Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररुसलाई रासायनिक मल कारखानामा लगानी गर्न आग्रह

रुसलाई रासायनिक मल कारखानामा लगानी गर्न आग्रह


काठमाडौँ । नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई ज्ञापन गर्न बुधबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभसँग अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन् ।

नेपालले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन अर्थमन्त्री पुनले राजदूत नोभिकोभलाई आग्रह गरे । अर्थमन्त्री पुनले भने, “सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । यसमा लगानी गर्न रुस इच्छुक भएमा त्यसको वातावरण बनाउन हामी तयार छौँ ।”

जवाफमा अर्थमन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको बताउँदै राजदूत नोभिकोभले रुसी लगानीकर्तासँग कुरा गर्ने प्रतिवद्धता जनाए । भू–राजनीतिक कारणले पनि नेपालमा रुसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उनको भनाइ थियो । नेपालका दुवै छिमेकीमूलुक चीन र भारतसँग रुसको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपाल–भारत सीमा क्षेत्रमा दुवै मुलुकलाई लक्षित गरी मल कारखाना खोल्ने वा उत्पादित सामग्री ल्याएर बेच्न सकिने सम्भावना औंल्याए ।

रुसको उद्योग वाणिज्य सङ्घको नेतृत्वमा लगानी सम्मेलनमार्फत् लगानी गर्न सकिने क्षेत्रको पहिचानका लागि बिहीबार एक प्रतिनिधिमण्डल नेपाल आउँदै गरेको राजदूत नोभिकोभले जानकारी दिए । प्रतिनिधि मण्डलले सरकारी अधिकारी, लगानी बोर्ड र निजी क्षेत्रसँग साक्षात्कार गर्ने उनको भनाइ छ ।

अर्थमन्त्री पुनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउनसमेत रादजूत नोभिकोभलाई आग्रह गरे । रुस–युक्रेन युद्धमा परी मृत्यु भएका नेपालीको शव फर्काउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न पनि अर्थमन्त्री पुनले रुसको ध्यानाकर्षण गराए ।

“रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेको छ । तर, पनि विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्”, उनले भने, “यसमा नेपाल सरकारसँगै आम जनताको गम्भीर चासो र चिन्ता छ । म यहाँमार्फत् रुस सरकारलाई रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु ।”

नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको स्पष्ट पार्दै राजदूत नोभिकोभले भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रुपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको बताए । उनले रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको खबर आफूले पाएको दाबी पनि गरे ।

“नेपालले पठाएर वा हामीले आह्वान गरेर उनीहरु सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्कभन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौंँ”, राजदूत नोभिकोभले भने । राजदूत नोभिकोभले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी पनि अर्थमन्त्री पुनलाई दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया