Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेशमा निर्यात गृह खोल्न चेम्बरको आग्रह

प्रदेशमा निर्यात गृह खोल्न चेम्बरको आग्रह


काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवद्र्धन हुनेगरी निर्यात गृह खोल्न सरकारसँग आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटी निर्यात गृहको अवधारणा अविलम्ब लागू गर्न आग्रह गरेको हो ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय उत्पादनहरूको एकीकृत प्रवद्र्धन, बजारीकरण एवम् गुणस्तरमापनपछि एकद्वार प्रणालीमार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यात गृह खोल्न आवश्यक छ ।’ चेम्बरले रेमिट्यान्सबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि मन्त्री भण्डारीलाई सुझाव दिएको छ । रेमिट्यान्सको झण्डै ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेको सन्दर्भमा चेम्बरले अर्थतन्त्रको विस्तारमा योगदान गर्नेगरी उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताएको हो । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै चेम्बरले संसद्मा विचाराधीन आर्थिक विधेयकहरूलाई तत्काल पारित गर्नका लागि भूमिका खेल्न समेत आग्रह गरेको छ ।

सरकारले वैशाख तेस्रो साता अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानीका लागि कतिपय ऐन नियमहरू बाधक रहेकाले समयमै समस्या हल गर्न आग्रह गरेको छ । वर्तमान समयमा कालोबजार ऐन २०३२ का कतिपय प्रावधानहरू असान्दर्भिक भएकाले समय सापेक्ष सुधार गर्न पनि चेम्बरले आग्रह गरेको छ । स्थानीय स्रोतमा आधारित खनिजजन्य रत्नपत्थर, जडीबुटी एवम् वनजन्य उद्योगहरूमा आवश्यक कानुन बनाई निर्यात प्रवद्र्धन गरिनुपर्ने चेम्बरले उल्लेख गरेको छ । एकद्वार प्रणालीमा आधारित स्थायी संयन्त्रमार्फत बजार अनुगमन गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बजार अनुगमनका नाममा व्यवसायीले अनावश्यक दुःख पाइरहेको बताए । उनले उद्योगी व्यवसायीलाई पहिला सुन्ने अनि मात्रै कानुनी प्रक्रियामा जान पनि आग्रह गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया