Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआफ्नालाई जोगाउन ‘सेटिङ’मा छानबिन, गृहमन्त्रीको सक्रियतापछि थप तथ्य बाहिरिँदै

आफ्नालाई जोगाउन ‘सेटिङ’मा छानबिन, गृहमन्त्रीको सक्रियतापछि थप तथ्य बाहिरिँदै

‘हाई–प्रोफाइल’ संलग्न सुन तस्करी प्रकरण


काठमाडौं,‘हाई–प्रोफाइल’ संलग्न सुन तस्करी प्रकरणमा दलीय र व्यवसायीहरूको स्वार्थअनुरूप आफ्नालाई जोगाउन ‘सेटिङ’मा अनुसन्धान भएको तत्थ्य सार्वजनिक भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ६० केजी सुन र विद्युतीय चुरोट (भेप) मार्फत तस्करी भएर आएको नौ केजी ५० ग्राम सुन तस्करीको विषयमा छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन सार्वजनिक भएपछि उक्त तथ्य बाहिर आएको हो । गृहमन्त्री रवि लामिछानेले हाई–प्रोफाइल सलंग्न उक्त सुन तस्करी प्रकरणको फाइल पुनः खुला गरेसँगै उक्त सुन तस्करीको बारेमा छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा बनेको आयोगले शुक्रबार गृहमन्त्री लामिछानेलाई सुन तस्करीको अनुसन्धानसम्बन्धी प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा सुन तस्करीसम्बन्धी अनुसन्धान गर्न जिम्मेवारी पाएको नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरोले गम्भीर त्रुटि गरेको सेटिङमा केही दलका नेता तथा व्यवसायीहरूलाई जोगाएर केहीलाई मात्र पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रतिवेदनमा उल्लेख थियो । उक्त प्रतिवेदनमा सीआईबीको अनुसन्धानमा गम्भीर त्रुटि तथा कैफियत रहेको भन्दै पूर्वन्यायाधीश आर्चाय नेतृत्वको जाँजबुझ आयोगले सीआईबीको सेट नै परिवर्तन गर्न र यसअघि अनुसन्धान नगरी उन्मुक्ति दिएका व्यक्तिहरूमाथि पुनः अनुसन्धान गरी पक्राउ गर्न सुझाव दिएको थियो । सोही सुझावअनुसार गृहमन्त्रालयले हाई–प्रोफाइल संलग्न सुन तस्करीमाथि पुन अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

तस्करीसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको २४ घण्टामा नै अभियुक्तहरूमाथि थप अनुसन्धान गर्न गृह मन्त्रालय ‘एक्सन’मा उत्रिएको छ । जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कुनै पनि कसर बाँकी नराख्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम्ले निर्देशन दिएपछि गृहमन्त्री लामिछाने अनुसन्धान प्रक्रियालाई टुंगोमा पु¥याउने गरी काम गर्न आफ्नो मातहतका निक(ायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणमा दोषी उम्कनु भएन, निर्दोेष फस्नु भएन, प्रतिवेदनले जे औँल्याएको छ, त्यो गर्न र कुनै सम्झौता नगर्न गृह मन्त्रालयलाई स्पष्ट निर्देशन दिएका छन् ।

यसअघि सुन तस्करीसम्बन्धी गठित पूर्वन्यायाधीश आचार्य नेतृत्वको आयोगले तस्करीमा संलग्न भएको आशंकमा ६८ जनासँग बयान लिएको थियो । तीमध्ये माओवादीका नेता कृष्णबहादुर महरा, पूर्वउपराष्ट्रपतिका पुत्र दिपेश पुन, व्यवसायी जीवन चलाउने, व्यवसायी मञ्जिल श्रेष्ठ, उपराष्ट्रपतिका सल्हाकार एवं काठमाडौंको डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङ, ओम्नी प्रकरण र अकुत सम्पत्ति आर्जन समेतको मुद्दामा जोडिएका विवादास्पद व्यवसायी भिमकान्त भण्डारी र सुवु केसीसहितका सात जनालाई भने मुद्दा चलाउन सिफारिस गरेको छ । तस्करीमा संलग्न भएको भनिएका ३३ जनाविरुद्ध भने यसअघि ने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा चलाइसकेको छ । गृह मन्त्रालयले तस्करीमा संलग्न सात जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेलगत्तै शुक्रबार नै पूर्वउपराष्ट्रपतिका पुत्र दिपेश पुन पक्राउ परिसकेका छन् । उनीमाथि हाल अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सीआईबीमाथि नै ‘ब्याक फायर’

सीआईबी प्रमुख किरण बज्राचार्यसहितको टोलीले भेप र ब्रेक सुमार्फत भएको सुन तस्करीको अनुसन्धानमा केही हाई–प्रोफाइलहरूको स्वार्थअनुसार उनीहरूलाई जोगाइदिने गरी गरेको अनुसन्धान नै त्रुटिपूर्ण रहेको भन्दै सुन तस्करीसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले सीआईबीको सेट नै परिवर्तन गरी विभागीय कारबाही गर्न सुझाव दिएको थियो ।

सीआईबीको उक्त टोलीले सुन तस्करीमा जोडिएका अभियुक्त जीवन चलाउनेलाई अनुसन्धानको लागि भन्दै समातेर ब्युरोमा उपस्थित गराए पनि सेटिङमा पछि भगाएको अभियोग रहेको छ । चलाउने हालसम्म पनि फरार रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।सोही सुझावअनुसार एक्सनमा उत्रिएका गृहमन्त्री रवि लामिछानेले सीआईबी प्रमुख एआईजी बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीहरू रुगम कुँवर र दुर्गा दाहाललाई शुक्रबार नै हेडक्वार्टर तानेर विभागीय कारबाही सुरु गरेका छन् । बज्राचार्यलाई हेडक्वार्टरमा तानेपछि रिक्त रहेको सीआईबी प्रमुखको पदमा गृह मन्त्रालयले तत्कालको लागि एनआईजी श्यामलाल ज्ञवालीलाई पठाएको छ ।

यी हुन् उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन गर्न सिफारिस गरेका अभियुक्तहरू

विवादास्पद व्यवसायी भिमकान्त भण्डारी- सरकारले सुन तस्करीसम्बन्धी मुद्दामा विवादस्पद व्यवसायी भीमकान्त भण्डारीउपर मुद्दा चलाउन सिफारिस गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले भण्डारीउपर मुद्दा चलाउन सिफारिस गरेको हो । तस्करी प्रकरणमा जोडिएका भनिएका भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २०८० माघ २५ गते बयान लिए पनि सेटिङमा भण्डारीउपर अनुसन्धान नै पूरा नगरी उन्मुक्ति दिएको आयोगको ठहर छ । सोही ठहरका आधारमा आयोगले भण्डारीउपर पुनः मुद्दा चलाएर अनुसन्धान गर्न सुझाव दिएको थियो । सोही सुझावउपर गृह मन्त्रालयले भण्डारीउपर मुद्दा चलाएको हो । आयोगका अनुसार ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ वाङसँग भण्डारीले पटक–पटक कुराकानी गरेको तत्थ्य फेला परेपछि उनी अनुसन्धानको दायरामा परेका हुन् ।

पूर्वउपराष्ट्रपतिका सल्लाहकार तथा प्लानिटम कलेजका सञ्चालक जीवन गुरुङ जीवन गुरुङ पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार हुन् । काठमाडौंको डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक समेत रहेका गुरुङको चिनियाँ सुनतस्करसँग प्रत्यक्ष संलग्न रहेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।तस्करले विद्युतीय चुरोट (भेप) मार्फत ल्याएको नौ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाछिरिङ वाङसँग गुरुङको गहिरो सम्बन्ध देखिएको प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा आयोगले गुरुङउपर मुद्दा चलाएर कारबाही गर्न सिफारिस गरेको हो । सुन तस्करीको आरोपमा अनुसन्धानको लागि गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०८० फागुन १४ गते पक्राउ गरेको थियो । हाल गुरुङ अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा छन् ।

पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा-काण्डैकाण्डमा फस्दै आएका पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा पनि सुन तस्करी प्रकरणमा जोडिएका छन् । सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितीले चिनियाँ नागरिकसँग मिलेर गरिएको संगठित सुन तस्करीमा महाराको पनि संलग्न देखिएको पुष्टि गरेको छ । सोही पुष्टिका आधारमा गृह मन्त्रालयले महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको हो । उनको तस्करीमा संलग्न चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ वाङ, पूर्वउपराष्ट्रपतिका सल्हकार जीवन गुरुङसँग तस्करीको सुनसँग नै सम्बन्धित रहेर पटक–पटक कुराकानी तथा भेटवार्ता भएको पूर्वन्यायाधीश आचार्य नेतृत्वको छानबिन आयोगको प्रतिवेदनमा उल्लेख छ । महराका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा छन् ।

व्यवसायी सुबु केसी-उच्चस्तरीय छानबिन समितिले सुबु केसीलाई पनि सुन तस्करी प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको छ । सुन तस्करी प्रकरणमा जोडिने तथ्य फेला परेको भन्दै आयोगले उनीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो । चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ वाङको मोबाइल जाँचमा २० हजार अमेरिकी डलर सुबुप्रताप केसीको अमेरिकास्थित वेल्स फार्गो बैंकमा जम्मा गरेको तथ्य फेलापरेपछि आयोगले केसीउपर मुद्दा चलाएर अनुसन्धान गर्न निर्देशन दिएको हो ।

व्यवसायी जीवन चलाउने-व्यवसायी जीवन चलाउनेको सुन तस्कर चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ वाङसँग प्रत्यक्ष सम्बन्ध रहेको देखिएको छ । सुन तस्करीसम्बन्धी छानबिनको लागि पूर्वन्यायाधीश डिल्लीराज आर्चायको नेतृत्वको छानबिन आयोगले चलाउनेको प्रत्यक्ष सम्बन्ध तस्करसँग रहेको देखाएको हो ।सोही विषयमा सीआईबीले चलाउनेलाई ब्युरोमा लगेर बयान कागज गराएर छाडेको आयोगको प्रतिवेदनमा उल्लेख छ । चलाउनेले दावासँग सुन कारोबारबारे कुराकानी गरेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्टबाट देखिएको समेत प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया