Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभ्रष्टाचार मुद्दा लागेका भन्सार एजेन्टका प्रतिनिधि भन्सार जाँचपासमा संलग्न

भ्रष्टाचार मुद्दा लागेका भन्सार एजेन्टका प्रतिनिधि भन्सार जाँचपासमा संलग्न


विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेका भन्सार प्रतिनिधि शरण (सन्तोष) कुमार खरेल खुलेआम भन्सार जाँचपासमा संलग्न भइरहेको पाइएको छ । आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा सापकोटा, भन्सार अधिकृत नवकुल शर्मा, देव इन्टरनेसनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेन्टका भन्सार प्रतिनिधि शरन (सन्तोष) कुमार खरेलविरुद्ध गत मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । अख्तियारले मुुद्दा दायर गरेसँगै उपसचिव तारा सापकोटा र अधिकृत नवकुुल शर्मा निलम्बनमा परेका छन् । भन्सार कर्मचारी सबै निलम्बनमा पर्दा पनि सेटिङ मिलाएर भन्सार जाँचपास गर्ने भन्सार प्रतिनिधि शरण (सन्तोष) कुुमार खरेल भने अहिले पनि विराटनगर भन्सारमै भन्सार एजेन्ट मनिषा ओलीको लगिन नम्बर ७९७ प्रयोग गरी निर्वाधरूपमा भन्सार जाँचपासमा संलग्न रहेका छन् ।

पछिल्लो समय यस्ता छद्मभेषीलाई कारबाही गर्ने निकाय किन मौन रहेको छ भन्ने विषयले भन्सारमा व्यापक चर्चा पाएको छ । अख्तियारले चारैजनाविरुद्ध ८४ लाख ५५ हजार छ सय पाँच रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । चीनबाट आयात गरेको सामानको प्रज्ञापनपत्र नम्बर ७२६ मिति २०७९ पुस २० मा दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनियमितता गरेको भन्दै उनीहरूमाथि आयोगमा उजुरी परेको थियो । तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटा र शर्माले विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेसनल प्रालिले ल्याएको सामानको जाँचपास गर्ने क्रममा अनियमितता गरेको आयोगको दाबी छ । उनीहरूले भन्सार विभागबाट नियमित ताकेता तथा निगरानी भएपश्चात् सिस्टममार्फत दर्ता भएको प्रज्ञापनपत्र दर्ता नम्बर ७२६ को प्रज्ञापनपत्र डिलिट र रद्द गरेको पाइएको थियो ।

भन्सार विभाग र अर्थ मन्त्रालयबाट लगातार फलोअप भएको तथा छानबिन समिति गठन गरेपश्चात सापकोटा समेतको उपस्थितिमा मिति २०७९ माघ १० गतेको नयाँ प्रज्ञापनपत्र नम्बर ४०५७ दर्ता गरेका थिए । सुरु घोषणा गरेको रकम ७३ हजार चार सय ३२ अमेरिकन डलरमा ८६ हजार छ सय ९९ डलर थप गरी गराई भन्सार प्रक्रिया पूरा गरेर नियमानुसार लाग्ने जम्मा एक लाख ६० हजार तीन सय ४१ डलर मूल्य राजस्व लाग्ने निर्णय गरेको अभियोगपत्रमा उल्लेख भएको दाबी अख्तियारले गरेको थियो । लामो समयदेखि विराटनगर भन्सारलाई कार्यक्षेत्र बनाएर भन्सार जाँचपासमा संलग्न शरण(सन्तोष)कुुमार खरेल सिधै प्रमुुख भन्सार अधिकृतसँग सेटिङमा सो कार्य गरेका थिए । उनीमाथि छोटो समयमा अकुुत सम्पत्ति जोड्न सफल भएको भन्दै सम्पत्ति शुद्धीकरणमा समेत उजुुरी परेको छ तर पनि खरेलले उन्मुुक्ति पाउँदै आएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया