Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनगरप्रहरीले फुटपाथ व्यवसायीमाथि लाठी प्रहार गर्दा कस्तो चुनौती निम्तन सक्छ?

नगरप्रहरीले फुटपाथ व्यवसायीमाथि लाठी प्रहार गर्दा कस्तो चुनौती निम्तन सक्छ?


काठमाडौं,स्थानीय निकायहरूले भर्ना गर्ने नगर प्रहरीलाई नेपाल प्रहरीले जस्तो भिड व्यवस्थापन गर्ने र बल प्रयोग गर्ने अधिकार नभएको विज्ञहरूले बताएका छन्।

सुन्धारामा फुटपाथ व्यवसायीहरूलाई खाली गराउने क्रममा यसै साता बल प्रयोग गरेको आरोप काठमाण्डू महानगरपालिकाको नगर प्रहरीमाथि लागेको छ।

महानगरपालिकाका प्रवक्ताले नगर प्रहरीले ‘आफ्नो प्रतिरक्षा’ मात्रै गरेको जबाफ दिइरहँदा विज्ञहरूले बल प्रयोग गर्ने कुनै पनि किसिमको अधिकार स्थानीय निकायका प्रहरीसँग नहुने भन्दै त्यसो गर्न खोजिए अराजकता उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।

उक्त झडपमा १० जना नगरप्रहरीसहित १६ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ।घटना विवरण के हो?
सुन्धारामा बुधवार साँझ फुटपाथ व्यवसायीहरू र काठमाण्डूका नगरप्रहरीहरूबीच झडप भएपछि तनावको अवस्थामा नगर प्रहरी परिचालन कसरी गर्नेदेखि लिएर नगरप्रहरीहरूलाई बल प्रयोगको अधिकार भए या नभएको भन्ने प्रश्नहरू उठिरहेका छन्।

उक्त झडपमा १० जना नगर प्रहरी, पाँचजना फुटपाथ व्यवसायी र एकजना सञ्चारकर्मी घाइते भएका र उनीहरू सबै उपचार सम्पन्न गरेर घर फर्किसकेको प्रहरी अधिकारीहरूले जनाएका छन्।

फुटपाथबाट सामान हटाउन नगरप्रहरीले प्रयास गरेपछि ‘दोहोरो झडप’ भएको काठमाण्डू प्रहरीले जनाएको छ।

तर कुनै पनि पक्षबाट जाहेरी नपरेको भन्दै यसबारे औपचारिक अनुसन्धान भने अघि बढाइएको छैन।सामाजिक सञ्जालमा राखिएका भिडिओमा नगर प्रहरीहरूले फुटपाथ व्यवसायीहरूलाई लाठी प्रहार गरेको देख्न सकिन्छ।

सञ्चारमाध्यममा आएका कतिपय विवरणमा फुटपाथ व्यवसायीहरूले आफूहरूलाई नियन्त्रणमा लिएर गाडीभित्र समेत लात्ती र लाठीले हानिएको जनाएका छन्।

उक्त झडपमा घाइते भएका व्यक्तिहरूका तस्बिर सामाजिक सञ्जालहरुमा शेअर भइरहेका छन् र कैयौँले महानगरको प्रहरीसँग बल प्रयोग गर्ने अधिकार नभएको भन्दै उसको कामको आलोचना गरिरहेका छन्।

सडकमा उद्यम गर्ने गरेका साना व्यवसायीहरूको पक्षमा पैरवी गर्ने गरेका एकजना अभियानकर्मी ईले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “नगरप्रहरीसँग यातना दिने अधिकार छैन। यो अपराध हो।”

उक्त घटनापछि लगातार दुई दिन सुन्धारा क्षेत्रमा फुटपाथ व्यवसायीहरूले प्रदर्शन गरिरहेका छन्।

यो प्रकरणले उठाएको प्रश्न के हो?
काठमाण्डू महानगरपालिकाको नगरप्रहरीको काम, कर्तव्य र अधिकार महानगर प्रहरी ऐन २०८० ले तोकेको छ।

त्यसमा महानगरको चलअचल सम्पत्तिको सुरक्षासहित दुई दर्जनभन्दा बढी जिम्मेवारी नगरप्रहरीलाई दिएको भए पनि बल प्रयोग गर्नसक्ने अधिकारबारे कुनै चर्चा गरिएको छैन।स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि नगरप्रहरीको क्षेत्राधिकारबारे चर्चा गरिएको छ जसमा नगरपालिकाको नीति, कानुन र निर्णयको कार्यान्वयन गराउने र स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन सहितका अधिकार तोकिएका छन्।नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक डीआईजी हेमन्त मल्ल कानुनले नगरप्रहरीलाई बल प्रयोग गर्ने अधिकार नदिएको बताउँछन्।

उनले भने, “भिड नियन्त्रण गर्न वा कुनै ठाउँहरू खाली गराउनका लागि विशेष तालिमहरू चाहिन्छ। बल प्रयोग भनेको प्राविधिक काम हो र त्यो गर्ने जनशक्तिलाई विशेष रूपमा तयार गरिएको हुन्छ। महानगर वा कुनै स्थानीय निकायको प्रहरीलाई त्यो किसिमले तयार गरिएको हुँदैन्।”

मल्लले हरेक निकायले बल प्रयोग गर्न थाले त्यसले अराजकता निम्त्याउन सक्ने चेतावनी दिँदै सुन्धारामा भएको जस्तो घटना हुन नदिन विशेष सतर्कता अपनाइनुपर्ने बताए।

उनले थपे, “भिड वा समूहलाई नियन्त्रण गर्ने अधिकार स्थानीय प्रशासन ऐनले प्रहरीलाई दिएको छ। कानुनले नै कहिलेकाहीँ बल प्रयोग गर्दा केही गल्ती भयो भने सुरक्षा दिनेसम्मको व्यवस्था गरेको हुन्छ। भोलीिको दिन कोही नगर प्रहरीअगाडि जुलुस लिएर जालान्, नगर प्रहरीले फेरी लाठी चार्ज गरिदिने हुन् कि? त्यही भएर मलाई यो अराजक अवस्था हो कि जस्तो लाग्यो।”

सुरक्षा निकायका अधिकारीहरू भिड वा समूहहरूलाई नियन्त्रण गर्न कारबाही गरिँदा विभिन्न चरणहरू हुने भन्दै त्यसमा नेपाल प्रहरीको सहयोग लिनु अनिवार्य रहेको ठान्छन्।नेपाल प्रहरी के ठान्छ?काठमाण्डू महानगरको प्रहरी बलको कानुनमा पनि नगर प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न तथा महानगरवासीको अमन चयन स्थापित गर्न अन्य सुरक्षा निकायसँग सहकार्य गर्ने र सहयोग लिने उल्लेख गरिएको छ।

स्थानीय प्रशासन ऐन २०२८ मा कुनै काम कारबाहीबाट शान्ति भङ्ग हुने अवस्था देखेको खण्डमा प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले लाठी चार्ज गर्ने, अश्रुग्यास हान्ने, हवाई फायर गर्नसक्ने उल्लेख गरिएको छ।

त्यसरी पनि भिड पछि नहटे चेतावनी दिएर गोली चलाउनेसम्मको अधिकार प्रहरीलाई दिइएको छ।

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक मल्ल जथाभाबी बलप्रयोग गर्दा क्षति हुनसक्ने बताउँछन्।

उनले भने “सङ्गठित वा असङ्गठित खालका समूह हुन्छन्। ठाउँ खाली गराउने क्रममा मानिसहरू आइलागे भने तपाईँ के गर्नुहुन्छ? नियन्त्रण गर्नुपर्छ। त्यसबेला लाठी चार्ज गर्नुपर्ने परिस्थिति आउला। नियन्त्रणमा लिएर मानिसहरूलाई मुद्दा चलाउनुपर्ने अवस्था समेत आउला। त्यही भएर खाली गराउने अधिकार प्रयोग गर्दा पनि प्रहरीको मद्दत लिनपर्छ। विगतमा यस्तो अभ्यास थियो।”पछिल्लो प्रकरणबारे सुरक्षा निकायहरूले औपचारिक रूपमा टिप्पणी नगरेको भए पनि त्यसलाई उनीहरूले नजिकबाट नियालिरहेको सङ्केत मिल्छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बीबीसीसँग भने, “हाम्रो चाहना र कामना भनेको कतै पनि शान्ति सुरक्षा भङ्ग नहोस् र शान्त वातावरण रहोस् भन्ने हो।”

महानगर के भन्छ?महानगरपालिकाका प्रहरीहरूले कुन कानुनमा टेकेर फुटपाथ व्यवसायीहरूमाथि लाठी प्रहार गरे भन्ने प्रश्न गर्न बीबीसीले सम्पर्क गर्दा काठमाण्डू महानगरपालिकाका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले उक्त विषयमा प्रतिक्रिया दिन सक्ने अवस्थामा आफू नभएको बताए।

तर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधि र नगर प्रहरीको नेतृत्वले बल प्रयोग नगरेको बरु आफ्नो प्रतिरक्षा गर्दा सो घटना हुन पुगेको जनाएको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रदर्शनकारीहरूले पनि लाठी प्रयोग गरेको र नगरप्रहरीहरू पनि घाइते भएको उल्लेख गरे।

“प्रहरीमाथि प्रदर्शनकारीहरू हमला गर्न आए। त्यसको कारणले गर्दा प्रतिरक्षा गर्नुपर्‍यो। यस्तो घटना नभएको भए राम्रो हुन्थ्यो।”

उनले उक्त घटनाको छानबिन गर्ने विषयमा महानगरको माथिल्लो तहमा छलफल भइरहेको बताए।

उनले थपे, “हाम्रो प्रशासकीय प्रमुख, सुरक्षा प्रमुख, कानुन हेर्ने निकायबीच छलफल भइरहेको छ। निर्णय भएको छैन।”

बालेन्द्र शाह काठमाण्डू महानगरको प्रमुखमा निर्वाचित भएयता काठमाण्डूका फुटपाथमा व्यवसाय सञ्चालनमा कडाइ गरेका थिए।सन् २०२२ को डिसेम्बरमा प्रकाशित रिपोर्टमा अधिकारवादी संस्था ह्युमन राइटस वाचले काठमाण्डू महानगरले सहरका गरिबहरूमाथिको दुर्व्यवहार अन्त्य गर्नुपर्ने र फुटपाथ व्यवसायीहरूलाई व्यवस्थापन गर्नुपर्ने उल्लेख गरेको थियो।

त्यही वर्षको नोभेम्बरमा वाग्मती नदीका किनारामा रहेको सुकुम्बासी क्षेत्रमा काठमाण्डूका नगरप्रहरी र सुकुम्बासीको झडपमा झन्डै दुई दर्जन घाइते भएका थिए।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया