Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजातीय विभेद उन्मुलन गर्नु अनिवार्य छ : प्रधानमन्त्री

जातीय विभेद उन्मुलन गर्नु अनिवार्य छ : प्रधानमन्त्री


काठमाडौँ । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताएका छन् ।

उनले छुवाछुत उत्पीडनका अतिरिक्त लैङ्गिक विभेद, भाषिक विभेद, क्षेत्रीय उत्पीडनलगायत विभेद सम्पूर्णरूपमा अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धि रक्षा हुन नसक्ने बताए । प्रधानमन्त्री दाहालले भने, “छुवाछुत विभेदकै कारण दलित समुदायमाथि अपमान, दमन, उत्पीडन, सामाजिक बहिस्कार, कुटपिट–हत्या जस्ता घटनामा कमी आउन नसक्नु सामाजिक लज्जाको विषय हो ।”

प्रधानमन्त्री दाहालले देशको राजनीतिक परिवर्तनमा दलित समुदायले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनले दलित समुदायलाई समानुपातिक प्रतिनिधित्वसहितको सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र एवं विभेदरहित समाजको निर्माणको जिम्मेवारी दिनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै जातीय छुवाछुत जस्तो अपराधलाई उन्मूलन गर्न कानुनी प्रावधान कडा पार्नुका साथै सामाजिक जागरण र राजनीतिक अभियान चलाउनुपर्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया