Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविशाल ग्रुपको बालमन्दिर जग्गा घोटालामा अख्तियार र महानगरको लुकामारी

विशाल ग्रुपको बालमन्दिर जग्गा घोटालामा अख्तियार र महानगरको लुकामारी


काठमाडौं । नेपाल बाल संगठंन (बालमन्दिर)को जग्गा घोटाला प्रकरणमा विशाल ग्रुपलाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगले कारबाही नगर्ने बहाना खोजिरहेको छ । काठमाडौं महानगरपालिकाको आलटालले बालमन्दिर जग्गा घोटाला प्रकरणमा अख्तियारलाई राहतको बहाना बनेको छ ।

बालमन्दिरमा रहेका बालबालिकालाई आर्थिक सहयोग गरी जग्गा घोटाला प्रकरण अख्तियारले अघि बढाउने कोसिस गरे पनि त्यो सफल हुन सकेको छैन । बाल मन्दिरले विशाल ग्रुपले दिने लिज रकमले बालमन्दिरमा रहेका अनाथ बालबालिकाको पालनपोषण तथा पठनपाठनको व्यवस्था गर्ने गरिएको छ । वार्षिक २५ लाख रुपैयाँ लाग्ने ती बालबालिकको लागि अझ खर्च व्यवस्था गरिदिन अख्तियारले महानगरपालिकालाई आग्रह गरेको छ ।

अख्तियारको उक्त आग्रहलाई महानगरपालिकाले आलटाल गर्दै आएको छ । जसले गर्दा अख्तियारलाई जग्गा प्रकरणमा विशाल ग्रुपलगायतका सेयरधनीलाई कारबाही गर्न समस्या भएको छ । यद्यपि गैरकानुनीरूपमा बालमन्दिरको जग्गा उपभोग गर्दै आएका समूहहरूलाई कारबाही गर्नुपर्ने माग बालमन्दिरले राख्दै आएको छ ।

विनाप्रतिस्पर्धा, न्यून रकममा जग्गा उपभोग तथा भाडामा लगाउँदै आएको समूहलाई कारबाही गर्नुपर्ने अडान स्वय बालमन्दिरका केन्द्रीय कमिटीका सदस्यहरूले गर्दै आएका छन् । उनीहरूले एउटा निश्चित समूहलाई नियमविपरीत जग्गा उपभोग गर्न दिनु गैरकानुनी भएको बताउँदै त्यसमा सरकारले आवश्यक कारबाही अगाडि बढाउनुपर्ने बताउँदै आएका छन् ।

पुरुषोत्तमराज जोशी र उनका पारिवारिक सदस्य एवं विशाल ग्रुपले बालमन्दिरको २८ रोपनी जग्गा नियमविपरीत तवरबाट लिई भोगचलन गर्दै आएका छन् । उनीहरूले बालमन्दिरको जग्गामा बृहस्पति विद्या सदन र राय स्कुल सञ्चालन गर्दै आएका छन् । जग्गा भाडामा लिई विद्यालय सञ्चालन गर्दै आएका समूहले जग्गा भाडामा लिँदा तथा दिँदा अनियमितता भएको थियो । उच्च अदालतका पूर्वन्यायाधीश हरि भट्टराई नेतृत्वको छानबिन आयोगले जग्गा भाडामा दिँदा अनियमितता भएको ठहर गरेको थियो । संगठनकी पूर्वअध्यक्ष रिता सिंह, पूर्वमहासचिवहरू कृष्णशंकर शाह, सुवासकुमार पोखरेल, पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ, पूर्वकोषाध्यक्ष दीपकदास श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य सुमन शाक्य, पूर्वनिर्देशक राजेश्वर निरौला, बालकृष्ण डंगोल, रमेश भोमी, पूर्वशाखाप्रमुख टिकमणि न्यौपाने र प्रमिला श्रेष्ठलाई कारबाहीको सिफारिस समेत गरेको पाइन्छ । तर, अख्तियारले कारबाही अघि बढाउन सकेको छैन । यद्यपि अख्तियारले नियमविपरीत जग्गा भोगचलन गरेको भनी बालमन्दिरका पूर्वपदाधिकारीसँग बयान भने लिइसकेको छ । विनाप्रतिस्पर्धा २८ रोपनी पाँच आना जग्गा बृहस्पति स्कुलले लिजमा लिएकोमा सम्झौता अवधि नसकिँदै थप ३८ वर्षका लागि विनाप्रतिस्पर्धा नवीकरण गरिएको थियो ।

पुरुषोत्तमराज जोशी र उनका पारिवारिक सदस्य एवं विशाल ग्रुपले बालमन्दिरको जग्गामा नियमविपरीत बृहस्पति शिक्षा सदन र राय स्कुल सञ्चालन गर्दै आएका छन् । जुन शिक्षा ऐनविपरीत समेत रहेको पाइन्छ । बृहस्पति र राय स्कुलको दूरीलाई हेर्दा नियमसंगत रहेको पाइँदैन । पुरुषोत्तमराज जोशी र उनका पारिवारिक सदस्य एवं विशाल ग्रुपले बालमन्दिरको २८ रोपनी जग्गा भोगचलन गर्दै आएका छन् ।

बृहस्पति विद्या सदनका सयेरधनीमा पुरुषोत्तमराज जोशी, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, अनुज अग्रवाल, श्रद्धा संघई, अर्पित अग्रवाल, ग्रीन फिल्ड इंक प्रालि, श्यामसुन्दर कंडेल, समीर थापा, महेशकुमार सिंघानिया, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल छन् । जसमा पुरुषोत्तमको २५ लाख ८० हजार रुपैयाँ, प्रवीणराज जोशीको एक करोड ८७ लाख १० हजार रुपैयाँ, प्रज्वलराज जोशीको एक करोड ३१ लाख १० हजार रुपैयाँ, अनुज अग्रवालको तीन करोड ६१ लाख १२ हजार पाँच सय रुपैयाँ, श्रद्धा संघईको दुई करोड ५७ लाख ९२ हजार पाँच सय रुपैयाँ, अर्पित अग्रवालको एक करोड १२ लाख १० हजार रुपैयाँ, ग्रीन फिल्ड इंक प्रालिको ५० लाख १० हजार रुपैयाँ, श्यामसुन्दर कंडेलको ६४ लाख ६५ हजार रुपैयाँ, समीर थापाको १० हजार रुपैयाँ, महेशकुमार सिंघानियाको ४२ लाख ३० हजार छ सय रुपैयाँ, सञ्जयकुमार मोरको सात लाख चार हजार दुई सय रुपैयाँ, सञ्जय अग्रवालको सात लाख चार हजार दुई सय रुपैयाँ, विशाल अग्रवालको दुई करोड ३६ लाख ७५ हजार रुपैयाँ र निकुञ्ज अग्रवालको दुई करोड ३६ लाख ७५ हजार रुपैयाँबराबरको सेयर लगानी छ ।

त्यस्तै राय स्कुलका सेयरधनीमा श्रद्धा संघाई, अनुज अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, ग्रीन फिल्ड इंक प्रालि, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, एस इन्ष्टिच्युट अफ मेनेजमेन्ट, समीर थापा र अर्पित अग्रवाल छन् । जसअनुरूप श्रद्धा संघाईको ७५ लाख ५५ हजार एक सय रुपैयाँ, अनुज अग्रवालको ५० लाख ३६ हजार दुई सय रुपैयाँ, विशाल अग्रवालको ३३ लाख ६० हजार छ सय रुपैयाँ, निकुञ्ज अग्रवालको ३३ लाख ६० हजार छ सय रुपैयाँ, ग्रीन फिल्ड इंक प्रालिको १० हजार रुपैयाँ, प्रवीणराज जोशीको २७ लाख ५० हजार रुपैयाँ, प्रज्वलराज जोशीको २७ लाख ५० हजार रुपैयाँ, एस इन्ष्टिच्युट अफ मेनेजमेन्टको नौ लाख ८० हजार रुपैयाँ, समीर थापाको १० हजार रुपैयाँ र अर्पित अग्रवालाको १६ लाख ८७ हजार पाँच सय रुपैयाँबराबरको सेयर लगानी छ । २०५८ जेठ ८ गते बाल संगठनको जग्गा बृहस्पतिलाई भाडामा दिने सम्झौता गरिएकोमा जग्गा प्रयोगको अवधि भने ३० वर्ष कायम गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया