Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहाशिवरात्रिमा पशुपति क्षेत्रमा सवारी डाइभर्सन

महाशिवरात्रिमा पशुपति क्षेत्रमा सवारी डाइभर्सन


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाशुपत क्षेत्रमा महाशिवरात्रिको अवसरमा लाग्ने मेलालाई व्यवस्थित गर्न सवारी साधनलाई आवश्यकताअनुसार डाइभर्सन गर्ने भएको छ ।

महाशिवरात्रिको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा बुधबार रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकताअनुसार सवारी साधनलाई डाइभर्सन गरिने कार्यालयले जनाएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो–बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकताअनुसार डाइभर्सन गरिने छ । त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ ।

गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले अनुरोध समेत गरेका छन् । यस्तै, कार्यालयले सवारी साधनको पार्किङका लागि सिफल चौर, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तिलगंगाको खाली स्थान र करिडोरमा, वनकाली, गुहेश्वरीपारि व्यवस्थापन गरेको जनाएको छ ।

यसैगरी कार्यालयले महाशिवरात्रि मेलाको ट्राफिक व्यवस्थापन गर्नका लागि पाँच सय १३ जना ट्राफिक प्रहरी खटाएको छ । प्वाइन्ट ड्युटी, पार्किङ ड्युटी, डाइभर्सन ड्युटीलगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने कार्यालयले जनाएको छ । यसबाहेक विशिष्ट व्यक्तिहरूको भ्रमण व्यवस्थापन र अन्य स्थानहरूको नियमित गरिने ट्राफिक व्यवस्थापनमा समेत थप जनशक्ति परिचालन गरिने कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया