षमा रहेको दाबी गरे। उनको यो टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धका कारणले इजरेलले विश्वको समर्थन गुमाउने खतरा रहेको चेतावनी दिएपछि आएको हो।

विज्ञप्तिमार्फत् नेतन्याहुले गाजामा युद्ध सुरु भएदेखि नै “असमयमै युद्ध अन्त्य गराउन खोज्ने अन्तर्राष्ट्रिय दबावको सामना गरिरहेको र इजरेलको लागि समर्थन जुटाउने काम गरिरहेको” पनि बताए।
“हामीले यसमा धेरै सफलता हात पारेका छौँ,” ८२ प्रतिशत अमेरिकी जनताले इजरेललाई समर्थन गरेको देखाउने हार्भर्ड-ह्यारिस सर्वेक्षणलाई उद्धृत गर्दै नेतन्याहुले भने। “यसले हामीलाई पूर्ण विजय हासिल नभएसम्म हाम्रो अभियान जारी राख्न थप बल प्राप्त भएको छ।”

असोसिएटेड प्रेस र एनओआरसीले गरेको अर्को सर्वेक्षणले यस वर्षको ज्यानुअरीमा अमेरिकाको वयस्क जनसङ्ख्याको झन्डै आधाले इजरेलले “अति गरिसकेको” विश्वास राखेको देखाएको थियो।

गत वर्षको नोभेम्बरमा त्यस्तो सङ्ख्या ४० प्रतिशत मात्र थियो।युद्धविरामको सम्भावना
यसैबीच अमेरिकी अधिकारीहरूले भने सम्भावित युद्धविरामको सम्झौतामा काम गरिरहेको जनाएका छन्।

सोमवार अमेरिकी राष्ट्रपति बाइडनले अमेरिकाले इजरेल र हमासबीच “अर्को सोमवारसम्म” युद्धविराम हुने आशा राखेको बताएका थिए। यही सन्दर्भमा उनले इजरेलले “यही परम्परावादी सरकारलाई निरन्तरता दिए संसारभरि समर्थन गुमाउने” भनेका थिए।

अमेरिकामा ह्वाइटहाउस र विदेश मन्त्रालयका अधिकारीहरूले मङ्गलवार अस्थायी युद्धविरामका विषयमा वार्ता जारी रहेको पुष्टि गरे पनि वार्ताको विवरण र सम्झौता हुन सक्ने समयबारे जानकारी दिन मानेनन्।

ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले बन्धकहरूलाई गाजाबाट निस्किने र मानवीय सहायता भित्र लैजाने विषयमा गत साता “महत्त्वपूर्ण प्रगति” भएको बताए।”हामीले यो प्रगतिलाई अगाडि बढाउँदै छौँ र राष्ट्रपति र उनको टोली त्यस क्षेत्रका महत्त्वपूर्ण साझेदारहरूसँग चौबिसै घण्टा सम्पर्कमा छन्,” कर्बीले थपे।

“तर राष्ट्रपतिले भनेझैँ अहिले केही ठोस निर्णय भइसकेको छैन र अझै धेरै काम गर्न बाँकी छ।”

यदि सहमति भए अहिलेको युद्धविरामले छ साताका लागि लडाइँ बन्द हुने कर्बीको अपेक्षा छ। लागु भएमा यो विगतका युद्धविरामहरूभन्दा लामो हुने छ।

“यसले द्वन्द्वको अन्त्य गर्न थप केही कदम चाल्न सहयोग पुग्न सक्छ,” उनले भने।विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले पनि अमेरिकी कूटनीतिज्ञहरूले कतार, इजिप्ट र इजरेलसँगको सहकार्यमा “यो सम्झौतालाई अन्तिम चरणमा पुर्‍याउने प्रयास गरिरहेको” बताए तर “अन्तिममा हमासको सहमति चाहिने” पनि स्पष्ट पारे।

एक हमास अधिकारीले यसअघि बीबीसीलाई बन्धक रिहाइभन्दा पनि समूहका लागि युद्धको अन्त्य महत्त्वपूर्ण रहेको भनेका थिए।

हमासले गत अक्टोबर ७ तारिखमा इजरेलको दक्षिणी क्षेत्रमा आक्रमण गर्दा १,२०० जनाको ज्यान गएको थियो भने २५३ जनालाई बन्धक बनाइएको थियो। बन्धकमध्ये केही रिहा भइसकेका छन्।

हमासले गरेको अप्रत्याशित आक्रमणको जबाफ दिन इजरेले गाजामा सैन्य कारबाही थाल्यो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले त्यसयता गाजामा २९,८७८ जनाको मृत्यु भइसकेको र ७०,२१५ जना घाइते भएको जानकारी दिएको छ।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया