Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा


पोखरा,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।

घोषणासभामा बोल्दै प्रधानमन्त्रीले पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयले मुलुकलाई सकारात्मक दिशामा लैजाने दावी गरे । पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाए ।

साथै पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरकोरुपमा विकास गर्न आगामी दिनमा उच्च प्राथमिकतामा राख्ने उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीले पोखराको विकास निर्माणमा विद्यमान सम्भावित समस्या समाधानका लागि यथोचित पहल र समन्वय गर्ने स्पष्ट पारे ।पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरुबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले सहजीकरण र पहल गर्ने उनले बताए ।

‘आगामी महिनामा आयोजना हुने लगानी सम्मेलनका लागिसमेत पर्यटकीय राजधानी घोषणाले महत्वपूर्ण टेवा पुर्याउँछ’, प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्न सम्वद्ध पक्षसँग सरकारले पहल र समन्वय गर्ने प्रतिवद्धता जनाए । नियमित अन्तर्राष्ट्रिय उडान र खर्चका सम्बन्धमा नयाँ ढंगले व्यवस्थापन गर्ने संकल्प आफूले लिएको प्रधानमन्त्रीले स्पष्ट पारे । उनले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा विमानस्थलको ऋणलाई अनुदानमा बदल्न प्रयत्न गर्ने बताएका थिए ।

गण्डकी प्रदेशको विकासमा दूरगामी महत्व राख्ने मध्यपहाडी लोकमार्ग र पृथ्वी राजमार्गको पोखरा(मुग्लिन सडक आयोजना समयमै सम्पन्न गर्न आवश्यक समन्वय र अनुगमन थप प्रभावकारी बनाइने उनले स्पष्ट पारे ।

उनले फेवातालको संरक्षणमा सर्वोच्च अदालतको फैसला र जनताको भावनालाई ध्यानमा राखेर निष्कर्षमा पुर्याउन पहल हुने बताए ।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको पोेखराको आर्थिक र सांस्कृतिक विकासका लागि कोरला त्रिवेणी नाकालाई प्रभावकारी ढंगले सञ्चालन गर्न पनि सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन सबै नेपाली जनताले भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणाले प्रदेशवासीको सपना साकार भएको बताए । उनले पोखराका केही व्यवसाय रातको १ बजे र दोहोरी साँझ र लाउन्ज, डिस्को चौबिसै घण्टा खुला गरिने बताए ।

पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पोखरा साँच्चै संसारकै अलौकिक सहर भएको बताए । पर्यटनको राजधानी धेरै पहिला घोषणा हुनुपर्नेमा ढिलै भएपनि सार्थकता पाएको उनले बताए ।

पोखराका मेयर धनराज आचार्यले पर्यटनको राजधानी घोषणा भएसँगै अब महानगरले पर्यटन पूर्वाधारमा लगानी बढाएर लैजाने प्रतिबद्धता जनाए ।उक्त अवसरमा साहित्यकार मुकुन्दशरण उपाध्याय, डा.हर्क गुरुङ र गीतकार प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया