Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यापारघाटा हरेक वर्ष बढेको बढ्यै

व्यापारघाटा हरेक वर्ष बढेको बढ्यै


काठमाडौं । दैनिक उपभोग्य वस्तुमा समेत आत्मनिर्भर बन्न नसक्दा आयातमा कमी आउन सकेको छैन । निर्यातको तुलनामा उच्च आयातले गर्दा हरेक वर्ष व्यापारघाटा बढ्दै गएको छ । चामल, मकै, गहुँ, दाल, तरकारी फलफूलमा आत्मनिर्भर बन्ने सरकारको नीति तथा कार्यक्रम प्रभावकारी बन्न नसक्दा ती वस्तुहरू बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ । सरकारले कृषि उत्पादनमा अनुदान दिएको छ तर त्यसको प्रभावकारी वितरण र उपयोग हुन नसक्दा उत्पादन बढ्न सकेको छैन ।

पछिल्लो छ वर्षको वैदेशिक व्यापार हेर्दा व्यापारघाटा औसतमा २० देखि ४५ प्रतिशतले बढेको छ । सबैभन्दा उच्च व्यापारघाटा आर्थिक वर्ष २०७८/७९ मा भएको छ । सो वर्ष व्यापारघाटा १७ खर्ब २० अर्ब रुपैयाँ थियो । आर्थिक वर्ष २०७६/७७ मा १० खर्ब ९९ अर्ब रहेको व्यापारघाटा त्यसको दुई वर्षमा नै सात खर्बले बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ मा आयात १९ खर्ब २० अर्ब रुपैयाँ हुदाँ निर्यात दुई खर्ब रुपैयाँ मात्र थियो । व्यापारघाटा बढ्नुमा उच्च आयात नै मुख्य कारण हो । उच्च परिमाणमा आयात गरिने पेट्रोलियम पदार्थ, फलाम र स्टिलका उत्पादन, मेसिनेरी र पाट्र्स, विद्युतीय सामग्री, धान, चामल, गहुँ, मकैलगायतका अन्न, यातायातका साधन, औषधि, सुन, मल, मोबाइल र दूरसञ्चार उपकरणलगायतका सामग्री छन् । यी १० भन्दा बढी प्रकारका सामग्री आयात गर्न अर्बौँ रुपैयाँ खर्च हुनेगरेको छ ।

आयातको तुलनामा ज्यादै न्यून निर्यात रहेको छ । नेपालबाट निर्यात हुने वस्तुहरूमा सबैभन्दा बढी प्रशोधित पाम तेल, यार्न, उनी गलैँचा, भटमासको तेल, अलैँची, तयारी पोशाक तथा एक्सेसरिज, जुट र जुटका उत्पादन, जुस र उनी फेल्टका सामग्री छन् ।

आर्थिक वर्ष २०७७/७८मा १५ खर्ब ३९ अर्ब रुपैयाँको आयात र एक खर्ब ४१ अर्ब रुपैयाँको निर्यात भएको थियो । यस्तै, आर्थिक वर्ष २०७६÷७७ मा ११ खर्ब ९६ अर्ब रुपैयाँको आयात र ९७ अर्ब रुपैयाँको निर्यात भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब ६३ अर्ब रुपैयाँबराबरको आयात हुँदा निर्यात ८१ अर्ब रुपैयाँको मात्रै भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा भने आयात १६ खर्ब ११ अर्ब रुपैयाँ र निर्यात एक खर्ब ५७ अर्ब रुपैयाँ मात्रै भएको थियो । यस आर्थिक वर्षमा व्यापारघाटा १४ खर्ब ५४ अर्ब रुपैयाँ भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादनको तुलनामा नेपालको कुल व्यापार ३६ दशमलव चार प्रतिशत थियो । यसमा निर्यातको हिस्सा तीन दशमलव दुई प्रतिशत विन्दु र आयातको हिस्सा ३३ दशमलव दुई प्रतिशत विन्दु थियो । आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादनको तुलनामा वैदेशिक व्यापार ४९ दशमलव छ प्रतिशत थियो । यसमा निर्यातको हिस्सा चार दशमलव सात प्रतिशत विन्दु र आयातको हिस्सा ४४ दशमलव नौ प्रतिशत विन्दु थियो । आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादन ५३ खर्ब ८१ अर्ब रुपैयाँ र २०७८/७९ मा ४९ खर्ब ३३ रुपैयाँ थियो ।

यसरी हरेक आर्थिक वर्ष उच्च व्यापारघाटा देखिनुमा वस्तु व्यापारमा प्रतिस्पर्धी क्षमता कमजोर हुनु र गुणस्तर मापदण्ड प्रमाणकीकरण गर्न नसक्नु रहेको सरोकारवालाहरू बताउँछन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकारीहरू कच्चापदार्थ आयात गरी निर्यात गर्ने सामग्री विश्वबजारमा गुणस्तरीय प्रमाणीकरण भई प्रतिस्पर्धात्मक क्षमता भएको उत्पादन आवश्यक पर्ने बताउँछन् । मन्त्रालयका सूचना अधिकारी रविन्द्र दुवाडेले व्यापार सहजीकरणका लागि विभिन्न मुलुकसँग सम्झौता गर्न खोजिए पनि गुणस्तरीय सामग्री उत्पादन तथा निर्यात गर्न नसक्नु नेपालको कमजोरी रहेको बताए । उनका अनुसार निर्यातर्फ ‘ब्रोड इकोनोमिक वर्गीकरणअनुसार इन्टरमेडेट कन्जप्सन’को योगदान ५४ दशमलव सात प्रतिशत र ‘फाइनल कन्जप्सन’को योगदान ४४ दशमलव छ प्रतिशत छ, जसमा नेपालको निर्यातमा ‘फाइनल कन्जप्सन’को हिस्सा बढाउन आवश्यक देखिन्छ । साथै आयाततर्फ भने नेपालको अधिकांश आयात औद्योगिक क्रियाकलापका लागि उपयोग भइरहेको देखिन्छ, जसले गर्दा नेपालको आयात सकारात्मक नै छ ।

नेपालको आयात÷निर्यात व्यापारका मुख्य साझेदार मुलुकहरूमा निर्यात गन्तव्यतर्फ भारत, अमेरिका, जर्मनी, बेलायत, टर्की, फ्रान्स, क्यानडा, चीन, अष्ट्रेलिया, जापान, इटाली, नेदरल्याण्ड, संयुक्त अरब इमिरेटस (यूएई) र डेनमार्क छन् । त्यस्तै नेपालको आयात व्यापारमा मुख्य साझेदार मुलुकमा भारत, चीन, इन्डोनेसिया, संयुक्त अरब इमिरेटस (यूएई), अर्जेन्टिना, मलेसिया, अमेरिका, अष्ट्रेलिया, युक्रेन, साउदी अरेबिया, बेल्जियम, ओमान, थाइल्याण्ड र कतार छन् । यसैबीच सरकारले मुलुकको व्यापारघाटा कम गर्न हालसम्म कुनै ठोस कदम चाल्न सकेको छैन । जस्तो दैनिक उपभोग्य सामग्री तथा कृषिजन्य सामग्रीमा सरकारले आत्मनिर्भर बन्न कुनै कदम नचाल्दा व्यापारघाटामा समेत असर परेको बताइन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया