Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचौधरी ग्रुपले कब्जा गरेको ञवा गुठीको जग्गा फिर्ता नदिने भन्दै धम्की

चौधरी ग्रुपले कब्जा गरेको ञवा गुठीको जग्गा फिर्ता नदिने भन्दै धम्की


काठमाडौँ । आदिवासी स्थानीय जनताले वर्षौँ पहिले स्थापना गरेर सञ्चालन गर्दै आएको जमिन कब्जा गरेर पुल्चोकमै रहेको तर केही समयअघि मात्र समस्याग्रस्त घोषणा भएको श्री लालीगुराँस सहकारीले जस्तै चौधरी ग्रुपले पनि स्थानीय बासिन्दासँग पौँठेजोरी खेल्न थालेको छ ।

चौधरी ग्रुपले ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोकस्थित साबिक कित्ता नं. ४३ को ४ रोपनी ४ आना १ पैसा जमिन २०६७ पुस २९ गते हिमालयन इन्टरप्राइजेजको नाममा दर्ता गरेर ल्याएको पाइएको थियो ।

चौधरीकै कारण आफ्नो परापूर्वकालदेखि रहँदै आएको कुलपुजाकै स्थान समेत मास्न खोजेपछि ञवा गुठीले विरोध गरेको थियो भने विरोध सुरु भएसँगै चौधरी ग्रुपले जग्गा हत्याउन गरेको अनेक तिकडम समेत सार्वजनिक हुन थालेका छन् । स्थानीय नेवारहरूलाई नै जुधाएर चौधरी ग्रुपले जग्गा हत्याउने अनेक कोसिस गरेको पाइएको हो ।

चौधरी ग्रुपले सुरुमा स्थानीय भाइरत्न शाक्यलाई ग्रुपको तर्फबाट वारेस राखेर समुदायमाथि नै खेल्न सुरु गरेकोे थियो । सोहीबापत भाइरत्नले चौधरी ग्रुपबाट बक्सिसबापत जग्गा पाएर घर निर्माण गर्न थालेको र नेवार समुदायमाथि प्रहार हुँदा समेत चुपचाप बसेको स्थानीयको आरोप छ ।

स्थानीय नेवारहरूको मात्र नभएर सिङ्गो देशकै सांस्कृतिक प्रतिष्ठासँग जोडिएको रातो मत्स्येन्द्रनाथको रथ बनाउनुपूर्व कुल देवताको मूर्तिमा स्थानीयले भागो चढाउने चलन रहँदै आएको छ भने यस वर्ष कुल देवताको मन्दिर नै फ्याँकिदिने चौधरी ग्रुपको धम्कीपछि रातो मत्स्येन्द्रनाथको रथ नै नबनाउने गुठीको भनाइ छ ।

ञवा गुठियारहरूले चौधरी ग्रुपले कब्जा गरेको सम्पूर्ण जग्गा फिर्ता नगरेसम्म रथ निर्माणकार्य नगर्ने बताएका हुन् । रातो मत्स्येन्द्रनाथको रथ हल्लिँदा ढल्दा समेत देशमा अनिष्ठ हुँदै आएको भन्दै ञवा गुठियारहरूले रथ नै नबन्दा हुने क्षतिको चौधरी ग्रुपले जिम्मा लिनुपर्ने बताउँदै आएको छ ।

सर्वोच्च अदालतले २०६२ कात्तिक १ गते गरेको २०३८ साल पुस १६ गतेको निवेदन र अदालतको २०५७ जेठ ३२ गतेको निर्णयबमोजिम मालपोत कार्यालय ललितपुरले जो जे बुझ्नुपर्दछ सो गर्नु भनी दिएको आदेशको गलत फाइदा उठाएर चोधरी ग्रुपले २०२१ सालमा पर्ती जग्गा हुँदै २०५२ सालमा नेपाल सरकारको नाममा रहेको जग्गा आफ्नो नाममा बनाएको र यसको लागि भाइचा महर्जन समेत ११ जनालाई १९ आना जग्गा दिएर स्थानीयलाई मिलाउन लगाएको ञवा गुठीका समुदायको आरोप छ ।

चोधरी ग्रुपले मिलापत्र गरी भाइचा महर्जनलगायत ११ जनालाई दिएको जग्गामा अहिले घरटहरा बनाएर भाडामा दिइएको छ । भाइचा महर्जनलगायत ११ जना दुई सय ५० जना रहेको मिखबहाल गुठीका हुन् ।

स्थानीय नेवारहरूको मात्र नभएर देशकै प्रतिष्ठासँग जोडिएको रातो मत्स्येन्द्रनाथको रथको विषयमा सिङ्गो देश नै एकजुट हुनुपर्नेमा स्थानीयहरू नै एक–आपसमा लड्नाको फाइदा चौधरी ग्रुपले उठाउने स्थानीयहरूमा डर रहेको एक गुठियारले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया