Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउत्पादन र पूर्वाधारमा गएन सामाजिक सुरक्षा कोषको रकम

उत्पादन र पूर्वाधारमा गएन सामाजिक सुरक्षा कोषको रकम


काठमाडौं । सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम लगानीमा परिणत गर्ने भनिए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । चालू आर्थिक वर्षको बजेटमा कोषमा संकलित रकम उत्पादन र पूर्वाधार क्षेत्रमा लगानी गर्ने भनिएको थियो । तर, कोषले कार्यान्वयनमा लगेको छैन ।

कोषमा २०८० चैत २० गते मंगलबारसम्म ५२ अर्ब ५७ करोड नौ लाख रुपैयाँ संकलन भएको छ । जुन योगदानकर्ताले योगदान गरेको रकम हो । अहिलेसम्म सूचीकृत योगदानकर्ताको संख्या १२ लाख ५० हजार चार सय ५३ छ भने सूचीकृत रोजगारदाताको संख्या १८ हजार आठ सय १० रहेको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । योगदानकर्तामार्फत संकलित रकमलाई लगानी गर्ने योजना बजेटमार्फत सरकारले प्रस्तुत गरेको थियो तर त्यसलाई कोषले अघि बढाउन सकेको छैन ।

कोषले सामाजिक सुरक्षा कोष लगानी कार्यविधिमार्फत भने डिबेन्चर, ट्रेजरी बिल्स, मुद्दती खाता, म्युचुअल फन्ड, विकास ऋणपत्रमा लगानी गरेको पाइन्छ । यसका साथै योगदानकर्तालाई कर्जामार्फत लगानी गर्दै आएको प्रवक्ता पन्थीले जानकारी दिए । कोषमा संकलित ठूलो रकमलाई भने दिगो र प्रतिफलमुखी बनाउने सरकारी योजना छ । ‘योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै, सामाजिक सुरक्षा कोषलाई दिगो र प्रतिफलमुखी बनाउन कोषको रकम उत्पादनमूलक तथा पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने र कामदारको स्वास्थ्य उपचार, सन्ततिको शिक्षा तथा परिवारको बीमा, व्यवसाय सञ्चालन र व्यावसायिक सीपसम्बन्धी तालिम सञ्चाालनमा उपयोग गरिनेछ’, बजेटमा भनिएको छ ।

कोषमा संकलित रकमबाट अप्रत्यक्ष लगानी सँगसँगै योगदानकर्तालाई विभिन्न योजनाअन्तर्गत आर्थिक सहायता वितरण समेत गर्दै आएको छ । कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्नसक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको छ । सोही क्रममा कोषले समीक्षा अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ९७ करोड ९५ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ११ करोड ४७ लाख लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १३ करोड २७ लाख रुपैयाँ र अवकाश रकम सात अर्ब २२ करोड ३९ लाख रुपैयाँ दाबी गरेका छन् ।

मंगलबारसम्म आठ अर्ब ४५ करोड नौ लाख रुपैयाँँ कुल दाबी–भुक्तानी परेको कोषले जनाएको छ । योजनाअनुरूप दाबी गरिएको रकम कोषले भुक्तानी गर्दै जाने गरेको छ । कोषले भुक्तानीको लागि मापदण्ड पूरा भए÷नभएको अध्यययनपछि रकम निकासा गर्ने गर्छ । दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढङ्गले भुक्तानी गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

कोषमा आर्थिक वर्ष २०७५/७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६/७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७/७८ मा ३६ हजार २० जना र आर्थिक वर्ष २०७८/७९ मा एक लाख २७ हजार एक हजार १६ जना योगदानकर्ता सूचीकृत भएका थिए । कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्नेजस्ता कार्यहरू गर्दै आएको छ । कोषले गर्ने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने समेत बताएको छ । बैंकिङ प्रणलीमार्फत सामाजिक सुरक्षाभत्ता वितरणका लागि तीन सय ९८ वटा स्थानीय तहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएका छन् । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा सूचना प्रणाली सफ्टवेयर तयार गरी कार्यान्वयनमा ल्याइएको छ । प्रविधिमैत्री हुने क्रममा गत वैशाखदेखि कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रदान गरिएको छ ।

पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि हुनपुगेको हो । कोषले चैत दोस्रो सातदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको हो । वैदेशिक रोजगारीमा रहेका करिब साढे दुई लाख जना बढी श्रमिक कोषमा आबद्ध भएका छन् । औपचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषयमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको छ । त्यस्तै, कोषले भदौदेखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्ने भएको छ जसले गर्दा योगदानकर्ता, योगदान रकम बढ्ने निश्चित देखिन्छ । यसअघि औपचारिक क्षेत्रका श्रमिक र वैदेशिक रोजगारमा रहेका व्यक्तिलााई सामाजिक सुरक्षामा जोड्दै आएकोमा दायरा फराकिलो बनाउँदै अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति पनि कोषमा आबद्ध हुनसक्ने व्यवस्था गरिएको हो ।

अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति कोषमा आबद्ध हुनआउने क्रम चलिरहेको छ । कोषले पछिल्लो समय भने ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिनसक्ने सुविधा प्रदान गरेको थियो । सो निर्देशिकाअनुरूप योगदानकर्ताहरूले योगदानकर्ता घर र शैक्षिक सापटी’को व्यवस्था गरिएको थियो । ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ । शैक्षिक सापटीअन्तर्गत भने कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । सुविधा दिने क्रममा कोषले योगदान रकममा आठ प्रतिशत ब्याज दिन थालेको छ । कोषमा संकलन भएको रकमलाई सुरक्षित लगानी गरी प्रतिफल निकाल्नेमा विश्वस्त रहेको भन्दै ब्याजदर तोकिएको कोषका अधिकारीहरूले बताएका छन् । कोषबाट चालू आर्थिक वर्षको लागि योगदान रकममा आठ प्रतिशत ब्याज दर स्वीकृत गरिएको छ । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेबदेखि योगदान रकम संकलनको थालनी गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया