Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाँसबारीको जग्गा प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान

बाँसबारीको जग्गा प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान


काठमाडौं,काठमाडौंको बाँसबारीस्थित सरकारी जग्गा व्यक्तिको नाममा बनाएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्य व्यक्तिहरूको बयानको आधारमा नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीसँग पनि बयान लिने भएको छ । सीआईबीले सांसद चौधरीमाथिको अनुसन्धान सुरु भएको जानकारी बुधबार संघीय संसद्का सभामुख देवराज घिमिरेलाई पत्र लेखेरै गराएको छ । सभामुखलाई नै जानकारी गराएको कारण अब सीआईबीले सांसद चौधरीलाई कार्यालयमै बोलाएर आवश्यकताअनुसार लिखित, मौखिक, श्रव्य÷दृश्य सबै किसिमको बयान लिनेछ ।

सीआईबीले बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा व्यक्तिको नाममा बनाएको प्रकरणको अनुसन्धानका लागि गत माघ १८ गते सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक एवं सांसद विनोदका भाइ अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई सीआईबीले कागजात गराइसकेको छ । उनीहरू सबैको बयानका आधारमा सांसद चौधरीसँग बयान लिनैपर्ने देखिएपछि सीआईबीले सभामुखलाई जानकारी गराएरै बयान लिन लागेको हो । संसद् चलिरहेको बेला कुनै पनि सांसदलाई पक्राउ गर्नुअघि मात्र सभामुखलाई प्रहरीले पूर्वजानकारी गराउनुपर्ने कानुनी प्रावधान छ । तर, बयान लिनका लागि मात्र भने सभामुखलाई पूर्वजानकारी गराउनुपर्ने कतै पनि कानुनी व्यवस्था छैन । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा खरिद गरेर चौधरीले अहिले त्यहाँ चाँदबाग विद्यालय सञ्चालन गरिरहेका छन् ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सांसद विनोदको नाममा नभए पनि सुरुमा उनको नाममा उक्त जग्गाको सेयर रहेको र अहिले सञ्चालनमा रहेको विद्यालयको सबै व्यवस्थापन सांसद विनोदकै छोराले हेरिरहेका छन् । उक्त जग्गा आफ्नो नाममा नभए पनि व्यक्तिको नाममा ल्याउन विनोदले भूमिका निर्वाह गरेको अनुसन्धानबाट सीआईबीले पत्ता लगाएको छ । सुरुमा उक्त जग्गा क्यानभास स्पोट्र्र्स जुत्ता उत्पादन गर्ने भनेर लुनकरणदास चौधरीलाई दिइएको थियो । त्यतिबेला उक्त जुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंह थापा थिए । सोही कारण थापा पक्राउ परेका थिए । २०४३ साल कात्तिक २७ गते च्याम्पियन फुटवयेर कम्पनी दर्ता गरेर २०४४ भदौ ५ गते बाँसबारी छालाजुत्ताको जग्गामध्ये छ रोपनी जग्गा उक्त कम्पनीमा दर्ता गरिएको थियो । सो च्याम्पियन फुटवयेरको सेयरसदस्य भने अहिलेका सांसद विनोद पनि थिए । उक्त जग्गा चौधरी ग्रुपले कब्जा गरेको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले नै उजुरी गरेपछि यसको अनुसन्धान भइरहेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया