Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमत्स्येन्द्रनाथको पूजा हुने पर्ती जग्गा चौधरी ग्रुपको कब्जामा

मत्स्येन्द्रनाथको पूजा हुने पर्ती जग्गा चौधरी ग्रुपको कब्जामा


काठमाडौं । फोर्ब्सको सूचीमा सूचीकृत नेपालका एकमात्र अर्बपति विनोद चौधरी र उनको ग्रुपले सरकारी जग्गा कब्जाको धन्दाको श्रृङ्खला लामो समयदेखि चलाउँदै आएको तथ्य फेला परेको छ । बाँसबारी जग्गाकाण्ड सकिन नपाउँदै ललितपुरको पुल्चोकमा मत्स्येन्द्रनाथको जात्रामा पूजास्थल, जसलाई सरकारी तथ्याङ्कमा पर्ती उल्लेख थियो, सो समेत सर्वोच्च अदालतसम्म ‘सेटिङ’ गरेर कब्जामा लिएको आर्थिक दैनिकलाई प्राप्त कागजातबाट खुल्न आएको छ ।

नेपालको ऐतिहासिक जात्रामध्ये एक हो, मत्स्येन्द्रनाथको जात्रा । १६ सय वर्ष लामो इतिहास बोकेको रातो मत्स्येन्द्रनाथको जात्राको विधि र प्रक्रिया नै अवरुद्ध बनाउने गरी सवा चार रोपनी जग्गा कब्जा गरेको खुलेको छ ।

नेपाल सरकारको तथ्याङ्कमा सरकारी पर्ती उल्लेख भएको जग्गा कुनै पनि विधि र प्रक्रियाबाट निजी कायम भई पूर्जा जारी हुन सक्दैन । तर, चौधरी ग्रुपले अदालतभित्रै सेटिङ गरेर ललितपुरको मुटु पुल्चोकमा रहेको चार रोपनी चार आना जग्गा आफ्नो नाममा दर्ता गरेको तथ्य खुलेको छ ।

यसअघि बालुवाटार जग्गाकाण्डजस्तै २०२१ सालको नापीअनुसार ४३ नम्बर कित्तामा रहेको ञवाल देवाली गुठीसहितको भोगचलनमा रहेको पुल्चोकस्थित चार रोपनी चार आना एक पैसा पर्ती जग्गा २०६९ सालमा आएर विनोद चौधरीका भाइ अरुण चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजका नाममा दर्ता गरी लालपुर्जा बनाएको तथ्य खुलेको छ ।

मालपोत कार्यालय ललितपुरको स्रेस्तामा कित्ता नं ४३ को जग्गा सरकारी पर्ती हो । तर, त्यसयता, हिमालयन इन्टरप्राइजेजको नाममा दर्ता गरी चौधरी ग्रुपले आफ्नो बनाउन सफल भइसकेको छ ।

उक्त जग्गा दुई पटक गरेर हिमालय इन्टरप्राइजेजको नाममा दर्ता गरेको तथ्यहरूले औँल्याएको छ । यद्यपि विस्तृत छानबिनमा अझै थप रहस्यहरू खुल्नसक्ने देखिएको छ । ञवाल गुठियारहरूका अनुसार पहिले शंकरशमशेर जबराले यो जग्गा आफ्नो भएको जिकिर गर्थे ।

तर, २०५८/०५९ मा हिमालयन इन्टरप्राइजेजको नाममा आउनुअघिसम्म यो जग्गा पर्ती भएको मालपोत कार्यालय ललितपुरले उपलब्ध गराएको कागजातमा उल्लेख छ । तर, २०७९ फागुन २३ गते सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलले सेटिङमा पर्ती जग्गालाई चौधरी ग्रुपको सेयर रहेको हिमालयन इन्टरप्राइजेजको नाममा दर्ता गर्न मालपोत कार्यालयको नाममा अन्तरिम आदेश दिएको खुलेको छ ।

सीजी समूहको कर्पोरेट कार्यालय पुग्न झण्डै एक सय मिटर अगाडि नै पर्ने ञवालहरूको कुलपूजा गर्ने देवस्थल भएको जग्गा विनोद चौधरीको डिजाइनमा अरुण चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजले कब्जा गरेको हो ।

ललितपुरका तत्कालीन मेयर बुद्धिराज बज्राचार्यले एउटै कित्तामा रहेको ४३ नम्बरको चार रोपनी चार आना एक पैसा जग्गा पर्ती नै रहेको पुष्टि हुने थुप्रै प्रमाणहरू रहेको दाबी गरेका छन् । सरकारी जग्गालाई राजनीतिक पहुँच र घुस सेटिङमा व्यक्तिको नाममा दर्ता गरिएको दाबी गरेका छन् ।

चौधरी ग्रुपले कब्जा गरेको सरकारी जग्गामा ऐतिहासिक मत्स्येन्द्रनाथको पूजा हुनेगरेको छ । पुल्चोकमा रहेको ञवाल देवाली गुठीको जग्गामा रातो मत्स्येन्द्रनाथको रथ बनाउन सुरु गर्नुभन्दा पहिले विधिपूर्वक ‘रक्षा’ पूजा गर्ने प्रचलन छ । ञवालहरूको कुल देवतास्थल रहेका कारण चौधरी समूहले त्यो ठाउँमा व्यापारिक भवन बनाइसकेको छैन । तर, अन्य पाँचवटा कित्तामा विभिन्न संरचनाहरू बनाएर भाडामा दिइएको छ । उक्त पूजा हुने जग्गामा समेत भवन बनाउने तयारी गरिरहेको छ ।

चौधरी ग्रुपको जग्गामा न्यायालयको ‘कनेक्सन’
चौधरी ग्रुपले कब्जा गरेको पुल्चोकको चार रोपनी चार आना एक पैसा सरकारी पर्ती जग्गा कब्जा गर्दा नेपालको न्यायालयलाई उपयोग गरेको देखिएको छ । हिमालय इन्टरप्राइजेज नामक कम्पनीमार्फत चौधरी ग्रुपले सेटिङमा मत्स्येन्द्रनाथको जग्गा कब्जा गरेको देखिएको छ ।

पहिलो चरणमा सर्वोच्च अदालतले २०६२ कात्तिक १ गते अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ती जग्गालाई हिमालयन इन्टरप्राइजेज प्रालिको नाममा दर्ता गर्न दिएको र सोही आदेशको जगमा २०६६ माघ ७ गते ललितपुर मालपोत कार्यालयले कित्ताकाट गरी जग्गाधनी प्रमाणपूर्जा दिएको देखिएको छ ।

सो जग्गालाई हकदाबी गर्न पुगेका गोपाल शमशेर जबरा र गौरीशंकर जबरासम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले २०७९ फागुन २३ गते पुनः अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गाको कित्ताकाट र हिमालयन इन्टरप्राइजेजको नाममा हुने यसअघिको फैसलालाई सदर गरेको देखिएको छ । यसरी पटक–पटक न्यायालयबाट चौधरी ग्रुपको पक्षमा फैसला गराएर सरकारी जग्गा कब्जा गर्न सफल भएको देखिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया